कांग्रेसलाई नेतृत्वको कुनै लालसा छैन : थापा 

रूपा गहतराज

(नेपालगन्ज) — कांग्रेस केन्दीय सदस्य तथा सांसद गगन थापाले सरकारले सरकार नचलाएर सत्ता चलाइरहेको आरोप लगाएका छन् । सरकार सत्ता, शक्ति र सम्बन्धको दबाब र प्रभावमा चलिरहेको उनको भनाइ थियो । 

कांग्रेस पार्टी कार्यालय नेपालगन्जमा बुधबार आयोजित बीपी स्मृति पुस्ताकलय उद्घाटन कार्यक्रममा नेता थापाले आफ्नो चिन्ता दुई तिहाइको सरकार नभएको भन्दै सरकारले सत्ता चलाउन थालेको प्रति भएको बताए ।‘सरकार पाँच वर्ष होइन, ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्,’ उनले भने, ‘ लोकतान्त्रिक अभ्यासमा सरकार बलियो भएर देश बन्दैन । नागरिक बलियो भए मात्र सरकार बलियो हुन्छ ।’

सरकारले राज्यका सबै अंगहरुलाई आफ्नो प्रभावमा पारेर सुरक्षा न्यायालय, अख्तियारको अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्‍न गर्ने पर्याप्त आधार दिएको उल्लेख गरे ।


उनले प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा बोलेको कुरा सुनाउँदै विकास देखेर विरोधी आत्तिएसम्म भन्‍नुभयो भनेर कटाक्ष गरे । उनले कांग्रेसलाई नेतृत्वको कुनै लालसा नभएको भन्दै पार्टीभित्र रुपान्तरण आवश्यकता रहेको औंलाए । ‘नेपाली कांग्रेस राज्यसँग होइन जनताका बीच पुग्‍नु पर्छ ।’


उनले कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेकोमा आलोचना भइरहेको भन्दै त्यसलाई चिर्न नेतृत्वदेखि जिल्ला तहका आमनेताहरु जनताबीच नयाँ ढंगले प्रस्तुत हुन आग्रह गरे ।


नेता प्रकाशमान सिंहले सरकार संविधानको भावना र मर्मविपरीत काम गरिरहेको बताए । ‘सरकार दुई तिहाइ दम्भको भ्रम पालिरहेको छ ,’ उनले भने, ‘संविधान र कानुनभन्दा माथि आफूलाई ठानेको छ ।’ उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे । प्रकाशित : फाल्गुन ७, २०७६ १५:१३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

युगअघि योगमाया

नारी–मुक्ति आन्दोलनकी मात्र होइन, समग्र समाज–मुक्ति आन्दोलनकी अग्रणी 
नीलम कार्की निहारिका

छोरीलाई सामुदायिक र छोरालाई बोर्डिङ स्कुल पठाउने, उमेर नै नपुगी बिहे गरिदिने र जतिवटी छोरी भए पनि एउटा छोरा चाहिन्छ भन्ने सामाजिक मान्यता परिवर्तनको चरणमा रहेको लामो समय बितिसकेको छ । छोरीलाई छोरासरह समान अधिकार दिलाउन भई आएको संघर्ष अहिले मुलुक संघीय गणतान्त्रिक घोषणासम्म आइपुग्दा मात्रैको होइन, योगमायालाई जोडेर अर्थ्याउँदा सवा शताब्दी पुगेको छ । 

योगमाया, पूरा नाम योगमाया न्यौपाने । भोजपुरको हाल षडानन्द नगरपालिका–१ नेपालेडाँडा गाउँमा विसं १९२४ मा जन्मिएकी उनको बालविवाह भएको थियो । प्रथम वैवाहिक जीवन असफल भएपछि भारतको असम, फूलबारी गइन् । त्यहीँ पुनर्विवाह गरी बसेकी उनी विसं १९७३ मा माइतीघर भोजपुर फिरेकी थिइन् । छोरीमात्रै लिएर माइतीघर आएकी उनी त्यसयता भने समाजमा विद्यमान कुरीतिका विरुद्ध जनतालाई सचेत बनाउने काममा सक्रिय रहन थालिन् । नेपालका धार्मिक तीर्थस्थलहरू र भारतको बद्रीनारायण पुगिन् । छोरीको बिहेपछि आफू भोजपुरकै जन्मघर सिम्लेभन्दा तल मझुवाबेंसी अरुणको छेउमा कुटी बनाएर बसिन् । त्यहीँ कठोर योगसाधना गर्दै विसं १९९८ असार २२ मा जलसमाधि लिइन् । जुन कुरीति हटाउन उनको भूमिका अग्रणी रह्यो, त्यसका केही परिमार्जित संघर्षका चरण अझै निरन्तर छन् ।

