कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

मौसम प्रतिकुल हुँदा ७ अन्तर्राष्ट्रिय उडान डाइभर्ट, ५५ आन्तरिक उडान रद्द 

सुरज कुवँर

काठमाडौँ — कमजोर भिजिविलिटीका कारण शुक्रबार बिहानदेखि साँझ ६ बजेसम्म काठमाडौंबाट हुने कम्तीमा ५५ वटा आन्तरिक उडान रद्द भएका छन् भने ७ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् । काठमाडौंबाट उच्च पहाडी र हिमाली भेगकालागि तय गरिएका कम्तीमा २२ वटा उडान रद्द भएका वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए ।

मौसम प्रतिकुल हुँदा ७ अन्तर्राष्ट्रिय उडान डाइभर्ट, ५५ आन्तरिक उडान रद्द 

त्यस्तै हेलिकप्टरतर्फ पनि यति नै संख्यामा चार्टर उडान रद्द भएका छन् । ‘विभिन्न हेलिकप्टरका २०/२२ वटा उद्धार तथा चार्टर उडान थिए,’ हेली एभरेष्ट एयरका सीइओसमेत रहेका कडेलले भने, ‘शुक्रबार दुईटामात्रै हेलिकप्टर उडे, तीमध्ये एउटा गन्तव्यमा पुग्यो एउटा फर्किनु पर्‍यो ।’


त्यसैगरी काठमाडौंबाट सुगम रुटका लागि तय गरिएका १८ वटा उडान रद्द भएका छन् । बुद्ध, यति र श्रीले तय गरेका भरतपुरका ७, पोखराका ८, तुम्लिङटारका ३ वटा उडान रद्द भएका हुन् । नेपाल वायुसेवा निगमका पनि काठमाडौंबाट पूर्वी पहाडका तीन स्थानका लागि तय भएका उडान रद्द भएको विमानस्थलले जनाएको छ । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज सुर्खेतको खराब मौसमका कारण बाटैबाट काठमाडौं फर्किएको छ । त्यस्तै बुद्धले २ वटा पर्वतीय उडान पनि रद्द गर्नुपरेको जनाएको छ ।


शुक्रबार सेना दिवस र शिवरात्रीका अवसरमा नेपाली सेनाले बिहान १०ः४० देखि १२ः२५ सम्म कीर्तिपुर, बनेपा र बालाजुको आकाश आसपासमा हवाई गतिविधि गर्ने कार्यक्रम थियो । यस कार्यक्रमले व्यवसायिक उडानकालागि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नोटाम (हवाई सूचना) जारी गरेको थियो । तर मौसम सफा नभएका कारण सेनाका तीनवटा उडान नभएको विमानस्थलका एक अधिकारीले बताए । ‘सेनाले ८ वटा उडान गर्ने तालिका रहेको जानकारी दिएको थियो,’ ती वरिष्ठ एयर ट्राफिक कन्ट्रोलरले भने, ‘जम्मा ५ वटा हेलिकप्टर उडान भए, तीनवटा जहाजबाट हुने प्याराजम्पिङ हुन सकेनन् ।’


मौसमका कारण सेनाका उडान पनि प्रभावित भएको र उसकाे कार्यक्रमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा केही प्रभावित भएको ती अधिकारीले बताए ।


यसैबीच अवतरणकालागि भिजिविलिटी नपुगेपछि कम्तीमा ७ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएको विमानस्थल उडान सञ्चालन विभागले जानकारी दिएको छ । विभागका अनुसार, मस्कटबाट आउँदै गरेको ओमन एयरको जहाज भारतको लखनउ, मलेसियाबाट आउँदै गरेको मालिन्दो एयरको जहाज बंगलादेशको राजधानी ढाका, दिल्लीबाट आउँदै गरेको भिस्तारा एयरको जहाज लखनउ, बंगलादेशबाट आउँदै गरेको विमान बंगलादेश ढाका र मस्कटबाट आउँदै गरेको सलाम एयरको विमान भारतको पटना डाइभर्ट भएका थिए । बैंककबाट आउँदै गरेको थाइ लायनको जहाज ढाका फर्किएको थियो ।


त्यस्तै बैंककबाट आएको थाई एयरको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि बैंकक नै फर्किएको थियो ।


शुक्रबार काठमाडौं विमानस्थलको भिजिविलिटी १५ सय मिटरसम्म झरेको विमानस्थलले जनाएको छ । हेरेर उडान गर्ने प्रणाली अपनाउने जहाजलाई अवतरणका लागि ५ हजार मिटर भिजिविलिटी आवश्यक पर्छ ।


काठमाडौंमा दैनिक ४ सय ५० हाराहारी उडान हुन्छन् । जसमा आउने र फर्किनेगरी करिब १ सय हाराहारी अन्तर्राष्ट्रिय उडान हुने गर्छन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?