कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

'प्रधानमन्त्रीजी, आजभोलि यताबाट हेरे पनि, उताबाट हेरे पनि 'यतिवादी' मात्रै देखिनुहुन्छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो घटनाक्रम तथा अडियो प्रकरणका बारे संसद्‍मा आएर प्रस्ट्याउन आग्रह गरेका छन् । उनले मंगलबारको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका हुन् ।

'प्रधानमन्त्रीजी, आजभोलि यताबाट हेरे पनि, उताबाट हेरे पनि 'यतिवादी' मात्रै देखिनुहुन्छ'

सांसद थापाले प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिको सम्पादित अंश -

हामीले फागुन ९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा र विजयकुमार मिश्रबीचको लेनदेनको वार्तालापको अडियो सुन्यौं । यो वार्तालाप प्रधानमन्त्रीले दुई महिना अगाडि सुन्नुभएको थियो भन्ने दाबीसहित सञ्‍चार माध्यममा समाचार आइरहेका छन् । यस विषयमा संसद्‍मा उभिएर आँखामा आँखा जुधाएर, नागरिक र हाम्रा प्रश्नको जवाफ दिने हिम्मत प्रधानमन्त्रीसँग छ कि छैन ।

प्रधानमन्त्रीसँग हिम्मत नभए पनि संसदसँग यो हिम्मत हुनुपर्छ । सभामुख महोदयलाई मेरो ध्यानाकर्षण मात्रै होइन, संसदले यो सामर्थ्य राख्नैपर्छ । प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन, तालतलैया हेरेर बस्ने होइन, सदनमा आउनुपर्छ । संसद्को रोष्ट्रममा उभिएर हाम्रा प्रश्नको सामना गर्नुपर्छ । हामीले उहाँलाई निम्छरो होइन, गम्भीर प्रश्न सोध्नेछौं । सभामुख महोदयलाई प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रुलिङ गर्न आग्रह गर्न चाहन्छु ।

प्रधानमन्त्रीले के भन्नुहुन्छ मलाई थाहा छैन । तर, उहाँका आसेपासेहरुले केही दिनदेखि भनिरहनुभएको छ, प्रधानमन्त्रीको तुलो चलाउने, तुलोमा राख्दैगर्दा कसैले नभ्याउने र प्रधानमन्त्रीकै भनाइलाई आधार मान्ने हो भने काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली उहाँ नेतृत्वका सरकारका प्रवक्ताले गरेका कार्य उहाँलाई थाहा छैन भनेर हामीले पत्याइ दिनुपर्ने ? हामीले पत्याउने नै हो भने प्रधानमन्त्रीलाई प्रश्न छ, ‘सबै कुरा तपाईँलाई थाहा छैन भने कसलाई थाहा छ ?’

नागरिकहरु के भन्दैछन् सेक्युरिटी प्रेसको मात्रै होइन, स्याटेलाइट, फोरजी विस्तार, अप्टिकल फाइबर विस्तार, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, सामुदायिक विद्यालयलगायत सरकारी संघसंस्थामा फ्री इन्टरनेट पुर्‍याउने ठेक्काका बारेमा सबै कुरा थाहा थियो । परिस्थिति नियन्त्रण बाहिर गएपछि अहिले गोकुल बाँस्कोटालाई बलिको बोका बनाइएको छ ।

प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर पटक–पटक दोहर्‍याउनु भएको छ । तर नागरिकहरु तपाईंलाई प्रश्न गर्दैछन्, ‘बालुवाटारमा ऐना छ कि छैन् ?’ तपाईंका पार्टीका कार्यकर्ताहरु ठूलो स्वरले बोल्न सक्दैनन् । तर, संसदको लबीमा भेट्दै गर्दा हामीलाई झिनो स्वरमा कानेखुसी गर्दै भन्छन्, ‘हाम्रो प्रधानमन्त्री पहिला पहिला मार्क्सवादीजस्तो देखिनुहुन्थ्यो । बीचमा समाजवादीजस्तो देखिन थाल्नुभयो । आजभोलि यताबाट हेरे पनि, उताबाट हेरेप नि यतिवादी मात्रै देखिनुहुन्छ ।’

प्रधानमन्त्रीजी तपाईंले पत्तो पाउनुभयो, एमसीसीको प्रकरणमा तपाईंका पार्टीभित्रका खाँटी राष्ट्रवादीहरुले तपाईंलाई कसरी तह लगाइदिए ? अहिले जति जालझेल गरेर होइन, होइन भने पनि दुई दिन अगाडि मात्रै एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने प्रस्ताव तयार गर्ने कार्यदल बनाउने विषयमा तपाईं जसरी कमजोर देखिनुभयो । त्यो देखिपछि तपाईंलाई बाहिर भन्दैछन्, ‘देखिँदा फेरि सुरो यथार्थमा बिचरो हुनुहुन्छ ।’

प्रधानमन्त्रीजी म तपाईंको जन्मदिनको बारेका केही भन्न चाहन्‍नँ त्यो तपाईंको व्यक्तिगत विषय हो । तर, नागरिकहरु भन्दैछन् राष्ट्रिय ठाँटका साथ मनाइएको जन्मदिनले हामीलाई २०६०/०६१ सालको पूर्वराजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ । पूर्वराजा यसैगरी हिँडिबक्सन्थ्यो । आफैं अभिनन्दन गराउन लगाइबक्सन्थ्यो ।विद्यार्थीहरुलाई आफ्नो जय जयकार गर्न लगाइबक्सन्थ्यो । र, आफ्ना भारदारलाई सोधिबक्सन्थ्यो एक दुई जना मानिसहरु यता उता विरोध गरिरहेका त छैनन् नि ? भारदारले भन्थे, 'महाराज सबै ठिक छ, एक दुई जना मानिस मात्रै विरोध गरिरहेका छन् ।'

अहिले प्रधानमन्त्रीले जन्मोत्सव मनाउँदा पछि लागेको भीडभाडले पूर्वराजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएका छन् ।

यस्ता विषय प्रधानमन्त्रीले थाहा पाउनु भएको छ कि छैन मलाई थाहा छैन । तर, थाहा पाएर पनि न थाहा पाए जस्तो गर्नुभएको छ भने त्यो पाप हो । यी कुरा थाहा पाउनु भएको छैन् भने तपाईंको अक्षमता हो । संख्या तपाईंसँग होला प्रधानमन्त्रीजी । तर, शासन गर्ने बलिदान, योग्यता, क्षमता भने अब गुमाइसक्नुभयो । तसर्थ सम्माननीय प्रधानमन्त्री जी नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यका लागि र सिंगो देश नेपालको स्वास्थ्यका लागि तपाईं स्वास्थ्यलाभ गर्न गइदिनुस् । धन्यवाद !

(थापाले मंगलबारको प्रतिनिधिसभाको बैठकमा व्यक्त गरेको धारणाको सम्पादित अंश)

प्रकाशित : फाल्गुन १३, २०७६ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?