कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको प्रमुख कारक पाइलट : छानबिन आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी एक वर्षअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको अन्तिम छानबिन प्रतिवेदनले देखाएको छ ।

रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको प्रमुख कारक पाइलट : छानबिन आयोग

घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा बनाएको आयोगद्वारा तयार पारिएको प्रतिवेदनले पनि २७ वर्षीय पाइलट प्रभाकर केसीलाई मुख्य दोषी औंल्याएको हो । उच्च हिमाली भेगमा अक्सिजन अभावका कारण हुने युफोरियाले पाइलटलाई गाँजेको अवस्था देखिएको छ,’ आयोगका अध्यक्ष गौतमले भने, ‘युफोरियाले पाइलटको निर्णय गर्ने क्षमतामा प्रभाव पार्छ ।

प्रतिवेदनले पाथीभराबाट फर्किंदा इन्जिन स्टार्ट गरेलगत्तै क्याप्टेनले क्विक टेकअफ (लगत्तै जहाज उडाउनु) लाई युफोरियाको प्रभावको कारण भनेको छ । उडानका क्रममा अक्सिजनको अभावका कारण हुने हाइपोक्सियाभन्दा अघिको चरणलाई युफोरिया भनिन्छ । हेलिकप्टरका पाइलट प्रभाकर केसी तालिमप्राप्त र सबै मापदण्ड पूरा गरेको प्रतिवदेनमा उल्लेख छ । तर पाइलटले सुरुमा एटीएस रिपोर्टिङ अफिसमा सुरुमा पाँचथर उडानका लागि अनुमति लिए पनि उडाउने बेलामा रेडियोमार्फत तेह्रथुम जान लागेको जानकारी दिएको प्रतिवेदनमा उल्लेख छ । पाइलट निकै हतार गरेर तेह्रथुमका लागि उडान भरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार पाइलटले अगाडिको सिटमा दुई जना यात्रु राख्‍दा उनीहरुको तौलको मापन राम्रोसँग नगर्दा गुरुत्वाकर्षणको केन्द्रको मूल्यांकन सही ढंगले गर्न नसकेको पनि देखिएको छ । उच्च हिमाली भूभागमा उडानका बेला पहिले भएका दुर्घटनामा पनि गुरुत्वाकर्षणको सन्तुलन नमिल्दा त्यसले उडानलाई असुरक्षित बनाउने गरेको देखिएको थियो ।

प्रतिवेदनले दुर्घटनाको कारण प्रतिकूल मौसम पनि भएको उल्लेख गरेको छ । त्यस दिन पाथीभरामा हिउँ परिरहेको र हावाको वेग पनि उच्च रहेको तथा भिजिबिलिटी पनि कम रहेको थियो । मौसमको प्रतिकूलता र हेलिकप्टरले पूर्ण यात्रु क्षमतामा उडान भरेका कारण अगाडिको सिसामा वाफ जमेको हुन सक्ने र त्यसका कारण पनि पाइलटले बाहिरको दृश्य ठम्याउन नसकेको निष्कर्ष छानबिन आयोगले निकालेको छ ।

हेलिकप्टरमा काठमाडौं-तेह्रथुम-काठमाडौं उडानका लागि मात्रै इन्धनको व्यवस्था गरेको देखिएकाले पाथिभरा उडानको पूर्वयोजना नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।

पाइलटमा कुनै पूर्ववत् स्वास्थ्य समस्या नरहेको भए पनि दुर्घटना हुनुपूर्व उनको शरीरमा अक्सिजनको कमी भएको हुन सक्ने आँकलन आयोगले गरेको छ । जसका कारण हेलिकप्टरमा कुनै प्राविधिक तथा बाहिरी ढाँचामा समस्या नभए पनि पाइलटको निर्णय क्षमतामा ह्रास आएको हुन सक्छ ।

त्यस्तै चुहानडाँडाबाट पाथिभरा उडान भर्दा त्यो रुटको मौसम प्रतिकूल रहेको र पाइलटले भिजुअल फ्लाइट रुल(भीएफआर) लाई पूर्ण रुपमा पालन गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । यस्तै नागरिक उड्डयन प्राधिकरण तथा हेलिकप्टर कम्पनीको नियममा अति विशिष्ट व्यक्ति सवार हुँदा के गर्ने भन्ने नीति नभएको पनि आयोगले उल्लेख गरेको छ ।

छानबिन आयोगको पूर्ण प्रतिवेदन हेर्नुहोस्

प्रकाशित : फाल्गुन १३, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?