बीपी प्रतिष्ठानमा कोरोना भाइरसका शंकास्पद बिरामी

प्रदीप मेन्याङबो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक पुरुषलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा काठमाडाैं रिफर गरेको छ । उच्च ज्वरो आएपछि उपचारका लागि आएका धरान–११ बस्ने ३८ वर्षीय मोहनकुमार लिम्बुलाई प्रतिष्ठानले बिहीबार राति इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रिफर गरेको हो ।

लिम्बु दक्षिण कोरियाबाट ६ दिन अघिमात्र नेपाल फर्केका थिए। प्रतिष्ठानको आकस्मिक विभागका चिकित्सक प्रा डा ज्ञानेन्द्र मल्लले घाँटी दुख्‍ने र उच्च ज्वरो नरोकिएपछि लिम्बु बिहीबार अपरान्ह ३ बजे प्रतिष्ठानकोआकस्मिक कक्षमा उपचारका लागि पुगेका थिए।


इमर्जेन्सी विभागले तत्कालै मेडिसिन विभागलाई जानकारी गराएको डा. मल्लले बताए। त्यसपछि मेडिसिन विभागका चिकित्सकले कोरोना भाइरसको संक्रमणको आशंका गरेकाले इपिडिमियोलोजी महाशाखा टेकुमा रिफर गरेको मल्लले बताए।


कोरोना भाइरसको परिक्षण गर्ने प्रविधि नभएकाले टेकु रिफर गरिएको प्रतिष्ठानले जनाएको छ।


चिकित्सकहरुले लिम्बुको ज्वरो मापन गर्दा १०२ देखि १०३ सम्म रहेको थियो। प्रतिष्ठानमा कोरोना भाइरसका शंकास्पद विरामी आएको बारेमा स्वास्थ्य मन्त्रालयमा पनि जानकारी दिइसकेको डा मल्लले बताए।


प्रतिष्ठानले कोरोना भाइरस फैलन नदिन र सतर्कता अपनाउनकालागि कोरोना भाइरस र्‍यापिड रेक्पोन्स टिम गठन गरेको छ। अस्पताल निर्देशक प्राडा गौरिशंकर साहको संयोजकत्वमा १२ सदस्यीय टिम गठन गरिएको छ। प्रकाशित : माघ १७, २०७६ १४:४३

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सूर्य नेपाल इस्टर्न ओपन : बलभद्र च्याम्पियन

प्रदीप मेन्याङबो

सुनसरी — धरानस्थित निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्समा बिहीबार सूर्य नेपाल इस्टर्न ओपनको उपाधि प्रो बलभद्र राईले जितेका छन् । यो सूर्य नेपाल गल्फ टुर २०१९–२० अन्तर्गतको दोस्रो प्रतियोगिता हो । धरानका स्थानीय व्यावसायिक गल्फर बलभद्रले नेपालका नम्बर एक प्रो शिवराम श्रेष्ठलाई ४ स्ट्रोकले पछाडि उपाधि जितेका हुन् ।

उनले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । बलभद्रको यो दोस्रो गल्फ उपाधि हो । उनले यसअघि २००८–०९ को वेस्टर्न ओपन उपाधि जितेका थिए । बलभद्रले अन्तिम दिन ३ अन्डर ६७ स्कोर जोड्दै समग्रमा ९ अन्डर २ सय १ को स्कोर बनाएर उपाधिमाथि कब्जा जमाए ।

निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्समा उनले खेलको पहिलो दिन १ अन्डर ६९, दोस्रो दिन ५ अन्डर ६५, तेस्रो दिन फ्रन्टनाइनको चौथो होलमा बोगीसहित १ ओभर ३७ खेलेका थिए । उनले ११, १६, १७ र १८ औं होलमा उत्कृष्ट पटिङसहित बर्डी गर्दै ब्याकनाइनमा ४ बर्डीसहित ४ अन्डर ३० स्कोर बनाए ।

शिवरामले ६ अन्डर ६४ स्कोर गर्दै दोस्रो स्थानमा चित्त बुझाए । पहिलो र दोस्रो दिन औसत प्रदर्शन गरेका शिवरामले फ्रन्टनाइनमा २ अन्डर ३४ तथा ब्याकनाइनमा ४ अन्डर ३० स्कोरमात्र जोडे । उपविजेतामा सीमित शिवरामले ७५ हजार रुपैयाँ पाए ।

स्थानीय गल्फर नीरज तामाङ एमेच्योरतर्फ च्याम्पियन बने । उनले अन्तिम दिन १ ओभर ७१ स्कोर गर्दै समग्रमा ४ अन्डर २ सय ६ स्कोरसहित उपाधि हात पारे । एमेच्योरतर्फ अर्का स्थानीय गल्फर शुक्रराज राई १३ ओभर २ सय २३ स्कोर जोड्दै दोस्रो भए भने १५ ओभर २ सय २५ स्कोर जोडेका सुन्दर राई तेस्रो भए ।

बिहीबार अपेक्षा विपरीत खराब प्रदर्शन गर्दै ४ ओभर ७४ स्कोरमात्र जोडेका प्रोटर्न गल्फर शुक्रबहादुर तेस्रो स्थानमा रहे । उनले ५५ हजार रुपैयाँ हात पारे । धनबहादुर थापा (२१४) ले चौथो स्थान हासिल गरे । उनले ४५ हजार थापे । शिवकुमार माझी र सूर्यप्रसाद शर्माले ६ ओभर २ सय १६ स्कोरसहित संयुक्त पाँचौं स्थान ओगट्दै जनही ३५ हजार ५ सय रुपैयाँमा चित्त बुझाए । सातौं स्थानमा आएका दिनेश प्रजापतिले ३१ हजार तथा संयुक्त आठौं स्थानका जयराम श्रेष्ठ र रवि खड्काले २८ हजार रुपैयाँ पाए । सन्जय लामा र दीपक मगर संयुक्त दसौं स्थानमा रहेर २३ हजार २ सय ५० रुपैयाँ जित्न सफल भए ।

विजयी खेलाडीलाई सूर्य नेपालका मार्केटिङ म्यानेजर बालकिशन गुरुङ, धरान उपमहानगरका प्रमुख तथा नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राईलगायतले खेलाडीलाई पुरस्कृत गरे ।

प्रकाशित : माघ १०, २०७६ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×