कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रेस खरिद प्रक्रियाको अनियमिततामा संलग्न भएको घटनाको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएको छ ।

‘प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ’

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले बाँस्कोटामाथि कारबाही गरी घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने माग गरिन् । ‘भ्रष्टाचारको घटना बाहिर आएकाले बालुवाटारको जग्गा फिर्ता दिए जस्तै राजीनामा दिएर सुख पाइँदैन, प्रधानमन्त्री ओलीले संसद्मा आएर बाँस्कोटामाथि भ्रष्टाचार अभियोगमा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ,’ उनले भनिन् ।


सांसद गगनकुमार थापाले बाँस्कोटाको ‘अडियो काण्ड’ ले प्रधानमन्त्री तानिएको दाबी गर्दै यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए । उनले बाँस्कोटाको ‘अडियो’ डेढ महिनाअघि नै सुनेर पनि वास्ता नगरिएकाले प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने तर्क गरे । यही विषयलाई लिएर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो । मन्त्री बाँस्कोटोको अडियो सार्वजनिक भएका विषयमा छानबिन माग गर्दै कांग्रेसले बिहीबार राष्ट्रिय सभामा बैठकसमेत अवरुद्ध गर्‍यो । बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरूले उभिएर विरोध जनाएका थिए ।


कांग्रेस सांसद जितेन्द्रनारायण देवले सञ्चारमन्त्रीलाई बर्खास्त गर्नुपर्ने, घटनाको निष्पक्ष छानबिनका लागि समिति बनाइनुपर्ने र प्रधानमन्त्रीले यस विषयमा सदनमा जवाफ दिनुपर्ने माग राखेका थिए । ‘सञ्चारमन्त्री सरकारको प्रवक्तासमेत हुनुहुन्छ, प्रधानमन्त्रीजीको अत्यन्त निकट पनि हुनुहुन्छ,’ उनले भने ‘उहाँजस्तो मन्त्रीले यसरी ठाडै भ्रष्टाचार गर्ने गरी कमिसनको कुरा गर्न मिल्छ कि मिल्दैन ? यो अत्यन्त आपत्तिजनक र भर्त्सना योग्य छ ।’

प्रकाशित : फाल्गुन ९, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?