कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गैरकानुनी विदेशी लगानी ११ अर्ब, सबैभन्दा बढी नेपाल भित्र्याउनेमा सुमार्गी

कृष्ण आचार्य

काठमाडौँ — गैरकानुनी रूपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानुनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर विदेशी लगानी (एफडीआई) ल्याइएको भेट्टाएको हो ।

गैरकानुनी विदेशी लगानी ११ अर्ब, सबैभन्दा बढी नेपाल भित्र्याउनेमा सुमार्गी

यो रकम हालको विनिमय दरअनुसार ११ अर्ब २३ करोड ९४ लाख १३ हजार ७ सय रुपैयाँ हुन आउँछ ।


‘खासमा हामीले उद्योग विभागबाट विदेशी लगानी स्वीकृति हुनुपूर्वको प्रत्यक्ष विदेशी लगानीको विवरण माग्दै सूचना जारी गरेका थियौं,’ अध्ययन कार्यमा संलग्न एक अधिकारीले भने, ‘तर, स्रोत नखुलेको र उद्योगमा विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको विकास भएपछि पनि गैरकानुनी रूपमा लगानी ल्याइएका निवेदन प्राप्त भएका छन् ।’


स्रोत नखुलेको त्यस्तो रकम सबैभन्दा बढी नेपालमा भित्र्याउनेमा व्यवसायी अजेयराज सुमार्गी रहेको ती अधिकारीले बताए । सुमार्गीले कानुनी प्रक्रिया पूरा नगरी ट्याक्स हेवन (कर र स्रोत खोजी नहुने) मुलुकबाट नेपालस्थित सरकारी निकायसँग अनुमति नलिई लगानी भित्र्याएको भन्दै अध्ययन समितिमा निवेदन पेस गरेका छन् । ‘करिब १० अर्ब रुपैयाँ उनकै हो,’ ती अधिकारीले भने, ‘बाँकी करिब एक अर्ब रुपैयाँ अन्य २६ कम्पनीको हो । उनीहरूले पनि कानुनी प्रक्रिया पूरा गरेको देखिँदैन ।’


विदेशी लगानी स्वीकृतिको कानुनी र संस्थागत संरचना बन्नुपूर्वको समयमा भित्रिएको लगानी संकलन गर्ने र त्यसको लेखांकन गर्ने मनसायले अध्ययन गर्न समितिलाई जिम्मा दिइएको थियो । गत कात्तिक १६ मा उद्योगमन्त्रीको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड बैठकले समितिलाई जिम्मा दिएको हो । तर सुमार्गीसहितका अन्य स्रोत नखुलेका निवेदन परेपछि यस विषयमा के गर्ने भन्ने बोर्डलाई अप्ठ्यारो परेको छ । ‘कानुन बनिसकेपछि त्यसमाथि स्रोत नखुलाई ल्याइएको लगानीका विषयमा बोर्डले निर्णय गर्दैन, किनकि त्यस्ता लगानी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ,’ ती अधिकारीले भने, ‘त्यसमध्येको सबैभन्दा ठूलो सुमार्गीको लगानीसमेत निवेदनका रूपमा आएपछि बोर्ड बैठकमा एजेन्डा बनाउने कि नबनाउने भन्नेबारे अन्योल भएको छ ।’


आगामी बोर्ड बैठकमा उक्त गैरकानुनी लगानीको संकलित विवरण पेस गर्ने तयारीमा उद्योग विभाग र राष्ट्र बैंकका अधिकारी छन् । कानुनी एवं संस्थागत संरचना बन्नुअघि भित्रिएको विदेशी लगानीको संख्या र रकम दुवै निकै कम छ । ‘उनीहरूले नेपालमा यति विदेशी लगानी गरेका छन् भन्ने लेखांकन भने गर्न सकिन्छ,’ ती अधिकारीले भने, ‘तर सुमार्गी र उनकै जस्तो प्रकृतिको लेखांकन गरे समस्या हुनेछ ।’


सम्पत्ति शुद्धीकरणको विस्तृत छानबिनमा परेका सुमार्गीले सबैभन्दा बढी रकम ट्याक्स हेवन मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्र्याएका हुन् । उनले ठूलो मात्रामा नेपालका कुनै पनि निकायबाट अनुमति नलिई एफडीआई भित्र्याएको विवरण यसअघि सार्वजनिक भएको थियो । सुमार्गी आफैंले पनि त्यो स्विकार्दै निवेदन दिएका हुन् ।


