कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ भिसा शुल्क तेब्बर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पहिलो पटक चिनियाँ भिसा आवेदन केन्द्र खुलेसँगै भिसा शुल्कमा भारी वृद्धि भएको छ । नेपालीहरूले अब चिनियाँ भिसा लिँदा पहिलेको भन्दा झन्डै तेब्बर दस्तुर बुझाउनुपर्ने छ । भिसा शुल्कभन्दा आवेदन केन्द्रले दिने सेवा शुल्क बढी बुझाउनुपर्ने भएपछि शुल्क बढेको हो । 

अब नियमित भिसा लिने नेपालीले २ हजार २ सय र सेवा शुल्कबापत ३ हजार ९ सय बुझाउनुपर्ने हुन्छ । त्यस्तै, एक्सप्रेस–२ भिसाका लागि ४ हजार ९ सय र सेवा शुल्क ५ हजार ८ सय ५० बुझाउनुपर्ने भएको छ । एक्सप्रेस–१ भिसाका लागि ६ हजार २ सय र सेवा शुल्क ७ हजार ८ सय तिर्नुपर्ने हुन्छ । नियमिततर्फ चार दिन, एक्सप्रेस–२ तर्फ तीन दिन र एक्सप्रेस–१ तर्फ दुई दिनमा भिसा पाउन सकिन्छ ।


यसअघि एक नेपालीले एकल प्रवेशमा चिनियाँ भिसाका लागि आवेदन दिँदा नियमिततर्फ २ हजार २ सय रुपैयाँ, एक्सप्रेस–२ तर्फ ४ हजार ९ सय र एक्सप्रेस–१ तर्फ ६ हजार २ सय नेपाली रुपैयाँ बुझाए पुग्थ्यो ।


त्यसैगरी, दुई पटक प्रवेश, आधा वर्षको अवधिमा धेरै पटक प्रवेश, एक वर्षको अवधिमा धेरै पटक प्रवेश र समूहगत प्रवेशका लागि भने सेवा शुल्क मात्र थप गरिएको छ ।


दुई देशका नागरिकको आवतजावत बढ्न थालेको भन्दै चीनले काठमाडौंस्थित कमलादीमा सोमबारबाट सञ्चालनमा आउने गरी चिनियाँ भिसा आवेदन केन्द्र सुरु गरेको हो । केन्द्रको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।


आवेदन केन्द्रका निर्देशक चाङ चिगोङले बेलायत, फ्रान्स, अस्ट्रेलियाको तुलनामा केन्द्रले नेपालीका लागि कम सेवा शुल्क लिएको जनाए । यसअघि ४५ देशका ९१ स्थानमा चिनियाँ भिसा आवेदन केन्द्र खुलिसकेका छन् ।


प्रकाशित : फाल्गुन १३, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?