कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरस, शिक्षककाे तलब र सुरुङबारे बोले सांसद

काठमाडौँ — प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले कोरोना भाइरसको डर र बाल शिक्षकले तलब कम पाएको विषयमा प्रश्न उठाएका छन् ।

कोरोना भाइरस, शिक्षककाे तलब र सुरुङबारे बोले सांसद

कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाइरसका कारण संसार आक्रान्त भइरहेका बेला त्यहाँ रहेका नेपालीलाई फर्काउनेबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बारम्बार कुरा उठाउँदा पनि सुनुवाई नभएको बताउँदै उनले चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याई सुरक्षित बनाउन सरकारको फेरि ध्यानाकर्षण गराए । उनले भने, 'नेपाली नागरिकहरू चीनमा अत्यन्तै अत्तालिएर बसेको बेलामा बारम्बार सदनमा, सडकमा र विभिन्न संञ्चारमाध्यमबाट आफ्नो अभिव्यक्ति मार्फत तत्काल उनीहरूलाई नेपाल ल्याउने र सुरक्षित बनाउने कुराको आवाज अभिभावकहरूले उठाइरहेका छन् । सरकारको जवाफमा हामीसँग दुईवटा विमान छ भनेको सञ्चारमा सुन्यौं । पाइलटहरूलाई सोध्दा दुईवटा मात्रै होइन सबै प्लेन ग्राउण्डेड छ भनेको पनि जवाफ पाइयो । सरकारले प्लेन ग्राउण्डेड छ भनेको हो कि उड्‍नका लागि स्ट्यानबाइ छ भनेको हो स्पष्ट पार्नुपर्‍यो ।'

सासंद विमला विकले तत्कालिन सरकारले २०७१ सालको बाढी प्रभावित बर्दिया, बाँकेलगायतका बाढी प्रभावितलाई भुकम्प प्रभावित सरह राहत उपलब्ध गराउने भनेपनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद भवानीप्रसाद खापुङले मुलुकभरका १८ हजार सामुदायिक विद्यालयका प्रारम्भिक बालशिक्षामा कार्यरत शिक्षक र विद्यालयका २६ हजार कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराए । बालशिक्षामा कार्यरत शिक्षकले मासिक तलब ६ हजार र विद्यालयका कर्मचारीले मासिक ६ हजार ५ सय देखि ७ हजार ५ सय रहेको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक १३ हजार ५ सय उपलब्ध गराउने व्यवस्था मिलाउन उनले आग्रह गरे ।

नागढुंगा सुरुङ मार्ग निर्माण कार्यले प्रारम्भमा नै अवरोधको सामना गर्नुपरेको उल्लेख गर्दै धादिङ जिल्लातर्फको सुरुङ मार्गको मुखैमा देखिएको जग्गा मुआब्जाको समस्या तत्काल सम्बोधन गर्न सांसद भूमिप्रसाद त्रिपाठीले सरकारसँग माग गरे ।

भैरवबहादुर सिंहले बझाङको खोड्पे बजार जयपृथ्वी राजमार्गको अवस्था नाजुक भएकाले यात्राको समयमा स्थानीय बासीले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै सो राजमार्गको स्तरोन्नति गर्न सकारसँग माग गरेका थिए ।

प्रकाशित : माघ २८, २०७६ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?