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अध्ययन समितिको प्रतिवेदनअनुसार सुमार्गीले साइप्रसको

एयरबेल सर्भिसेज प्रालिका नामबाट मात्र ९ पटक र अर्को टिपोलोजिया लिमिटेडबाट एक पटक बिनास्वीकृति स्रोत नखुलेको विदेशी लगानी भित्र्याएका हुन् । कतिसम्म भने उनी आफैंले विदेश गएर त्यहाँबाट विदेशी लगानी भन्दै नेपालस्थित आफ्नो र आफन्तका नाममा रकम जम्मा गरेका थिए ।


हालसम्म उनले ११ करोड ८० लाख १६ हजार ३७५ अमेरिकी डलर (१२ अर्ब ६ करोड ५९ लाख ९४ हजार २६६ रुपैयाँ) र ३ लाख ८० हजार ब्रिटिस पाउन्ड (५ करोड २५ लाख ९२ हजार रुपैयाँ) भित्र्याइसकेका छन् ।


सम्पत्ति शुद्धीकरणको अध्ययन प्रतिवेदनअनुसार सुमार्गीले ८ अर्ब ९५ करोड ११ लाख ९१ हजार ६६ रुपैयाँ कुनै पनि निकायको स्वीकृति नलिई र ३ अर्ब १६ करोड ७३ लाख ९५ हजार २०० रुपैयाँ स्वीकृति लिएर भित्र्याएका हुन् । तर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो दुवै रकम अवैध भन्ने प्रारम्भिक निष्कर्ष निकालिसकेको छ । बिनाअनुमति भित्र्याएको रकम नेपालको बैंकमा जम्मा भइसकेपछि उनले अन्य बैंकमा सार्ने, कर्जा लिने, अन्य संस्थाहरूमा राख्ने, परिवारका कम्पनीहरूमा रकमान्तर गर्ने र तोकिएभन्दा बाहेकको अर्को कम्पनीमा लगानी गरेको देखिएको छ । जब कि बिनाअनुमति लगानीकर्ताले यी काम गर्न पाउँदैनन् । त्यसो गर्न आवश्यक भए सरोकारवाला निकायसँग अनिवार्य स्वीकृति लिनुपर्छ । राष्ट्र बैंकलाई पनि जानकारी गराउनुपर्छ । सुमार्गीका यस्ता गतिविधि देखिएपछि राष्ट्र बैंकले खाता रोक्का गरिदिएको थियो । पछि सर्वोच्च अदालतको आदेशले उनका सबै रकम खुला गरिदिइसकेको छ ।


विभागले भने अनुसन्धान अधिकृतहरू नियुक्त गरी विदेशस्थित निकायबाट सूचना मगाई गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको दाबी गरेको छ । ‘अनुसन्धानको विषय भएकाले यसबारे अहिल्यै केही भन्न मिल्दैन,’ विभागका एक अधिकारीले भने, ‘सम्पत्ति शुद्धीकरण र वित्तीय जानकारी एकाइसँग सम्बन्धित विदेशी सञ्जालहरूमार्फत सूचना मगाएका छौं । विदेशबाट सूचना ल्याउन गाह्रो परेको छ । तर पनि केही महिनाभित्र सुमार्गीको मुद्दा विशेष अदालतमा दायर गर्ने गरी काम गरिरहेका छौं ।’


प्रारम्भिक विवरणअनुसार कर छली तथा अन्य गैरकानुनी रूपमा आर्जन गरेको रकम सुमार्गीले ट्याक्स हेवन मुलुक पुर्‍याउने र विदेशी लगानी भन्दै नेपाल ल्याएर सम्पत्ति शुद्धीकरण गरेको देखिन्छ । गत वर्ष खोज पत्रकारिता केन्द्र र अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘द इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्स’ (आईसीआईजे) सार्वजनिक गरेको विवरणअनुसार सुमार्गीको लगानीमा विदेशमा कम्पनी छ । सुमार्गीले नेपालमा रकम भित्र्याउन प्रयोग गरेको साइप्रसको एयरबेल सर्भिसेज लिमिटेड कम्पनीमा उनको समेत लगानी रहेको उक्त विवरणमा उल्लेख थियो ।

प्रकाशित : माघ २८, २०७६ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?