ओलीका २ वर्ष : सहरभरि हानिकारक कण

वाम घोषणापत्रमा राजधानीलाई दुई वर्षभित्र फोहोर, धूलो, हिलो र प्रदूषणमुक्त बनाउने भनिए पनि वायु प्रदूषण झन् बढेको छ । पछिल्लो समय उपत्यकाका विभिन्न ठाउामा धूवााधूलोका हानिकारक कण मापदण्डभन्दा निकै बढी पाइएको छ।
मकर श्रेष्ठ

काठमाडौँ — कोटेश्वरबाट ना४ख ८०२४ नम्बरको कन्टेनर बिहीबार ११ बजेर २० मिनेटमा सातदोबाटोतर्फ गइरहेको थियो । अर्को कन्टेनर जडीबुटीबाट कोटेश्वरतर्फ आइरहेको थियो । त्यसको अघि र पछि साना–ठूला सवारीको लाम थियो । कोटेश्वर चोकको जाम छिचोल्दै अघि बढ्न कन्टेनरका चालकले एक्सिलेटर दबाउँदा धूवाँको मुस्लो निस्किरहेको थियो ।

ZenTravel

कन्टेनरको पछाडि रहेको मोटरसाइकलका चालक त्यसबाट बच्न हेल्मेटको भाइजर झारेर अनुहार छोपिरहेका थिए । बिहानको पढाइ सकेर जडीबुटीतर्फ जाने पैदल यात्रु पनि मुख छोपेर अघि बढिरहेका थिए । धूवाँको मुस्लो फ्याँक्दै उक्त कन्टेनर पनि सातदोबाटोतिरै लाग्यो ।

त्यही समयमा बानेश्वरको संघीय संसद् भवनअगाडि कालोपत्रे गर्न कामदारले मेसिन लगाएर सडकको धूलो उडाइरहेका थिए । धूलोले वरिपरिका मान्छे चिन्न नसकिने गरी छोपिएका थिए । मास्क हुनेले मास्क लगाए, नहुने हातले नाक–मुख छोपे । कार्यालय समयमा सडक कार्यालयले सर्भिस ट्र्याक बन्द गरेर कालोपत्रे गर्न लागेको थियो ।

काठमाडौं उपत्यकामा पछिल्लो समय सडकका धूलो तथा सवारी र उद्योगको धूवाँको कण स्वास्थ्यका लागि हानिकारक बनिरहेका छन् । वातावरण विभागका अनुसार पछिल्ला २४ घण्टामा रत्नपार्कको हावामा पीएम २.५ का कण ९२ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ । भैंसेपाटीमा ६५, पुल्चोकमा ५४, शंखपार्कमा २४ माइक्रोग्राम मापन भएको छ । पीएम २.५ भनेको रौंको मोटाइको झन्डै ३० भागको एक भागभन्दा सानो हुन्छ । जुन आँखाले समेत देख्न सकिँदैन । सरकारको २०६९ साउन २९ को निर्णयअनुसार वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डमा पीएम २.५ कण प्रतिघनमिटर ४० माइक्रोग्राम मात्रै हुनुपर्छ । ‘योभन्दा बढी हुनेबित्तिकै रगतमै असर गर्छ,’ वातारण विभागका विज्ञ हसना श्रेष्ठले भनिन्, ‘काठमाडौंमा इँटाभट्टा, उद्योग र सवारी साधनको प्रदूषण बढेकाले यो मौसममा हानिकारक कण बढी हुन्छ ।’ जुन कण सामान्य मास्कले समेत नछेक्ने विज्ञहरू बताउँछन् ।

वरिष्ठ छाती रोग विशेषज्ञ डा. अर्जुन कार्कीले आँखाले नदेख्ने धूलोको कण सिधै फोक्सोको कुनासम्म पुग्ने बताए । ठूलो कण नाकको रौं, घाँटी र फोक्सोको माथिल्लो भागमा अड्किए पनि सानो कणले सिधै फोक्सोमा पुगेर असर गर्ने बताए । ‘जति सानो भयो, त्यति हानि गर्छ, नाक र मुखबाट छिरेको कणलाई केहीले छान्दैन,’ उनले भने, ‘सुरुमा खोकी लाग्ने, आँखा चिलाउने, नाक बन्द हुने, हाच्छिउँ आउने भइरहन्छ । लामो समयसम्म पनि यस्ता कण फोक्सोमा गइरह्यो भने दमको समस्या देखिन्छ । मुटुमा असर गरेर हृदयाघात, पक्षघात र फोक्सोको क्यान्सरसमेत हुन्छ ।’
नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरेको छ । पन्ध्रौं पञ्चवर्षीय योजनाको आधारपत्रमा प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापन र हरियाली प्रवर्द्धनको लक्ष्य लिइएको छ । सरकारको नेतृत्व गरेको नेकपा (तत्कालीन एमाले र माओवादी केन्द्र) को घोषणापत्रमा समेत राजधानीलाई दुई वर्षभित्र फोहोर, धूलो, हिलो र प्रदूषणमुक्त बनाइने उल्लेख छ तर सर्वसाधारण दूषित हावा लिन बाध्य छन् ।

नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारबाट सरकारले वञ्चित गरेको डा. कार्कीले बताए । ‘संविधानले दिएको अधिकार पाउनबाट जनता वञ्चित भएकाले अनाहकमा मृत्युवरण गर्नुपरेको छ,’ कार्कीले भने, ‘आर्थिक बोझ उत्तिकै भोग्नुपरेको छ ।’

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावी घोषणापत्रमा काठमाडौंलाई ‘नो मास्क सिटी’ बनाउने घोषणा गरेका थिए । अझ प्रधानमन्त्री केपी ओलीले मास्क नलगाई हिँड्न सक्ने वातावरण भइसकेको दाबी गरेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट दुई किलोमिटर र काठमाडौं महानगरपालिकाबाट ११ सय मिटर पर रहेको रत्नपार्कको वायु मापन केन्द्रमा वरिपरि कस्तो हावा चलिरहन्छ भन्ने रेकर्ड भइरहेको छ । त्यसलाई वातावरण विभागको वेबसाइटमा सहजै हेर्न सकिन्छ ।

प्रदूषण मापन केन्द्रमा पछिल्लो एक सातामा रत्नपार्कमा पीएम २.५ का कण भएका दूषित हावा प्रतिघनमिटर १४४ सम्म मापन भएको छ । बिहान र बेलुका स्वास्थ्यलाई असर गर्ने कण हावामा देखिएको विभागले जनाएको छ । रत्नपार्कमा गत शुक्रबार बिहान ८ बजे प्रतिघनमिटर १२१, बेलुका ९५, शनिबार बिहान ९३ रहेकामा बेलुका ८५ मापन भएको थियो । त्यस्तै आइतबार बिहान प्रतिघनमिटर १०३ रहेकामा राति १०८ पुगेको थियो । सोमबार बिहान ८ बजे १४० रहेकामा बेलुका भने ८४ मापन भएको थियो । मंगलबार बिहान ८ बजे १४६ मापन भएकामा बेलुका ८६, बुधबार बिहान १४४ र बेलुका ८६ प्रतिघनमिटर कण मापन गरिएको थियो । बिहीबार बिहान ८ बजे १३४ मापन गरिएको छ ।

ललितपुरको भैंसेपाटीमा पनि पछिल्लो २४ घण्टामा पीएम २.५ कणहरू प्रतिघनमिटर ६५ मापन भएको छ । भैंसेपाटीमा आइतबार बिहान ११० प्रतिघनमिटरसम्म मापन भएको थियो । पुल्चोकको अवस्था पनि उही छ । बिहीबार ६ बजे पीएम २.५ भन्दा सानो धूलोको कण ५४ मापन गरिएको छ, जुन मापदण्डभन्दा बढी हो । विभागले राखेको मापन केन्द्रमध्ये शंखपार्कमा पछिल्लो २४ घण्टामा पीएम २.५ का धूलोको कण मापदण्डभन्दा कम पाइएको छ । तर बुधबार बिहान ९ बजे भने यो केन्द्रमा पनि यस्तो कण १२० मापन भएको छ । ‘उपत्यकामा पीएम २.५ भन्दा सानो धूलो र धूवाँका कण यो मौसममा बढी देखिएको छ,’ विभागका सूचना अधिकृत शंकर पौडेलले भने । यो कण न्यून गर्न विकास निर्माण गर्ने र सवारी प्रदूषण जाँच गर्ने निकायले पनि चासो दिनुपर्ने उनले बताए । फोहोर जलाउँदा पनि यस्तो दूषित हावा निस्कने उनले बताए ।

