कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुवेतमा नेपाली कामदारकाे मृत्युप्रति मानव अधिकार आयोगद्वारा सरकारको ध्यानकर्षण

हाेम कार्की

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको मानवअधिकारको रक्षा र सुरक्षामा गम्भीर हुन सरकारलाई शुक्रवार आग्रह गरेको छ ।

वालुवा–ढुंगाबाट पुरिएर कुवेतमा ६ नेपाली कामदारको मृत्यु भएको घटना सार्वजनिक भएपछि आयोगले प्रधानमन्त्री, परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्रचार गरी नेपाली कामदारप्रति सुरक्षाको बिषयमा दीर्घकालिन नीति लिन अनुरोध गरेको हो ।


‘कुवेतको घटनाले हामीलाई निकै दुखित वनाएको छ,’ आयुक्त सुदिप पाठकले भने, ‘हामीले सरकारलाई विदेशमा कार्यरत नेपाली कामदारको उचित सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गरेका छौं ।’ कुवेतमा पाइप विछ्याउनको लागि भुई सम्याइरहेको बेला एक्कासी बालुवा ढुंगा झर्दा बुधवार ६ जना नेपालीको ज्यान गएको नेपाली दूतावासले जनाएको छ । दुई जना घाइते भएका छन् ।


आयोगले नेपाली दूतावासलाई सर्म्पक गरी घटनाको वास्तविकता पठाउन आग्रह गरेको छ । घटनामा परेर पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ, दाङका श्यामनारायण चौधरीको मृत्यु भएको थियो । थप दुई जना मृतकको पहिचान भएको छैन ।


‘मृतकका परिवार र घाइतेलाई उचित क्षतिपुर्ति उपलब्ध गराउने ब्यबस्था मिलाउन दूतावासलाई अनुरोध गरिएको छ,’ उनले भने, ‘घाइतेहरुको निशुल्क उपचार हुनुपर्छ ।’

प्रकाशित : फाल्गुन २, २०७६ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?