कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रो काल अरु हैन हामी नै हौं : दाहाल

रमेशकुमार पौडेल

चितवन — सत्तामा पुगेपछि सुविधा भोगी हुने र जनताबाट टाढिने रोगले नै कम्युनिस्टहरु संसारबाट हराउँदै गएको सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । यस्तो रोग नेपालमा नलागोस् भनेर चिन्तन गर्नुपर्ने बेला आएको उनले बताए । जनआन्दोलन र जनयुद्धका सहिदहरुको स्मृतिमा बिहीबार भरतपुरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दाहालले भने, ‘हाम्रो काल अरु हैन हामी नै हौं ।’

हाम्रो काल अरु हैन हामी नै हौं : दाहाल

कम्युनिस्ट आन्दोलन कहीँ कतै पनि प्रतिकृयावादीसँग संघर्ष हुँदा पराजित नभएको उनले बताए । ‘तर आफैभित्र विसंगति, विचलन, विकृति देखिए कसैले हामीलाई आक्रमण गर्नै पर्दैन । आफै सिद्धिने गरेका छौं,’ नेता दाहालले भने । उनले सोभियत संघ यसको उदाहरण भएको बताए । ‘दुई तीन करोड जनताको बलिदानबाट आएको सोभियत समाजवाद बोरिस यल्सिन लगायतले जाँड खाएको भरमा निर्णय गरेर भत्काए,’ दाहालले भने ।


कम्युनिस्टहरु आन्दोलन र युद्धका बेलामा जस्तोसुकै दुःख गर्न, त्याग गर्न, तपस्या गर्न मिहेनत गर्न वर्षौं रातभर भोकै बस्न तयार हुने गरेको बताए । ‘संघर्षका बेलामा जनतासँग जे छ त्यही खान्छौं । जनता जसरी बस्न पनि सक्छौं । तर सत्तामा पुगेपछि त्यसरी बस्न सक्दैनौं । यो कम्युनिस्टहरुलाई लाग्ने रोग हो । यो रोग नेपालमा नलागोस् भनेर जनयुद्धको सम्झना गर्दा समिक्षा गर्नु पर्दछ,’ दाहालले भने ।


नेता दाहालले तत्कालिन कांग्रेस सरकारले आफ्नै बहुमतको सरकार धान्न नसकेर संसद् विघटन गरेर त्यही मौकामा देशभर तत्कालिन एमाले र माओवादी कार्यकर्ता चुनी चुनी झुटा मुद्दा लगाउने, रगतमा हात चोबाउने कांग्रेस बनाउने अभियान चलाएपछि बाध्य भएर सशस्त्र विद्रोह गरेको बताए । १० वर्ष विद्रोह गरेपछि अब जे जे गरियो गरियो आँखा चिम्लेर अन्तिमसम्म जाउँ भनेको भए अहिलेको अवस्था नआउने उनले बताए ।


‘१० वर्ष विद्रोह गरेपछि अब विद्रोह गरियो गरियो जे जे पर्छ आँखा चिम्लेर लाष्टसम्म जाने हो भनेको भए हाम्रो नियति श्रीलंकाको तमिलको जस्तो र पेरुको गोन्जालोको जस्तो हुने खतरा थियो । हाम्रो नियति फिलिपिन्सको, टर्कीको, कोलम्बियाको जस्तो असफल आन्दोलनकोझैं हुने खतरा थियो,’ दाहालले भने । उनले आफूहरु बौद्ध भिक्षु जस्तो घन्टी बजाइरहने परम्परागत कम्युनिस्ट नभएको बताए ।


‘संकिर्ण र मनोगत ढंगले सोचेर एउटा समूहको मात्रै नेता बनिराख्न सकिनँ । अहिले पनि यस्ता केही साथीहरु छन् । बौद्ध भिक्षुले जस्तो हाम्रा पुराना साथीहरुले घन्टी बजाइरहनुभएको छ । त्यसले देशलाई केही दिएको छैन । जनता र उहाँलाई पनि केही दिएको छैन । तर घन्टी बजाउन छाड्नु भएको छैन । तर हामी त्यस्ता खाले कम्युनिस्ट परिएन,’ दाहालले भने ।

प्रकाशित : फाल्गुन १, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?