कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

कोरोना भाइरस संक्रमण : तिब्बतमा उच्च सतर्कता, किमाथांकामा छैन तयारी

दादुरा र रूवेला खोप अभियानमा स्वास्थ्यचौकी, सामान्य औषधिको समेत छैन उल्लेख्य स्टक 
स्वास्थ्यकर्मी र औषधि पठाउन गरिएको आग्रह सुनुवाइ भएन  ितिब्बततर्फ घरबाहिर हिँडडुल गर्नसमेत निषेध, सीमाबाट फर्काइए १२ नेपाली
दीपेन्द्र शाक्य

(संखुवासभा) — चीनमा फैलिएको नोवल कोरोना भाइरसका कारण सीमावर्ती किमाथांका क्षेत्रका बासिन्दा त्रसित छन् । सम्भावित संकटलाई ध्यान दिँदै जिल्लास्थित सरकारी निकायले किमाथांकामा सतर्कता अपनाउने तथा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको छैन । ‘कसैलाई सम्भावित लक्षण देखिएको थाहा हुन आएमा जिल्लामा सम्पर्क गर्नू’ भन्दै स्वास्थ्य कार्यालय ढुक्कसँग बसेको छ । 

कोरोना भाइरस संक्रमण : तिब्बतमा उच्च सतर्कता, किमाथांकामा छैन तयारी

जिल्ला स्वास्थ्य प्रमुख रमेश बाह्रकोटी किमाथांका स्वास्थ्य चौकीका कर्मचारीसँग निरन्तर सम्पर्कमा बसेको बताउँछन् । उनका अनुसार किमथांकामा ज्वरो आउने, झाडापखला र रुघाखोकी कसैलाई लागि हाले सम्पर्कमा आउन स्वास्थ्यकर्मीलाई भनिएको छ । ‘अहिले त्यस क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने कुनै निर्णय भएको छैन, पठाउनुपरे हेल्थ असिस्टेन्ट, अहेव र अनमी खटाउने हो,’ उनले भने, ‘सामान्य औषधिका लागि त्यस क्षेत्रका स्वास्थ्यकर्मीसँग समन्वय गर्ने तयारीमा छौं ।’


कति औषधि किमाथांका स्वास्थ्य चौकीमा छ भन्ने विषयमा समेत स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयलाई जानकारी छैन । उक्त स्वास्थ्य चौकीमा एक अहेब, एक अनमी र एक जना कार्यालय सहयोगी छन् । उनीहरू दादुरा र रुवेला खोप अभियानको तयारीमा छन् । अहेब छेचावा भोटेले कोरोनाको महामारी आएमा स्वास्थ्य चौकीमा भएको सामान्य औषधि पनि कम हुने बताउँछन् ।


‘सामान्य रुघाखोकीको संक्रमण फैलिएमा पनि उनीहरूलाई दिने औषधि पर्याप्त छैन,’ उनले भने । भोटेका अनुसार सिटामोल चार सय, मेट्रोन ६ सय र सिप्रो आठ सय ट्याब्लेट मात्र स्टक छ । त्यसबाहेकका औषधिको परिमाण धेरै कम छ । ‘२० प्रकारका औषधि स्वास्थ्य चौकीमा छ,’ उनले भने, ‘यी सबै गरेर एक हजार ट्याबलेट जति पुग्ला । सरदर ३० देखि ४० जनालाई मात्र यो परिमाणले पुग्छ ।’


थप औषधि ल्याउने तयारी कतैबाट नभएको उनले बताए । ‘महामारी फैलिएको अवस्थामा बिरामीलाई औषधि बाँड्न सक्दैनौं,’ उनले भने, ‘आसपासका स्वास्थ्य चौकीमा पनि औषधि छैन, जिल्लाबाट पठाउने तयारी पनि छैन ।’

स्वास्थ्य कार्यालय र स्थानीय प्रशासनले किमाथांकामा स्वास्थ्यको टोली अहिलेसम्म नपठाएकोमा स्थानीयले गुनासो गरेका छन् । यत्रो समयसम्म सरकारको तर्फबाट चिकित्सकसमेतको टोली पठाउने कुरासम्म नउठेकोमा आक्रोश पोख्छन् किमाथांकाका निमा भोटे । ‘सीमापारि निकै सावधानी अपनाइएको छ,’ उनले भने, ‘तर हाम्रोतिर केही छैन, किमाथांकावासीलाई माक्स कसरी लगाउने वा माक्स भनेको के हो नै थाहा छैन ।’


केन्द्र र प्रदेश सरकार यहाँको अवस्थालाई लिएर बेखबर बनेको उनले आरोप लगाए । ‘संक्रमण फैलिएको देशसँग जोडिएका छौं,’ उनले भने, ‘तर सम्भावित संकटको सामना गर्ने कुनै तयारी छैन, हामी त्रासका बीच बसिरहेका छौं ।


हामी समस्यामा भएको थाहा पाएपछि खाद्यान्न पठाउने सरकारले स्वास्थ्यकर्मीको टोली र औषधि पठाउनेतर्फ ध्यान दिएको छैन, स्वास्थ्यकर्मी पठाउन आग्रह गर्दा पनि सुनुवाइ भएन ।’