काठमाडौं उपत्यकाको कचौरा आकारको भौगोलिक अवस्थितिले विभिन्न स्रोतबाट निस्कने वायुमण्डलीय ‘इन्भर्सन’ का कारण फैलावट हुन नपाई लामो समयसम्म वायुमण्डलमा रहने विभागका निरीक्षक राजेश्वर पौडेलले बताए । ‘बिहान हावा चल्दैन, धूवाँ–धूलोको कण तलै हुन्छ, ११/१२ बजेपछि हावा बढी चल्न थालेसँगै कणहरू पनि बिस्तारै घट्छन्,’ उनले भने, ‘बेलुका फेरि बिहानकै जस्तो हुन्छ ।’ वातावरण विभागले तीन वर्षअघि गरेको अध्ययनअनुसार उपत्यकामा पूर्वाधार निर्माणबाट ५३, सवारीसाधनबाट ३०, इँटाभट्टाबाट नौ, घरभित्रको धूवाँबाट पाँच, फोहोर जलाउँदा एक र कारखानाबाट एक प्रतिशत प्रदूषण निस्कने गरेको देखाएको थियो । ‘त्यसबेला सडक निर्माण चलिरहेको थियो, अहिले यो कम भएको छ । अब अरू कारणले बढेको हुन सक्छ, अध्ययनका क्रममा छौं,’ सूचना अधिकारी पौडेलले भने । उपत्यकामा भक्तपुरमा ६२, ललितपुरमा ३३, काठमाडौंमा १८ वटा इँटाभट्टा छन् ।

७७ गाडी खराब
सवारीसाधनबाट हुने प्रदूषणको अवस्था पत्ता लगाउन वातावरण विभागले पाँच महिनाअघि उपत्यकामा गुड्ने सवारीको प्रदूषण जाँच पनि गरेको थियो । डिजेल र पेट्रोलबाट चल्ने सवारीले बढी धूवाँ फाल्ने गरेको जाँचबाट देखिएको थियो । पेट्रोलबाट चल्ने सवारीमा कार्बन मोनोअक्साइडको मात्रा बढीमा ३ प्रतिशत मात्रै हुनुपर्छ ।

त्यस्तै डिजेलबाट चल्ने सवारीको धूवाँको घनत्व ६५ हुनुपर्छ । ‘परीक्षण गरेकामध्ये धेरैजसो शतप्रतिशतसम्म प्रदूषित पाइयो,’ वातावरण विज्ञ एवं वातावरण विभागका निरीक्षक पौडेलले भने । डिजेलबाट चल्ने ४ सय ३२ सवारी जाँच गर्दा एक सय एकवटा अर्थात् २३ प्रतिशत मात्रै मापदण्डभित्र धूवाँ फ्याँक्ने पाइएको उनले बताए । ७७ प्रतिशत सवारीले बढी धूवाँ फ्याँक्ने गरेको पाइएको थियो । त्यस्तै पेट्रोलबाट चल्ने ५ सय सवारी परीक्षण गर्दा ३ सय ३० वटा अर्थात् ६६ प्रतिशतको मात्रै कार्बन मोनोअक्साइडको मात्रा सही पाइएको थियो । ३४ प्रतिशत सवारीले कार्बन मोनोअक्साइडको मात्रा बढी फ्याँक्ने गरेको पाइएको उनले बताए ।

अब के गर्ने ?
वातावरणविद् भूषण तुलाधरले वातावरण सुधार गर्न योजना, नीति बनाए पनि कार्यान्वयन नहुँदा समस्या बढ्दै गएको बताए । ‘अहिलेसम्म बनेको योजना कार्यान्वयन गर्ने नियत नभएकै कारण हामी अस्वस्थ हावा लिइरहेका छौं,’ उनले भने, ‘सरकारले यो विषयलाई प्राथमिकता दिएकै छैन । सरकारले काम गरेको भन्दै प्रचार गरिरहेको हुन्छ । सुधार भएको हो/होइन त हरेक दिन जनताले सास फेर्दा नै देखिन्छ । सुधार भएको कसैले पत्याउँदैनन् ।’

सुधार गर्ने चाहना राख्ने हो भने धेरै लगानीको पनि आवश्यक नपर्ने उनले बताए । जति पनि खाल्डाखुल्डी छन्, पिच गर्ने, सवारीमा हरियो स्टिकरलाई प्रभावकारी बनाउने र हरियाली पार्क बढाउनेबित्तिकै सुधार हुने उनले बताए । विद्युतीय सवारीलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए ।

विभागकी महानिर्देशक आभा श्रेष्ठले काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन गर्न कार्ययोजना अन्तिम चरणमा पुगेको बताइन् ।

