कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीगण्डकी जलविद्युत्‌गृह मर्मतका लागि तीन दिन २० घण्टा बन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — १४४ मेगावाट  क्षमताको कालीगण्डकी ए जलविद्युत् केन्द्र मर्मतका लागि तीन दिन २० घण्टा बन्द हुने भएको छ । विद्युत्‌गृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि  बिहीबार राति ११ बजेबाट विद्युत् उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो ।

कालीगण्डकी जलविद्युत्‌गृह मर्मतका लागि तीन दिन २० घण्टा बन्द

दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत केन्द्र मर्मतका लागि सोमबार (१२ फागुन) साँझ पाँच बजेसम्म बन्द रहने छ ।


स्याङ्जाको मिर्मीमा रहेको विद्युत्‌गृहमा ४८/४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको हो । केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिन्छ ।


मुलुककै ठूलो विद्युतगृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिमभेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए


कार्यकारी निर्देशक घिसिङले विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको बिदा पारेर मर्मत सुरु गरिएको जानकारी दिए । ‘बिदाको दिन विद्युत्को माग (लोड) कम हुने भएकाले बिदाको दिन पारेर मर्मत गर्दैछौं, खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युत्‌गृहबाट पनि विद्युत् उत्पादन केही बढेको छ, आमउपभोक्तालाई विद्युत् आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोबस्ती गरेका छौं, तर बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत् कटौती हुनसक्छ’,उनले भने ।


बिहीबार राति १० बजेबाट सुरुङमा रहेको पानी खाली गराउन सुरु गरिएको र यो काम शुक्रबार राति १० बजेसम्ममा सकिने विद्युतगृहका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए । ‘त्यसपछि मर्मत सुरु हुन्छ र सोमबार सााझ ५ब जेभित्रमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ २४सै घण्टा काम गरिरहेका छौं’,गौतमले भने । मर्मतमा ३७ जना प्राविधिकहरु खटिएका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?