कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वुहानबाट ल्याइएकाको क्‍वारेन्टाइनमा र्‍यालको नमुना लिइयो

कान्तिपुर संवाददाता

भक्तपुर — चीनको वुहानबाट ल्याइएका १७५ जनाको सोमबार घाँटीको र्‍याल र ‘नेजेल स्वाब’ को नमुना संकलन गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएका नेपालीबाट संकलित नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । 

वुहानबाट ल्याइएकाको क्‍वारेन्टाइनमा र्‍यालको नमुना लिइयो

प्रयोगशालाका चिकित्सकलगायत प्राविधिकले करिब ४ घण्टा लगाएर र्‍याल तथा ‘नेजल स्वाब’ को नमुना संकलन गरेका हुन् । परीक्षणको नतिजा बुधबारसम्म सबैजनाको आइसक्ने जनाइएको छ । क्यारेन्टाइनमा राखिएकाहरूमध्ये कसैलाई कोरोना भाइरस देखिए वा शंकास्पद लक्षण देखिए थप परीक्षण तथा उपचारका लागि आइसोलेसन सुविधा भएका अस्पताल पठाइने छ । यस्तै परीक्षण दुई सातापछि पुनः गरिनेछ । क्वारेन्टाइनमा १३५ पुरुष र ४० जना महिला छन् ।


क्वारेन्टाइनमा राखिएकाहरूलाई हरेक दिन बिहान ७ बजे ब्रेकफास्ट, साढे ११ बजे लन्च, दिउँसो साढे २ बजे खाजा र साँझ ७ बजे खाना दिने गरिएको छ । व्यक्तिको रुचिअनुसार खाना दिने गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।


क्वारेन्टाइन परिसरभित्र इन्टरनेट, टेलिभिजन, क्यारेमबोर्ड, लुँडो, ब्याडमिन्टनलगायत खेलकुद सामग्रीको सुविधा छ । पाण्डेका अनुसार क्वारेन्टाइनमा राखिएकाहरूलाई पानी, माक्स, ह्यान्ड स्यानिटाइजर, साबुन, मञ्जन, औषधिलगायत सामग्री उपलब्ध गराइएको छ । पाण्डेका अनुसार क्वारेन्टाइनमा राखिएका व्यक्तिका आफन्तले खानाबाहेक लत्ताकपडा, पुस्तकलगायत सामग्री ल्याइदिन सक्नेछन् ।


यसैबीच, नेपालीलाई क्वारेन्टाइनमा राखिएको क्षेत्र बाहिर सहायता कक्षसमेत स्थापना गरिएको छ । तालिम केन्द्रको प्रवेशद्वार र चाँगुनारायण–६ पीपलबोटस्थित खानेपानी सरसफाइ डिभिजन तालिम केन्द्रमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र जिल्ला जनस्वास्थ्य कार्यालयले सहायता कक्ष स्थापना गरेको हो । कक्षमा कोरोना भाइरससँग सम्बन्धित जनचेतनामूलक परामर्श दिनुका साथै पर्चा पम्प्लेट राखिएको रेडक्रसले जनाएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डे नेतृत्वको टोलीले क्वारेन्टाइन बाहिरको बस्तीमा कोरोनाबारे सचेतना तथा माक्स वितरण कार्यक्रम गरेको छ ।


देखियो स्वाइन र हङकङ फ्लु

निमोनिया गराउने नोवल कोरोना भाइरसको त्रास रहेकै बेला इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) अन्तर्गत स्वाइन फ्लु र हङकङ फ्लुसमेत देखिन थालेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार ‘इन्फ्लुएन्जा ए (एच१एन१) पीडीएम ०९’ अर्थात् स्वाइन फ्लु र ‘इन्फ्लुएन्जा ए (एच३एन२)’ अर्थात् हङकङ फ्लु देखिन थालेको हो ।


सिन्धुपाल्चोकमा फैलिएको रुघाखोकी ‘हङकङ फ्लु’ भएको र बाजुरामा ‘स्वाइन फ्लु’ र ‘इन्फ्लुएन्जा बी’ देखिएको उनले जानकारी दिइन् । गर्मी याम सुरु हुने समय र मनसुनपछि मौसमी रुघाखोकीको समस्या बढी देखिने गरेको छ ।


स्वाइन फ्लुसँग कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुने भएकाले थप त्रास फैलिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका सिनियर कन्सलटेन्ट चेस्ट फिजिसियन डा. नवीनप्रकाश शाहले बताए । ‘अलि कडा खालको ज्वरो र रुघाखोकी भए आत्तिनु हुन्न,’ उनले भने, ‘तत्काल चिकित्सकीय सुझाव लिनुपर्छ ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको शंकास्पद नमुनाको प्रयोगशाला परीक्षणमा स्वाइन फ्लु, हङकङ फ्लु, समूह नछुट्याइएको ‘इन्फ्लुएन्जा ‘ए’ र इन्फ्लुएन्जा ‘बी’ पोजेटिभ भेटिएको छ । संकलित नमुनामध्ये करिब एक तिहाइमा इन्फ्लुएन्जा देखिएको हो । ‘धेरैजसो नमुनामा स्वाइन फ्लु देखिएको छ,’ जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलजिस्ट राजेशकुमार गुप्ताले भने ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म गरिएको ३४ शंकास्पद बिरामीको र्‍यालको नमुना परीक्षण गर्दा एक जनामा मात्र कोरोनाको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चीनबाट फर्किएका ती व्यक्तिको सम्पर्कमा रहेका अरूमा हालसम्म कोरोनाको संक्रमण देखिएको छैन । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य आपतकालीन कार्य सम्पादन केन्द्र प्रमुख सागर दाहालका अनुसार सिन्धुपाल्चोक–९, सेती प्रादेशिक अस्पताल धनगढी र प्रदेश–१ बाट प्राप्त भएको घाँटीको र्‍यालको नमुना परीक्षण गर्दा नतिजा ‘नेगेटिभ’ आएको छ ।


प्रकाशित : फाल्गुन ६, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?