आजदेखि मौसम सुधार

रासस

काठमाडौँ — पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकादेखि बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताइन् ।

'आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन', उनले भनिन् । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुला भई घाम लाग्ने बताइएको छ । राति देशका मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने औँल्याइएको छ ।


शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपछि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारदेखि फेरि अर्को नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।


मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १४ दशमलव एक डिग्री सेल्सियस छ । त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम एक दशमलव तीन डिग्री सेल्सियस मापन भएको छ । प्रकाशित : फाल्गुन १५, २०७६ १०:०८

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भीरपाखामा मौरीका घार

हरि गौतम

रुकुम पश्‍चिम — आठबीसकोट नगरपालिका–५, चिनचौरका कर्णबहादुर भण्डारीले बारीमा २० घार मौरी पालिरहेका छन् । सिँचाइ नहुँदा अन्न उत्पादन घट्दै गएपछि टिमुरगाउँका टेकबहादुर खत्रीले पनि मौरीपालनलाई प्रमुख व्यवसाय बनाएका छन् । उनको बारीमा ४० घार मौरी छन् । 

आठबीसकोट नगरपालिकाका अधिकांश किसानको मुख्य आम्दानी स्रोत मह बन्न थालेको छ । घरमा पाल्नेमात्र होइन, भीरमौरीको मह निकालेर पनि किसान आत्मनिर्भर बन्न थालेका हुन् । स्थानीय बजारमा मह प्रतिधार्नी करिब २ हजार रुपैयाँमा बिक्री भइरहेको छ । सिजनका बेला एउटै मौरीघारबाट ६ धार्नीसम्म मह निक्लने भण्डारीले बताए । ‘घरमा मौरी हुनुपर्छ भन्ने मान्यताले केही घार मौरी राखिएको थियो,’ उनले भने, ‘आम्दानी बढेपछि मौरीघार विस्तार गरिरहेको छु ।’ अहिले गाउँमा १० मौरीघार नहुने परिवारै नरहेका उनले बताए ।

आठबीसकोट नगरपालिका मात्रै होइन, जिल्लाका अधिकांश बस्तीमा व्यावसायिक मौरीपालनमा कृषकको आकर्षण बढ्दै गएको छ । स्थानीयले बार्दली, बारीको डिल, भीर र पहिरोमा घार राखेर मौरीपालन व्यवसायलाई बढाइरहेका छन् । सरकारी सहयोग र प्राविधिक ज्ञान नहुँदा परम्परागत रुपमा मौरी पाल्ने गरिएको खत्रीले बताए । ‘मौरीले सहजै घरखर्च र छोराछोरीको पढाइ शुल्क टारेको छ,’ उनले भने, ‘अरू खेतीसँगै मौरी पाल्न सकिने भएकाले पनि सबैको आकर्षण बढिरहेको हो ।’ महको माग र भाउ बढ्दै गएपछि व्यवसायमा हौसला मिलेको उनले बताए ।

किसानको आकर्षण बढ्दै गएपछि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मौरी ब्लक र पकेटक्षेत्र घोषणा कार्यक्रम अघि सारेको छ । आठबीसकोट नगरपालिकाका ११, १२, १३ र १४ नम्बर वडा तथा बाँफीकोट गाउँपालिकामा मौरी ब्लक र पकेट क्षेत्रमार्फत काम भइरहेको छ ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी मीनबहादुर केसीले परम्परागत रुपमा पालिँदै आएको मौरीलाई व्यावसायिक बनाउन खोजिएको जानकारी दिए । ‘केही किसानले मौरीपालनकै आम्दानीले सदरमुकाम र जिल्लाबाहिर घरघडेरी जोडेका छन्,’ उनले भने, ‘पाल्न सजिलो र आम्दानी धेरै हुने भएपछि किसानको आकर्षण बढिरहेको छ ।’ कार्यालयले मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा घार र अन्य उपकरण वितरण गर्न थालेको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×