ललिता निवास प्रकरण : पूर्वमन्त्री गच्छदारसहित १७२ विरुद्ध सीआईबीमा किटानी जाहेरी दर्ता- समाचार - कान्तिपुर समाचार

ललिता निवास प्रकरण : पूर्वमन्त्री गच्छदारसहित १७२ विरुद्ध सीआईबीमा किटानी जाहेरी दर्ता

मातृका दाहाल

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा ललिता निवास प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । आइतबार सीआईबीले गृहमन्त्रालयको जाहेरी अनुसार औपचारिक रुपमा मुद्दा दर्ता गरेको हो । यससँगै सीआईबीलाई आरोपित बनाइएलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ ।

केहीदिन अघि उक्त प्रकरणका आरोपित विरुद्ध गृह मन्त्रालय अन्तरगतको समरजंग कम्पनीले जग्गा हडप्ने र व्यक्तिका नाममा लालपूर्जा बनाउन भूमिका खेल्ने पूर्व उपप्रधामन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री, ३ पूर्वसिचवसहित १७२ जना माथि मुलुकी ऐन, २०२० र मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार ठगी र किर्तेको अभियोगमा किटानी जाहेरी दिएको थियो । ललिता निवासको जग्गा सूवर्ण शम्सेर तथा उनका आफन्ताबाट २०२१ सालमा सरकारले मुआब्जा दिएर गृह मन्त्रालयको सरकारी कार्यालय समरजंग कम्पनीको रेखदेख र स्वामित्वमा रहने गरी कायम गरेको थियो ।


जग्गा हत्याउन २०४९ सालमा ४८ जना, २०६१ मा २१ जना, २०६६ मा ६६ जना र २०६९ मा ३७ गरी १७२ जनाले किर्ते र ठगी गरेको भन्दै सीआईबीले आरोपितमाथि मुद्दा चलाउनुपर्ने राय गृहलाई दिएको थियो ।


जाहेरीअनुसार आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुन सक्छ ।


ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते गच्छदारसहित ११० जनालाई बिगो र कैद तथा ६५ जनाविरुद्ध जग्गा फिर्ताको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिसकेको छ ।


त्यही प्रकरणमा सीआईबीले गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, छविराज पन्त, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, अख्तियार प्रमुखबाट अवकाशप्राप्त पूर्वसचिव दीपबहादुर बस्न्यात, तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीसहित १७२ जनालाई कसुरदार देखाउँदै मुद्दा चलाउन सिफारिस गरेको थियो ।


प्रकाशित : फाल्गुन ४, २०७६ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्

पर्वतारोहीको नाममा पदमार्ग

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण हिमश्रृंखलामा प्रख्यात राउन्ड अन्नपूर्णजस्ता अति नै चलन चल्तीका पदमार्ग मात्र हैन लुकेका तर ऐतिहासिक पदमार्गको पहिचान गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने लुकेको यस पदमार्गलाई अन्नपूर्ण हिमालका पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगको नाममा नामाकरण गरिएको छ ।

फ्रान्सेली पर्वतारोही मौरिस हार्गोजको टोलीले नर्थ बेस क्याम्प हुँदै ७० वर्ष ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । उनै पर्वतारोही मौरिसले हिँडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई अन्नपूर्ण गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रर्वद्धन गरी प्रचलनमा ल्याएको हो । अन्नपूर्ण आरोहणको तीनवर्षपछि मात्र सगरमाथा आरोहण भएकोले पर्वतारोहणको हिसाबले अन्नपूर्णलाई जेठो हिमाल भन्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिका–४ मा अन्नपूर्ण हिमश्रृंखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ र बराह शिखर हिमाल अवस्थित छन् ।

‘भ्रमण वर्ष २०२० को अवसरमा गाउँपालिकाको अगुवाईमा त्यो बेला हिमाल चढ्न जाँदा प्रयोग गरेको बाटोलाई मौरिस हर्गोज नामाकरण गरी नयाँ पदमार्ग प्रचलनमा ल्याएका हौं,’ अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर गर्वुजाले भने, ‘हाम्रो अगुवाईमा पर्वतारोहीको नाममा नामाकरण भएपनि पदमार्ग बनाउन पर्यटन मन्त्रालय, एक्याप, ट्रेकिङ एजेन्सी, स्थानीय समुदाय र गाउँपालिका सबैको आर्थिक, भौतिक सहयोग छ ।’

अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न मुस्ताङको घाँसा हुँदै जाने प्रचलित नर्थ बेस क्याम्पको कठिन, जोखिमपूर्ण र १४ दिन लामो पदमार्गको विकल्पमा सहज, सुविधायुक्त, ६ छोटो अझ हिमाल फेंदीसम्म गाडी चढेरै जाने हो भने ३ दिनमा अन्नपूर्ण नर्थ बेस क्याम्प सजिलै पुग्न सकिन्छ । अन्नपूर्ण नर्थ बेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो ।

पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ किलोमिटर कालीगण्डकी नदी पछ्याउँदै उत्तर लागेपछि पुगिन्छ, नारच्याङ बेंसी (१३३० मी) । नारच्याङ अन्नपूर्ण नर्थ बेस क्याम्प पुग्ने मौरिस हर्जोग पदमार्गको पहिलो र अन्तिम वस्ती हो । अन्नपूर्ण नर्थ बेस क्याम्प पुग्न नारच्याङबाट दुईवटा विकल्प छन्, पैदल वा गाडी ।

कच्ची सडकमा निलगिरी खोला जलविद्युत आयोजनाको मुहान रहेको छोटेपासम्म गाडीमा गई त्यहाँबाट निलगिरी र अन्नपूर्ण हिमालबाट झर्ने हुमखोला दोभान (२८८३ मी) माबास बस्न पुगिन्छ । हुमखोलाबाट दोस्रो दिन भुस्केटमेला (३६५९मी) तेस्रो दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प पुग्न सकिन्छ । चौंथो दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।

पैदलयात्रा गर्ने हो भने, नारच्याङबेंसीबाट पहिलो दिन लेक गाउँ हुँदै कालोखोला, दोस्रो दिन छोटेपा, तेस्रो दिन हुमखोला, चौंथो दिन साँधीखर्क, पाँचौं दिन भुस्केटमेला र छैठौं दिन अन्नपूर्ण र निलगिरीको संयुक्त बेस क्याम्प र सातौं दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।


अन्नपूर्ण चक्रिय पदमार्गको विकल्पमा सञ्चालनमा ल्याइएको नारच्याङ–घाँसा–जोमसोम–मुक्तिनाथ वैकल्पिक पदमार्ग, तातोपानी–खोप्रा–महरे–नागी सामुदायिक पदमार्ग र अन्नपूर्ण नर्थ बेस क्याम्प पदमार्गको प्रस्थानबिन्दु नारच्याङ हो ।

‘गाउँमा पर्यटक आउन थालेपछि स्थानियले टि हाउस, रेष्टुरेन्ट र होटल/लज खोल्न थालेका छन् । विभिन्न निकायको आर्थिक सहयोगमा स्थानीयले श्रमदान गरी पदमार्गमा आधारभूत पूर्वाधार निर्माण तथा व्यवस्थापन सुरु गरेका छौं,’ पर्यटन व्यवसायी तेजबहादुर गुरुङले भने, ‘विभिन्न चोक र गल्लीमापदमार्गका ठाउँ–ठाउँमा सूचना नक्सा राख्न थालेका छौं । लुकेको वस्तीका पदमार्ग पर्यटकका लागि ‘भर्जिन गन्तव्य’पनि हुन् ।’

यसैबीच आउँदो सिजनमा श्रेष्ठसमेतका महिला पर्वतारोही अन्नपूर्ण प्रथम हिमाल आरोहणमा जाने भएका छन् । अन्नपूर्ण हिमालमा पहिलो पटक नेपाली महिला पर्वतारोहीआरोहणमा जान लागेका हुन् ।

‘भ्रमण वर्ष २०२० मा पूर्णिमा श्रेष्ठसमेतका महिला पर्वतारोहीले हाम्रो गाउँको बाटो भएर हाम्रै भूगोलको अन्नपूर्ण प्रथम हिमाल चढ्न लाग्नु भएकोले गाउँपालिकाले संस्थागत र ब्यक्तिगत रुपमापनि सक्दो आर्थिक, भौतिक सहयोग गर्छौ ।’ गाउँपालिका अध्यक्ष गर्वुजाले भने, ‘विभिन्नपदमार्गकाहव अन्नपूर्ण गाउँपालिकाको पहिलो प्राथमिकता नै पर्यटन हो ।’

प्रकाशित : फाल्गुन ४, २०७६ १४:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×