१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

'गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर जाँदा बाजा बजाए, नाचे र उत्सव मनाए, पत्रकार किन दुःखी ?'

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मोत्सवलाई विवादमा ल्याउन खोजिएको आरोप लगाएका छन् । उनले आफ्नो जन्मदिनमा आफू जन्मिएको घर तेह्रथुम जाँदा त्यहाँका जनता घरमा पानी आएको र बिजुली बलेको खुसीमा नाचेको बताए ।

'गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर जाँदा बाजा बजाए, नाचे र उत्सव मनाए, पत्रकार किन दुःखी ?'

उनले आफ्‍नो जन्मदिनमा स्थानीयलाई नाच्न लगाएको भन्ने झूटो प्रचार गरिएको दाबी गरे ।

बिहीबार नेकपाले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, 'पानीको धारा खसेको छ । दिदीबहिनीहरु नाचे, त्यसमा किन चिन्तित हुने ? जनता आए, खाना खाए, पत्रकारहरुले भातको हिसाब गरे ।'


उनले भने, 'म धेरै वर्षपछि जन्मथलो गएँ । गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर जाँदा बाजा बजाए, नाचे र उत्सव मनाए, पत्रकार किन दु:खी हुने ?' यस्तै, उनले आफ्नो जन्मदिनमा केक लिएर नगएको बताए । उनले भने, 'जनताले खुसी भएर केक ल्याए, मैले नाच भनेको त थिइनँ नि ! '


प्रधानमन्त्री ओलीले आफूहरुलाई भाँड्न खोज्ने र बदनाम गर्ने प्रयास भइरहेको बताए । उनले मजबुत संगठनलाई मतभेद रहित र विवादमुक्त गराएर लैजाने बताए ।

उनले प्रमुख प्रतिपक्ष कांग्रेसप्रति पनि तीखो टिप्पणी गरे । उनले नाकाबन्दी हुँदा, ग्यासको अभावका बेला नाकाबन्दी शब्द पनि ननिकालेको कांग्रेसले केकमा राष्ट्रवादी बनेको भन्दै तमासा देखाएको आरोप लगाए । संसद्मा बोल्न खोज्दा बोल्न नदिने कांग्रेसले सांसद्बाट भाग्यो भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री ओलीको दाबी थियो ।

यस्तै प्रधानमन्त्री ओलीले अबको केही दिनभित्रै किड्नी ट्रान्सप्लान्ट गर्ने जानकारी दिए । उनले भने, 'केही दिनभित्र किड्नी ट्रान्सप्लान्ट गर्छु, पाँच दिन अस्पताल बस्छु छैटौं दिन घर आउँछु, ढुक्क भए हुन्छ । '


ओलीले आफूलाई मानिसहरुले बिरामी भनेपनि दैनिक १७/१८ घण्टा काम गरेको बताए । उनले भने, 'मान्छे बिरामी पर्छ, जिन्दगी भनेको यस्तै हो । '

प्रकाशित : फाल्गुन १५, २०७६ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?