कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध उत्खननमा नेताकै एक्स्काभेटर

सुनिता बराल

महोत्तरी — महोत्तरीको मराहा खोलामा बालुवा–गिट्टीको अवैध उत्खननमा प्रयोग गरिएको एक्स्काभेटर र ट्र्याक्टर नेकपा नेताको रहेको खुलेको छ । बर्दिबास प्रहरीले शनिबार राति खोलाबाट नियन्त्रणमा लिएको प्रदेश २–०२–००१ क ०२३६ नम्बरको एक्स्काभेटर नेकपा प्रदेश कमिटी सदस्य रामपुकार यादवको हो ।

अवैध उत्खननमा नेताकै एक्स्काभेटर

इलाका प्रहरी कार्यालय बर्दिबासले गस्तीका क्रममा शनिबार राति १२ बजे बर्दिबास नगरपालिका–१० स्थित मराहा खोलामा उत्खनन गरिरहेका एक्स्काभेटर तथा ज१त ९३७० र ज१त ५५७१ नम्बरका दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । नेता यादवले भने निजी जग्गामा उत्खनन गरिरहेका बेला एक्स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको

दाबी गरे ।

प्रहरी नायब उपरीक्षक राजन चापागाईंले भने पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरतर्फ चुरेक्षेत्रमा अवैध उत्खनन गरेकाले एक्स्काभेटर नियन्त्रणमा लिएको बताए । ‘खोलाबाट बस्ती जोगाउन तटबन्धका लागि निजी जग्गामा एक्स्काभेटर चलाएको हुँ,’ उनले भने ।

महोत्तरीका सबै क्रसर उद्योग, बालुवा–गिट्टी, वासिङ सेन्टर र खोला उत्खनन बन्द गरिए पनि रातको समयमा अवैध उत्खनन जारी छ । नेकपाका प्रदेश कमिटी सदस्य यादव भने यसअघि काठ तस्करी र ओसारपसार मुद्दामा समेत मुछिएका थिए । २०६८ फागुन १८ मा यादवलाई घरबाटै ठूलो परिमाणमा सखुवाको काठसहित जिल्ला वन कार्यालय महोत्तरीले पक्राउ गरेको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।

मध्यरातमा महोत्तरीका विभिन्न नदीमा उत्खनन जारी रहेकाले प्रहरीले गस्ती बढाएको र खोला क्षेत्रमा बढी निगरानी राखेको डीएसपी चापागाईंले बताए । प्रहरीले अहिले दैनिकजसो ५ वटासम्म उपकरण नियन्त्रणमा लिइरहेको उनले बताए । एक महिनायता इलाका प्रहरी कार्यालय बर्दिबासले खोला दोहनमा प्रयोग गरिएका १८ वटा उपकरण नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका उपकरण नगरपालिकाले जरिवाना तिराएर छाड्ने गरेको छ । नगरपालिकाले अवैध उत्खनन गर्ने ट्याक्टरलाई १५ हजार, टिपरलाई २५ हजार, एक्स्काभेटर ४० हजार र ठूला उपकरणलाई ६० हजारसम्म जरिवाना लिएर छोडिने गरेको बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले बताए । महोत्तरीका क्रसर उद्योग, बालुवा–गिट्टी वासिङ सेन्टर र उत्खनन बन्द गर्न जिल्ला समन्वय समितिको निर्देशन अटेरी गरी उद्योगहरूले उत्खनन जारी राखेका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?