प्रकाशित : फाल्गुन २, २०७६ ०७:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बेलायती अर्थमन्त्री राजीनामा दिन बाध्य

एजेन्सी

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो मन्त्रिपरिषद्का एक सदस्यलाई राजीनामा दिन बाध्य बनाएका छन् । आफूले लिएको नीतिलाई सहयोग नगरेको भन्दै उनले अर्थमन्त्री साजिद जाविदलाई पद त्याग्न भनेका हुन् । 

जोनसन युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछि आफूले तय गरेका नीति लागू गर्न सरकारमाथि आफ्नो नियन्त्रणलाई थप मजबुत बनाउन खोजिरहेका छन् । आफ्नो योजनामा हस्तक्षेप नहोस् भन्ने उनले चाहेका थिए । त्यही योजनाअन्तर्गत केही अधिकारी फेरबदलको प्रयास गरेपछि अर्थमन्त्रीले असहमति व्यक्त गरेका थिए ।

आफ्नो योजनामा सहयोग नगरेको भन्दै जोनसनले मार्ग प्रशस्त गरिदिन अर्थमन्त्री जाविदलाई भने । प्रधानमन्त्रीको निर्देशनपछि जाविदले राजीनामा दिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । तत्काल सरकारका वरिष्ठ मन्त्रीलाई परिवर्तन नगर्ने र केहीलाई मात्रै परिवर्तन गर्ने तयारी प्रधानमन्त्री जोनसनको थियो ।

अर्थमन्त्री जाविदको ठाउँमा जोनसनले उनका सहायकमन्त्री रिसी सुनकलाई ल्याएका छन् । उनी जोनसन समर्थक मानिन्छन् । उनलाई प्रायः सरकारको नीति सञ्चारमाध्यमसम्म पुर्‍याउनअघि सार्ने गरिन्छ । कुनै बेला इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याकमा काम गरेका सुनकले भारतीय अर्बपतिकी छोरी विवाह गरेका छन् । कतिपय कन्जरभेटिभ्सले सुनकलाई ब्रेक्जिटपछिको बेलायतबारे जोनसनको एजेन्डामा सजिलै समर्थन गर्ने पात्रका रूपमा पनि लिएका छन् । पूर्व ब्रेक्जिटमन्त्री डेभिड जोन्सले सुनकलाई ‘धेरै तेजिला’ र प्रधानमन्त्रीको ‘उत्कृष्ट छनोट’ का रूपमा व्याख्या गरेका छन् ।

जोनसनले आफ्ना विश्वासपात्रलाई नयाँ अर्थमन्त्रीमा पाएका छन् । सुनक अर्थमन्त्री नियुक्त भएसँगै बेलायती मुद्राको मूल्यमा वृद्धि भएको छ । उनको नियुक्तिले अर्को महिना जारी हुने बेलायती बजेटका लागि उचित मार्ग तय गरेको लगानीकर्ताले बताएका छन् । जोनसनले ब्रेक्जिटपछि देशको संरचनामा व्यापक फेरबदल गर्न चाहेको बुझिएको छ । उनले क्षमतावान् नयाँ सदस्यलाई राज्यका विभिन्न निकायमा ल्याउन लागेको चर्चा पनि बेलायती राजनीतिमा चलेको छ ।

कतिपय आलोचकले भने अर्थमन्त्रीको राजीनामा सल्लाहकार फेरबदलको विषयसँगै आएको हुन सक्ने जनाएका छन् । ‘जोनसनले अर्थमन्त्रीलाई राजीनामा दिन बाध्य बनाएका छन्,’ जाविद निकट स्रोतले जनाएको छ । हालका सल्लाहकार डोमिनिक कमिंग्सलाई हटाएर प्रधानमन्त्रीको डाउनिङ स्ट्रिट कार्यालयका सल्लाहकार ल्याउन जोनसनले भनेको तर त्यसमा उनले समर्थन नगरेको स्रोतले उल्लेख गरेको छ– ‘कुनै पनि स्वाभिमानी मन्त्रीले त्यस्तो प्रस्ताव स्वीकार्न नसक्ने अर्थमन्त्रीले प्रधानमन्त्रीसँग भने ।’ जाविदले आफ्ना सल्लाहकारले धेरै राम्रो काम गरेकाले नहटाउने जोनसनसँग बताएका थिए ।

प्रकाशित : फाल्गुन २, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×