कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर कन्क्लेभमा दाहालले भने- एमसीसी अघि बढ्छ

‘विप्लवको चाहना अर्को प्रचण्ड बन्ने’
‘देश राम्ररी चले अब म प्रधानमन्त्री नभए पनि पुग्छ’

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता छिट्टै अघि बढ्ने बताएका छन् । पार्टी पंक्तिमा एमसीसीबारे स्पष्ट पार्नका लागि कार्यदल बनाइएको उल्लेख गर्दै उनले एमसीसी सम्झौता राष्ट्रको हितमा छ भन्ने सुनिश्चित गरेर अघि बढाइने बताए ।

कान्तिपुर कन्क्लेभमा दाहालले भने- एमसीसी अघि बढ्छ

‘म प्रधानमन्त्री भएकै बेला एमसीसीअन्तर्गत ५५ अर्ब आउने भयो भन्दा खुसी भएको थिएँ, एमसीसी सम्झौता तत्कालै अनुमोदन गरेको भए मुलुकमा यो विवाद हुने पनि थिएन,’ राजधानीमा आयोजित कान्तिपुर कन्क्लेभअन्तर्गत शनिबार ‘प्रचण्डसँग परिसंवाद’ सत्रका सञ्चालक कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माको जिज्ञासामा दाहालले भने, ‘समयमै अनुमोदन नभएर विभिन्न कोणबाट विवाद हुँदा राम्रोसँग बुझेर मात्रै अघि बढाउन भनिएको हो ।’


अहिले पनि धेरैको मत एमसीसी सम्झौता अनुमोदन नगरौं भन्ने नरहेको अध्यक्ष दाहालको भनाइ थियो । उनले इन्डो–प्यासिफिक रणनीति (आईपीएस) सँग एमसीसीको सम्बन्ध, भारतसँग सहमति लिनुपर्नेलगायत सम्झौताका प्रावधानबारे प्रस्ट हुनका लागि अध्ययन गर्न लागिएको जनाए ।


अध्यक्ष दाहालले एमसीसीको सन्दर्भलाई लिएर आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै अप्ठ्यारोमा नपारेको स्पष्टीकरण पनि दिए । ‘आईपीएस भने आफ्ना विरोधीविरुद्ध ल्याएको हो भन्ने कुरा अमेरिकाले लुकाएको छैन,’ उनले भने, ‘यसमा चीन पनि पर्छ र यो चीनलाई घेर्ने रणनीति हो भनेर मैले भनेकै हो ।’ सरकारले कूटनीतिक भाषा प्रयोग गर्ने र आफू पार्टी अध्यक्षका हैसियतमा बोल्ने भएकाले कतिपय विषयको बुझाइ फरक पर्ने उनको भनाइ थियो ।


दाहालले देश राम्ररी चले अब आफू प्रधानमन्त्री नभए पनि पुग्ने बताए । आफूले दुई पटक सरकारको नेतृत्व गरिसकेको उल्लेख गर्दै अब प्रधानमन्त्री बन्नैपर्छ भन्ने लक्ष्य नराखेको दाबी गरे ।


अध्यक्ष दाहालले सरकारको दुईवर्षे कार्यकालप्रति भने पूर्ण सन्तुष्टि जनाएनन् । स्पष्ट बहुमतसहित चुनाव जितेर नेकपा र उसले बनाएको सरकारसँग नागरिक सन्तुष्ट नभएको उनको भनाइ थियो । उनले अब पार्टी र सरकारले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘म त डेढ वर्षमा देशभरि घुम्ने अध्यक्षजस्तो पनि भएँ, पार्टी कार्यकर्ता र जनतासँग भेटघाट गरें,’ उनले भने, ‘सरकारले समृद्धिको यात्रामा जाने प्रयास त गरेको छ । तर जनताले जति तीव्र गतिमा विकास र राहत खोजेका थिए, त्यो नपाएझैं भएको छ ।’ उनले यो सरकार विशेष राजनीतिक घटनाक्रमपछि छिमेकीसँग बिग्रेको सम्बन्ध सुधार गर्ने लक्ष्यसहित बनेकाले पनि नागरिकको अपेक्षा धेरै रहेको बताए ।


दाहालले देशमा स्थायित्व कायम गर्ने अहिलेको मुख्य दायित्व भएको जनाउँदै बाँकी तीन वर्ष पनि पार्टीका अर्का अध्यक्ष ओलीले नै सरकार चलाउने बताए । पार्टी एकता गर्दा आलोपालो सरकार चलाउने सहमतिमा दुवै अध्यक्षले हस्ताक्षर गरेको भए पनि पछि राजनीतिक स्थायित्वकै लागि एउटा अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टी चलाउने सहमति गरेको उनको भनाइ थियो ।


उनले वाम गठबन्धनबाट प्रतिनिधिसभाको चुनाव लड्दा नै भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई प्रस्तुत गरेको स्मरण गर्दै भने, ‘चुनावको मत घोषणा भइसकेपछि विभिन्न दलबाट पाँचै वर्ष प्रधानमन्त्री बनाउने हैसियतसहितको प्रस्ताव आएकै हो । तर म मानिनँ, राजनीतिक सिद्धान्तबाट पछि हटिनँ ।’


