कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'नेपाल फर्केर के पाइन्छ ?'

काठमाडौँ — 'फर्केर के पाइन्छ ? वा नेपाल फर्केर मैले के गर्न सक्छु ?', विदेशमा रहेका धेरै नेपालीले बारम्बार सोध्ने यही प्रश्‍नबारे कान्तिपुर कनक्लेभको दोस्रो दिनको 'कनेक्टिङ ग्‍लोबल नेपालिज' सत्रमा चर्चा भयो ।

'नेपाल फर्केर के पाइन्छ ?'

यो चर्चामा थिए भारतीय मूलका नेपाली लेखक प्रज्ज्वल पराजुली, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मल्टिनेसनल कम्पनी ग्रोथ फर नलेज(जीएफके) का सागर तामाङ । सत्रलाई सहजीकरण गरेकी थिइन् । क्याटालिस्ट टेक्‍नोलोजीकी सीईओ प्रतिभा पाण्डेयले ।

पूर्व मिस नेपाल अनुष्का श्रेष्ठले दिनानुदिन विदेश जानेको संख्या बढिरहेको अवस्थामा नेपाली डायस्पोरालाई एउटै डोरीमा बाँध्‍नुको विकल्प नभएको बताइन् । उनले आफू मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुँदा विश्‍वका विभिन्‍न ठाउँमा छरिएर रहेका नेपालीहरुको ठूलो समर्थन पाएको बताइन् । त्यतिबेला मात्र उनले राष्ट्रिय पहिचानको महत्व बुझेको उल्लेख गरिन् ।

त्यस्तै गुर्खाज डटर र द ल्याण्ड ह्‍वेर आई फ्ली जस्ता नेपाली डायस्पोराका बारेमा पुस्तक लेखेका प्रज्ज्‍वल पराजुलीले विश्‍वका जुनसुकै देशमा रहे पनि नेपालीहरु एकताबद्ध रहेको बताए । तर पनि विभिन्‍न देशमा रहेका नेपालीले एक अर्काका बारेमा धेरै बुझ्‍न र थाहा पाउन बाँकी रहेको पराजुलीले बताए । विभिन्‍न गल्ती गर्ने र पहाडी बुद्धि र गोर्खे बुद्धि भन्‍ने प्रवृत्तिबाट माथि उठ्नु पर्ने आवश्यकता रहेको पनि उनले बताए ।

त्यस्तै जीएफकेका सागर तामाङले जीवन भनेको चुनौतीहरुलाई चिर्दै अगाडि बढ्नुपर्ने बताए । नयाँ गन्तव्यमा पुग्‍नका लागि कम्फोर्ट जोनभन्दा बाहिर आएर आफूले गर्न चाहेको काम गर्न उनले युवा पुस्तालाई आग्रह गरे । विश्‍व बजारसँग प्रतिस्पर्धा गर्न चुनौतीहरुको सामना गर्नै पर्ने उनले बताए । अध्ययनमा मात्रै सीमित नगरेर अनुभव बटुल्दै विश्‍वबजारमा आफूलाई प्रस्तुत गर्न पनि उनले युवा पुस्तालाई आग्रह गरे । नेपाललाई विश्‍व बजारमा चिनाउने उत्पादनको आवश्‍यकता रहेको पनि उनले चर्चा गरे ।

क्याटालिस्ट टेक्‍नोलोजीकी सीईओ प्रतिभा पाण्डेयले विश्‍वव्यापीकरणका कारण एक ठाउँमा बस्‍न नसक्‍ने अवस्था भए पनि एक अर्कासँग जोडिएर अघि बढ्नुपर्ने बताइन् ।

त्यस्तै पूर्व मिस नेपाल अनुष्काले विश्‍वका विभिन्‍न ठाउँमा व्यवसाय चलाइरहेको र आफूले उनीहरुसँग सहकार्य गरिरहेको बताइन् ।

यस सत्रका वक्ताहरुले विदेशमा रहेका धेरै नेपालीहरु नेपाल फर्केर के गर्न सकिन्छ र भन्‍ने सोचमा रहेको चर्चा गरे । कतिपयले रिटायर्ड भएपछि नेपाल जाने हो भन्‍ने गरेको पनि उनीहरुले बताए । विश्‍वका जुनसुकै कुनामा भए सहकार्य गर्न सके नेपालले विभिन्‍न क्षेत्रमा फड्को मार्नेमा सबै वक्ताको एकमत थियो ।

शुक्रबारबाट सुरु भएको कान्तिपुर कनक्लेभको दोस्रो संस्करण शनिबार सकिँदैछ । कनक्लेभमा आजै 'नेपालमा मिटु अभियान किन अघि बढेन' भन्ने विषयमा नेतृ मानुषी यमि भट्टराई, नाट्यकर्मी आकांक्षा कार्की तथा अधिवक्ता दुर्गा कार्कीले छलफल गर्दैछन्। राजनीतिक र स्वतन्त्रताको सवालमा नेपाल अघि बढिरहेको छ कि पछि जान लागेको छ भन्ने विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कांग्रेस नेता गगन थापा तथा मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीबीच छलफल हुनेछ।

'बदलिँदो भू-राजनीतिमा नेपाल' शीर्षकमा समाजशास्त्री चैतन्य मिश्र, भारतीय प्राध्यापक महेन्द्र पी लामा र पूर्वराजदूत महेश मास्केबीच छलफल हुनेछ।

साँझको अन्तिम सत्रमा भने कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग परिसंवाद गर्नेछन्।

कनक्लेभको इकान्तिपुरले फेसबुक र युट्युबमार्फत् प्रत्यक्ष प्रसारण गरिरहेको छ।

प्रकाशित : माघ २५, २०७६ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?