श्रीमान्को मृत्यु हुँदा श्रीमतीले सँगै आत्मदाह गर्नुपर्ने प्रथा पनि थियो भन्दा अहिलेका पुस्तालाई अनौठो लाग्छ । त्यो आततायी प्रथाबाट समाज गुज्रिएर अघि बढेको इतिहास छ । जंगबहादुर राणाले सती प्रथा रोक्न भूमिका खेलेको इतिहासमा उल्लेख भए पनि उनले बन्देज भने लगाएका थिएनन् । जंगबहादुरको शासनको समय १९०३ देखिका तीन दशक थिए । उनले १६ वर्षमुनिका विधवा र नौ वर्षभन्दा मुनिका छोराछोरी भएकाहरूलाई सती जान रोक लगाए पनि यो कुप्रथालाई १९७७ मा सरकारले रोक लगाएको हो । चन्द्रशमशेरले यो प्रथा उन्मूलन गरेका थिए ।

यसरी हेर्दा, योगमाया भारतबाट नेपाल आएको र सामाजिक कार्यमा आफूलाई पूर्ण समर्पित गरेको तीन–चार वर्षभित्र नै सती प्रथा उन्मूलन भएको देखिन्छ । कुनै पनि प्रथा सरकारले बन्देज घोषणा गर्दैमा समाजले चटक्कै छाड्दैन । यसका लागि समय लाग्छ । जस्तो कि कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा छाउगोठको प्रथा समाप्त पनि कानुनले रोक लगायो । सजाय पनि तोकेको छ तर महिनावारीका बेला महिलालाई घरभन्दा पर छुट्टै साँघुरो गोठमा राख्ने चलन हट्न/हटाउन गाह्रो परिरहेको छ ।
योगमायाको समाज त अहिलेको जस्तो शिक्षा र पूर्वाधार विकासमा यति धेरै अघि आइसकेको थिएन ।

सती प्रथालाई तत्कालीन सरकारले रोक लगाए पनि दास प्रथा चलिरहेकै थियो । उनले त्यसविरुद्ध सामाजिक जागरण फैलाउने काम गरिन् । विसं १९८१ मा दास प्रथा उन्मूलनको पनि घोषणा भयो । समाज रूपान्तरणको काम सजिलो थिएन । कुप्रथाको अवशेष धेरै पछिसम्म हट्न नसक्दा योगमायाले निरन्तर आवाज उठाउँदै सम्बधित अधिकारीलाई पत्राचारसमेत गरेकी थिइन् ।

योगमायाको प्रसंग निस्किनासाथ सर्वप्रथम सती प्रथा उन्मूलनसँग उनलाई जोडेर बुझ्ने गरेको पाइन्छ । यसै परिचयमा उनलाई सम्झिएको देखिन्छ, सुनिन्छ, नारी मुक्ति आन्दोलनकी अग्रणी महिलाको रूपमा प्रस्तुत गरिन्छ । हो, नारीसँग सिधै सरोकार राख्ने समाजमा विद्यमान कुरीतिका विरुद्धमा योगमायाले विद्रोह गरिन् । सोही विषयमा सम्बोधन नहुँदासम्म डटेर विरोध पनि गरिरहिन् । सती प्रथाका साथ बालविवाहको विरोध गरिन् । विधवाले पुनर्विवाह गर्न पाउनुपर्छ, नारीले पनि वेद पढ्न पाउनुपर्छ भन्दै नारीका निम्ति समान अवसरको खोजी गरिन् । यस दृष्टिकोणले हेर्दा उनले गरेको काम अर्थात् उठाएको आवाज नारी मुक्तिमा मात्र सीमित अवश्य थिएन, समाजमा व्याप्त विविध प्रवृत्तिका विकृति–विसंगतिको विरोध गरेकी थिइन् । उनी ब्राह्मण परिवारमा जन्मिएकी थिइन् । समाजमा जातपात र विभेद जरा गाडेर बसेको अवस्थामा संघर्षको चरण आफ्नै घरपरिवारबाट सुरु गर्नुपरेको थियो ।

अरुणको आफ्नो कुटीमा उनले सबै जातलाई स्वागत गर्दै जातीय समानताको उदाहरण समेत प्रस्तुत गरिन् । न विद्यालय, न शिक्षा अनिवार्य रहेको समय । संस्कार र जनविश्वासमा आधारित चलनहरू परिवर्तनका लागि सहज थिएनन् । जातजात र छुवाछूतको भावनाले जरा गाडेको थियो । यसै कारण त्यस समय उनी र उनका अनुयायीहरू जातभात–छुवाछूतमा विश्वास राख्ने कट्टर समुदायबाट कुटिएका पनि थिए । उनका केही अनुयायीलाई सामाजिक कार्यबाट वञ्चित गर्दै जातसमेत काढिएको थियो ।

