२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्रदेश सीमांकन परिवर्तन हुन सक्छ : दाहाल

कृष्ण थापा

नुवाकाेट — पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेशको सीमांकनमा परिवर्तन हुनसक्ने बताएका छन् । 

नुवाकोटको  गाउँपालिकाको आयोजनामा शनिबारदेखि सुरु भएको प्रथम पञ्‍चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिता उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नं ५ र प्रदेश नं २ का केही जिल्लाका जनताको मागअनुसार राजधानीको नाम र केन्द्रमा देखिएको समस्याका कारण प्रदेशको सीमांकन फेरबदल हुनसक्ने संकेत गरे । 

प्रदेश सीमांकन परिवर्तन हुन सक्छ : दाहाल

'प्रदेश नं ५ का बाँके र बर्दियाका जनताले राजधानी र केन्द्र आफूहरुको मागअनुसार नभए प्रदेश नं ५ मा बस्न नचाहेको बताउँदै आएका छन्' उनले भने, 'प्रदेश नं २ को बारा, पर्सा र रौतहटका जनताको पनि फरक धारणा आएकाले अहिलेको प्रदेश संरचना परिवर्तन हुनसक्ने देखिएको छ ।'


वाग्मती प्रदेशको नाम र केन्द्र चयनमा प्रदेशसभाका सदस्यको चाहनाअनुसार पार्टीको केन्द्रीय कमिटीले सहजीकरण गरेर समस्या समाधानमा सहयोग पुर्‍याएको उनको भनाइ छ । वाग्मती प्रदेशको नाम र केन्द्र पार्टीको केन्द्रीय तहबाट भएको चयनले पायक नपर्ने स्थान राखेको भनेर उठेका जिज्ञासाप्रति इङ्गित गर्दै पूर्वप्रधानमन्त्री दाहालले केन्द्रको राजधानी काठमाडौँबाट समेत अन्यत्र सार्न यसअघि विभिन्न समिति र विज्ञको सुझाव आएको स्मरण गराउँदै प्रदेशको भूगोल र सीमांकनका सम्बन्धमा नजिक र टाढा एवं नाम यो वा त्यो भयो भनेर नअल्झिन आग्रह गरे ।

'आफूले सपनाको रुपमा देखेको ल्हासा–लुम्बिनी रेलमार्ग निर्माण, छहरे–टोखा सुरुङमार्ग, मध्यपहाडी सडकमार्गलगायतका संरचनाका निर्माणले भूगोलको दूरी सीमाको आधारमा नजिक र टाढाको रुपमा लिनु पर्दैन' उनले भने, 'मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन सकारात्मक सोचका साथ आ–आफ्नो पेशामा आत्मनिर्भर बन्नुपर्छ, परिवर्तन र विकास टाढा छैन ।'


कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेश सांसद बद्री मैनाली, जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ लगायतले जिल्लाको विकास र समृद्धिमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।


आजदेखि सुरु भएको प्रथम ‘चेयरमेन कप’ भलिबल प्रतियोगितामा जिल्लामा रहेका सबै स्थानीय तहबाट एक–एक समूह गरेर १२ समूहको सहभागिता रहेको आयोजक गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । उनको अनुसार प्रतियोगिता ‘लिग’ र ‘नकआउट’ चरणमा प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई रु एक लाख, दोस्रो हुने समूहलाई रु ७५ हजार र तेस्रो हुनेलाई रु ५० हजार पुरस्कार तोकिएको छ ।


यसैबीच गाउँपालिकाले १३औँ सागमा नेपाललाई स्वर्ण पदक जिताउन सफल भएका गाउँपालिका–४ थप्रेक निवासी अनु अधिकारीलाई नगद ५० हजार रुपैयाँसहित नेकपाको अध्यक्ष दाहालमार्फत सम्मान गरिएको छ । यस्तै, रजत पदक विजेता अनिता अधिकारी (भण्डारी) लाई नगद ३० हजार रुपैयाँले सम्मान गरिएको छ ।


नुवाकोट जिल्लामा जन्मेर १३औँ सागमा स्वर्ण पदक विजेता अभिषेक रिजाल, लक्ष्मी मगर र बुद्धिबहादुर तामाङलाई नगद १५ हजारर तथा रजत र कास्यपदक विजेता मीना ग्लान, कृष्णबहादुर तामाङ, सञ्जित डंगोल, अस्मिता राई, अञ्जु तामाङ, रेजिन रिमाल र राजीव पुडासैनीलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।


प्रकाशित : माघ २५, २०७६ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?