सदरमुकाममै थन्कियो खाद्यान्न

भोटखोला गाउँपालिकाले किमाथांकाका लागि सात हजार किलोग्राम खाद्यान्न सदरमुकाममा तयारी अवस्थामा राखेको थियो । तर, नेपाली सेनाको हेलिकोप्टरले दुई पटकमा चार हजार पाँच सय किलोग्राम मात्रै ढुवानी गरेको थियो । बाँकी रहेको दुई हजार पाँच सय केजी सदरमुकाममै थन्किएको छ । हेलिकोप्टरले पूरा परिमाण ढुवानी नगरिदिएपछि गाउँपालिकाले भारी बोकाएरै किमाथांकासम्म खाद्यान्न लैजाने तयारी गरेको अध्यक्ष तेम्बा भोटेले बताए । ‘बाँकी रहेको सामग्री खच्चडलाई बोकाएर लैजाने तयारी गर्दै छौं । त्यति सामाग्रीले स्थानीयलाई मुस्किलले सातदेखि १० दिनसम्म मात्रै पुग्छ,’ उनले भने, ‘एक किलो सामान किमाथांकासम्म ढुवानी गरेको एक सय रुपैयाँभन्दा बढी लाग्छ । खाद्यान्न प्रशस्तै किन्न सक्छौं तर ढुवानी भाडा चर्को पर्छ ।’


किमाथांकासँग सीमा जोडिएको तिब्बतको चाँगा र देनदाङमा कोरोना भाइरसको महामारी नदेखिए पनि चीनले उच्च सुरक्षा सतर्कता अपनाएको छ । आफ्नोतर्फको नाका चीनले बन्द गर्दा किमाथांकामा खाद्यान्न अभाव भएको हो । यो क्षेत्र तिब्बती बजार चाँगाको भरमा छ । किमाथांकामा चार सय ३०, छिमेकी गाउँ छुमसुरमा ८४, रिदाकमा चार सय ४१ र थुदामका ४२ जना बसोबास गरिरहेका छन् । उनीहरूमध्ये किमाथांकावासीका लागि मात्रै खाद्यान्न लगिएको हो । बाँकी गाउँमा पैदलमार्गबाट खाद्यान्न पठाइने भोटे बताउँछन् । चीनले किमाथांका नाका कहिले खोल्छ यकिन छैन । गएको माघ ५ देखि कोरोना भाइरसका कारण यो नाका चीनले बन्द गरेको हो ।


तत्कालको संकट टार्न खाद्यान्‍न मात्रै हेलिकोप्टरबाट पठाइएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । उनले नाका बन्द भएको २१ दिनसम्म स्थानीयले यसअघि नै भण्डार गरेको खाद्य सामग्री प्रयोग गरेको बताए । ‘त्यसपछि खाद्यान्न अभाव देखिएको भन्दै गाउँपालिकाले लिखित जानकारी गराएपछि हामीले हेलिकोप्टरबाट खाद्यान्न पठाएका हौं,’ उनले भने । सो क्रममा चामल, नुन, तेललगायतका खाद्यान्न सामग्री ढुवानी गरिएको संखुवासभा प्रहरीका डीएसपी मिमबहादुर लामाले बताए । उनका अनुसार चार हजार दुई सय ५० किलोग्राम चामल, एक सय ८२ लिटर तेल र दुई सय किलो नुन लगिएको छ ।


यी सामग्री भोटखोला–१, किमाथांकाका ८६ घरपरिवार, भर्खरै स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत कार्यालयका कर्मचारीलाई वितरण गरिएको छ । उच्च हिमाली क्षेत्र भएका कारण यहाँ कोदो, मकै र आलुबाहेकका खाद्यान्न उत्पादन हुँदैन । गाउँपालिका अध्यक्ष भोटेका अनुसार उत्पादन भएका सबै खाद्यान्न सकिएको स्थानीयले बताएका छन् । भोटखोला सदरमुकामबाट पाँच दिनको पैदल दूरीमा पर्छ ।


१२ नेपाली फर्काइए

तिब्बतको चाँगा र देनदाङमा कोरोना संक्रमण देखिएको सार्वजनिक भएको छैन तर त्यहाँ घरबाहिर हिँडडुलसमेत बन्द गरिएको गाउँपालिका अध्यक्ष भोटेले बताए । ‘तिब्बतमा कसैलाई पनि बाहिर हिँडडुल गर्न दिइएको छैन,’ उनले भने, ‘एउटा घरमा चार जनाभन्दा बढीलाई बस्न पनि अनुमति छैन ।’


चीनतर्फ सिमानामा सेना राखेर मानिसहरूलाई हिँडडुलमा समेत रोक लगाइएको उनले सुनाए । किमाथांका नाकाबाट मंगलबार १२ जना नेपाली कामदार फर्काइएको थियो । फर्काइएका सबै संखुवासभाको भोटखोला र मकालु गाउँपालिकाका भएको उनले बताए । यसअघि माघ १४ मा ताप्लेजुङ पापुङका २ जना फर्काइएका थिए ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?