स्पष्ट भन्नुपर्दा, नेपालमा छुवाछूत भेदभावविरुद्धको लडाइँलाई केलाउँदै जाने हो । इतिहासमा जातभातको अन्त्यका निम्ति दह्रो कदम चाल्ने महिलामा योगमायाको नाम अग्रस्थानमा आउँछ । योगमाया त्यस्ती नारी थिइन् जसले जनताको–राष्ट्रको समुन्नतिमा सरोकार राख्ने आर्थिक पक्षमा समेत बोलेकी थिइन् । कर्जा लिँदा तिर्नुपर्ने चक्रवर्ती ब्याजको ब्याज, अन्न पच्चिसा, अन्न लिँदा ठूला पाथी तर दिँदा साना पाथी, गौचरण मासिएर शोषकका नाममा दर्ता गर्ने र घूस खाने परिपाटीको विपक्षमा उनले बहादुरीपूर्वक मैदानमा उत्रिएर विरोध गरिन् । जसका कारण शोषक–सामन्तका आँखामा योगमाया सदा बिझ्ने काँडा बनिरहिन् ।

योगमायाले आवाज उठाएको त्यस्तै अर्को महत्त्वपूर्ण विषय थियो– घूस परम्परा । घूस खाएर न्याय बेच्ने सामाजिक अत्याचारप्रति योगमाया भलिभाँती परिचित थिइन् । त्यस्ता सामाजिक ठेकेदार तथा अधिकारी कर्मचारीका विरुद्धमा उभिइन् । उनको सर्वार्थ योगवाणी हेर्दा पनि यो प्रस्ट हुन्छ ।

धर्म सम्झी विचार गरी इन्साफ गरेन
पैसा भए बेरोहालाई दण्ड परेन ।

जागिरदार लोभी छन् निया हेर्दैनन्
मर्नुपर्ने शरीर हो विचार गर्दैनन् ।

अहिले गर्छौ भलाद्मी हो, आफ्ना खुसैले
भित्री जरा हालिसक्यो लोभी घूसैले
अन्त्य कालमा त्यही घूसले फुटाइदेला धादा
बडो कष्ट मिली जाला त्यही घूस निक्ली जाँदा ।
(सर्वार्थ योगवाणी)

कर्जा दिएर तमसुकमा रकम अंक बढाउने र तिरिसक्दा पनि तमसुक नच्यातेर छोरा–नातिसम्मले त्यो तिर्नुपर्ने, अन्यथा घर–खेत नै उठ्न सक्ने अवस्थाको पनि उनले विरोध गरिन् । व्यापारमा बढी लाभ लिने, ठगी गर्नेदेखि सरसापटीमा दोब्बर असुल गर्नेजस्ता आर्थिक पक्षसँग जोडिएको सामाजिक अनियमिततामा पनि योगमायाले सुधारको पहल गरेकी थिइन् । योगमायाले सामाजिक, आर्थिक, न्यायिक सुधारका निम्ति गाउँमा चेतना अभिवृद्धि गरिन् । तत्कालीन सरकारले अन्याय–अत्याचार निर्मूल पारी धर्मराज्य स्थापना गर्नुपर्छ भन्दै उनले धर्मभिक्षा पटक–पटक माग राखेकी थिइन् ।

यसरी, योगमायालाई सती प्रथा उन्मूलन र नारी मुक्ति आन्दोलनकी प्रथम अग्रणी महिला भनी परिचय स्थापना गर्दा उनले उठाएका अन्य मुद्दा ओझेलमा परेका छन् । किनकि यो सर्वविदितै छ कि योगमायाले नारीको शोषणका विरुद्धमा त बोलिन् नै, तर कतिपयलाई थाहै छैन– त्यसभन्दा धेरै अन्य समाजमा व्याप्त विकृतिका बारेमा पनि उनी खुलेरै लागिपरेकी थिइन् ।

स्वभावतः सामाजिक विकृति–विसंगतिविरुद्धमा योगमायाले आवाज बुलन्द गर्दा, नारीले भोग्नुपरेका पीडा पनि त्यसमा समेटिएका छन् । योगमाया समाजमा व्याप्त सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक एवम् मनोविज्ञानका पक्षसँग जोडिएर गलत परिपाटीको विरोधमा उत्रिएकी थिइन् । योगमायाले सती प्रथा उन्मूलनमा भूमिका खेलेको चर्चा गरिरहँदा त्योभन्दा लामो समय निरन्तर अन्य ठूला सामाजिक विकृतिविरुद्धमा उभिएको कुरा बिर्सन सकिन्न । बिर्सन मिल्दैन । जुन समस्या आजपर्यन्त यही समाजको जटिल दीर्घरोग बनेर रहेको छ ।

योगमायाले गरेका कार्य, उनले उठाएका विषय, आफ्ना अनुयायीमार्फत गरेको उत्प्रेरणालाई अध्ययन गर्दा यो ठहर गर्नमा दुई मत हुँदैन कि उनी नारी मुक्ति आन्दोलनकी महिला मात्र होइन, समग्र समाज मुक्ति आन्दोलनकी प्रथम अग्रणी नेपाली महिला हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७६ १५:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×