कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपप्रमुखको धम्कीपछि अनमीको राजीनामा

वसन्तप्रताप सिंह

(बझाङ) — बुंगल नगरपालिकाकी उपप्रमुख मीना जागरीले गरेको गालीगलौज र धम्कीका कारण बझाङको कफलसेरी स्वास्थ्य चौकीमा कार्यरत अनमी नीरुपति चौधरी जागिर छाड्न बाध्य भएकी छन् । 

घरमै सुत्केरी भएकी स्थानीय एक महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी भएको अभिलेख राखेर भत्ता दिनुपर्ने उपप्रमुखको दबाब थियो । तर अनमी चौधरीले नमिल्ने अडान लिएपछि उपप्रमुख जागरीले दुर्व्यवहार गर्नुका साथै धम्की दिएकी थिइन् । घटनापछि चौधरी फागुन २ गते राजीनामा दिएर हिँडेकी छन् । उनी तीन वर्षदेखि कफलसेरीमा करारमा कार्यरत थिइन् ।


अनमी चौधरीलाई जागरीले चौकीमै पुगेर आफूले भनेको नमाने नराम्रो हुने भन्दै जागिर छोड्न धम्की दिएकी थिइन् । कान्तिपुरलाई प्राप्त अडियोमा उनले यसअघि पनि घरमै सुत्केरी भएका महिलालाई रकम दिइँदै आएको भन्दै चौधरीलाई त्यसै गर्न आग्रह गरेकी थिइन् । चौधरीले अगाडिका वर्षमा जेसुकै भए पनि आफूले नियमविपरीत काम गर्न नसक्ने बताएपछि ‘बाबुको छोरी होस् भने जागिर छाडेर जा, मेरो अगाडि नियमका कुरा गर्छेस्’ भन्दै धम्क्याएकी थिइन् । अडियोमा जागरी भन्छिन्, ‘मसँग बढी फूर्ति लगाउने ? म उपमेयर हुँ । यो तेरो बाउले दिएको पद हैन । अहिल्यै जागिर छाडेर गइहाल ।’ उनले अडियोमा आफू उपमेयर भएकाले आफूले भनेको नमान्ने कर्मचारीलाई राम्रो नहुने धम्की दिएकी थिइन् ।


अनमी चौधरीले भनिन्, ‘जागिर छाडेर गइनस् भने राम्रो हुँदैन भनेपछि डरले राजीनामा दिएर हिँडेकी हुँ ।’ उनले सुत्केरी भत्ताको निहुँ मात्र भएको र आफूलाई निकालेर अर्को मान्छेलाई जागिर दिने नियतले उपमेयरले निरन्तर धम्की उनले दिएको बताइन् ।


यस्तै आफूलाई भिटामिन ‘ए’ खुवाएको भत्ता नदिएको भन्दै कफलसेरी स्वास्थ्य चौकीका प्रमुख शिवराज खडायतलाई पनि उपप्रमुख जागरीले अपशब्द प्रयोग गर्दै गाली गरेकी छन् । कात्तिक महिनामा भिटामिन ‘ए’ खुवाएबापतको स्वयंसेविकालाई दिइने भत्ता आफूलाई नदिएको भन्दै उनले खडायतलाई टेलिफोनबाट गाली गरेकी हुन् ।


उपप्रमुख जागरीले भने आफूले स्वास्थ्य क्षेत्र सुधारका लागि छलफल गर्ने क्रममा सामान्य भनाभन भएको दाबी गरिन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?