‘अहिले सरकार पार्टीले चलाएको कि पार्टी सरकारले चलाएको ?’ भन्ने प्रश्न राख्दा अध्यक्ष दाहालले भने, ‘यो पार्टी पद्धति हो र यो पद्धतिमा पार्टीले सरकार चलाउँछ ।’ आफ्नो नेतृत्वमा भएको सशस्त्र युद्धको स्मरण गर्दै उनले थपे, ‘पहिले पनि पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी चलाउने भन्ने बहस भएको थियो । त्यो बेला मैले पार्टीले बन्दुक चलाउने हो भनेको थिएँ । यो सैद्धान्तिक विषय हो, विवेकले शासनको नेतृत्व गर्नुपर्छ ।’


“विप्लवको चाहना अर्को प्रचण्ड बन्ने”

अध्यक्ष दाहालले माओवादीको ‘जनयुद्ध’ नभएको भए मुलुकमा यति छिटो गणतन्त्र नआउने कुरा दोहार्‍याए । विगतमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नस्वीकार्नु र प्रधानसेनापति हटाउनुलाई आफ्नो गल्ती ठानेका उनले ‘जनयुद्ध’ लाई भने गल्ती थियो भनेर जीवनपर्यन्त कल्पना पनि गर्न नसक्ने बताए ।


अध्यक्ष दाहालले नेत्रविक्रम चन्द नेतृत्वको समूहको आन्दोलनप्रति पनि टिप्पणी गरे । ‘विप्लव (चन्द) ले अहिले गरेको २०५२ सालको नक्कल हो । त्यो नक्कल गरेर कहीं पुगिँदैन । यो २०७६ साल हो र अहिले गणतन्त्र छ,’ उनले भने । तत्कालीन राजा महेन्द्र र वीरेन्द्रको नक्कल गर्दा ज्ञानेन्द्र शाह ढलेको उदाहरण दिँदै उनले भने, ‘विप्लवको चाहना अर्को प्रचण्ड बन्ने हो । नक्कल गरेर सफल हुन सकिँदैन ।’


अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए । गत महिना ‘युद्धका बेला मारिएका ५ हजारको जिम्मा लिन्छु’ भनेकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘त्यो मञ्चमा सबैले दाहालले १७ हजार मारेको भन्ने कुरा गरेपछि ५ हजारको मात्रै जिम्मा लिन्छु भनेको थिएँ । त्यो मेरो सोझोपनको अभिव्यक्ति हो ।’


संवादका सिलसिलामा अध्यक्ष दाहालले केही अनौपचारिक कुरा पनि गरे । आफूलाई परिस्थितिअनुसार ढाल्न सक्ने व्यक्तिका रूपमा व्याख्या गर्दै उनले भने, ‘जनताको भावना र मनोविज्ञानअनुसार म आफूलाई ढाल्छु, कतिपयले त्यसलाई गतिशील र कतिपयले अस्थिर भनेर बुझेका छन् ।’ उनले आफू झूटो बोल्न नसक्ने दाबीसमेत गरे । ‘म सानो छँदा बच्चाबच्चा बीचमा झगडा हुँदा सत्य पत्ता लगाउन यसलाई सोध्नुपर्छ भन्थे,’ उनले भने, ‘मेरो मनमा केही कुरा छ भने कुनै न कुनै रूपमा प्रकट भइहाल्छ ।’


‘राजनीति गर्दै जाँदा कुन विन्दुमा माओवादी विसर्जन गरौं भन्ने लाग्यो ?’ भन्ने प्रश्नमा अध्यक्ष दाहालको जवाफ थियो, ‘हामीले विभाजन र विसर्जनलाई निषेध गरेर पार्टी एकता गरेका हौं । मैले मसाल विघटन गरें, एकताकेन्द्र मसाल बनाएँ, त्यो विघटन गरेर माओवादी बनाएँ र एकता गर्दा माओवादी र एमाले दुवै विघटन गरिदिएँ ।’ उनले नेकपालाई भने विघटन नगर्ने बताए ।


अध्यक्ष दाहालले अर्का अध्यक्ष ओली र आफू औसतभन्दा माथि भएको दाबी गरे । ‘यस्ता नेताहरूको संयोजनले देश कि गतिमा कि एकदमै दुर्गतिमा जान्छ,’ उनले भने, ‘तर हाम्रो फ्युजनले गति र प्रगति हुन्छ ।’


५५ मिनेट लामो परिसंवादमा गत मंगलबार बालुवाटारमा भएको सारंगी साँझको विषय पनि उठेको थियो । त्यो दिन आफू कार्यव्यस्तताका कारण पोखरा जानुपरेको जानकारी दिँदै उनले भने, ‘म काठमाडौंमै भएको भए मादल वा सारंगी बजाउँथें ।’ फुर्सदको समयमा अहिले आफूले पुस्तकहरू पढ्ने गरेको र भारतीय आध्यात्मिक नेता सद्गुरुको प्रवचन सुन्ने गरेको पनि दाहालले सुनाए । ‘जनतासँग भोट माग्नकै लागि धार्मिक कार्यक्रममा समेत जान्छु,’ उनले भने, ‘तर म आध्यात्मिक भने होइन ।’


प्रकाशित : माघ २६, २०७६ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?