मालपोत कार्यालय चावहिलका कार्यालय सहायक विरुद्ध ९ करोडको भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्‍नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बस्‍नेतविरुद्ध करिब ९ करोड रुपैंया बिगो माग दाबी गरी भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

ZenTravel

२०४५ साल कार्तिक १९ गते मालपोत विभाग काठमाडौंमा जागिर सुरु गरेका बस्‍नेत त्यसयता अधिकांश समय काठमाडौंका विभिन्न मालपोत कार्यलयमा कार्यरत थिए । जागिरे अवधिमा ७४ लाख ७३ हजार रुपैंया वैध आर्जन गरेका त्यसबाहेकको रकम गैरकानूनी आर्जन गरेको अख्तियारको दाबी छ ।

गतवर्ष पुसमा मालपोत कार्यालयमा नक्कली रसिद काटी राजस्व चुहावट गरेको आरोपमा बस्‍नेतमाथि मुद्दा चलेको थियो । त्यसक्रममा नै उनीबाट ११ लाख रुपैयाँ समेत बरामद भएको थियो ।

उनले आफूले आर्जन गरेको सम्पत्ति भतिजी कृपा बस्‍नेतको नामबाट अन्यत्र लगानी गरेको खुलेको छ । अख्तियारले उनीसहित श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेतविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

प्रकाशित : माघ १६, २०७६ १६:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सहिद बहादुर सदाको बहादुरी बिर्सेको मधेस

भोला पासवान

काठमाडौँ — बारा र रौतहटमा सयौं वर्षदेखि जोताहामाथि उत्पीडन हुँदै आएको छ । त्यसका विरुद्ध समयसमयमा किसानहरूले विद्रोह पनि गर्दै आएका छन् । २००९ सालमा यस क्षेत्रमा किसान विद्रोह भएको थियो । जोतहा किसानहरुले आफूमाथि तराई र पहाडका जमिनदारले गरेको अन्यायका विरुद्ध यससमय आसपासमा विद्रोह भएको थियो । 

त्यसबेला किसानहरुले बाँच्नका लागि भखारी फोडे, जाली तमसुक च्यात्ने काम गरे। आन्दोलनको स्वरुप अनुरुप यस्तो गतिविधि भएको थियो। यस आन्दोलन वि.स २०११ सम्म आइपुग्दा सिरहासम्म फैलिसकेको थियो।
नारा थियो : ‘रोजी, रोटी, कपडा दो, नही तो गद्दी छोड दो’, ‘जसको जोत उसको पोत’।

यस आन्दोलनमा मनमोहन अधिकारी लगायतका कम्युनिस्ट नेताहरुको पनि समर्थन र सहभागिता थियो। नेपालको कम्युनिस्ट आन्दोलनको आधार र जग यही मधेसका क्षेत्र र किसान आन्दोलन पनि हाे।

त्यस समयमा अन्न र जमिन प्राय किसानका हुँदैन थिए। जमिनदारकोमा काम गरेमात्र अन्न पाइन्थ्यो। अन्न नै नभएपछि २०११ साल सिराहाको कर्जन्हा स्थित सूदखोर, जमीनदार विश्वनाथ साहको घरमा करिब १ सय ५० भन्दा बढी किसान अन्न माग्न गएका थिए। जमिनदार साहले आज हुँदैन भोली आएर धान लिएर जान उर्दी दिए। दोस्रो दिन बहादुर सदासँगै वीरध्वज मगर लगायत गाउँका करिब २ सयभन्दा बढी किसानहरु विश्वनाथ साहको घरमा गएका थिए। अघिल्लो दिन नै जमिनदारले धान दिने प्रतिवद्धता गरेकाले पहिलो दिनभन्दा दोस्रो दिन किसानहरुको बढी सहभागिता थियो।

विश्वनाथ साहको घर अगाडि आँपको बगैंचा थियो। आँपको बगैंचा हुँदै जब किसानहरु कम्पाउण्ड भित्र प्रवेश गरे। त्यहाँ जमिनदारले पुरै ब्यारेक (प्रहरीहरुको एक टोली) ल्याएर राखेका थिए। जमिन्दारले गरेको वाचा विपरीत प्रहरी ल्याएको देखेर किसानहरु आक्रोसित भएका थिए। किसानहरु लामवद्ध थिए।

९३ वर्षिया सुनमाया थापाले ६ वर्षअघि आन्दोलनबारे खोजीनीति गर्नेक्रममा यो पंक्तिकारलाई उक्त घटना सुनाएकी थिइन् :

सबभन्दा अगाडि म त्यसपछि वीरध्वज र त्यसपछि उभिएका थिए बहादुर सदा। प्रहरीले किसानहरुलाई फर्केर जान निर्देशन दियो। तर किसानहरुले धान नलिकन नजाने बताए। प्रहरी र आन्दोलकारी बीच भनाभन हुनथाल्यो। प्रहरी बन्दुक तानेर बसेको थिए। पछाडि रहेका बहादूर सदा एकाएक अगाडि आएर एक प्रहरीको बन्दुक खोस्ने कोसिस गर्न थाले। प्रहरीको बन्दुक खोस्न लागेपछि अर्को प्रहरीले बहादुर सदालाई बन्दुकले हान्यो। ऊ मेरो काखमै लड्यो। बन्दुक नजिकबाटै हानेकोले बहादुर सदाको पटको आन्द्राबाहिर आइसकेको थियो। तर ऊ तत्काल मरेन। हामी करिब १० बजेतिर गएका थियौं। गोलीकाण्ड १० : ३० बजेतिर भएको थियो। उसको ज्यान भने दिउँसो ४ बजेतिर मात्रै गयो।

बहादुरलाई गोली हानिसकेपछि प्रहरी टोली पनि जनताले विद्रोह गर्छ कि भनेर ब्यारेक फिर्ता भएको थियो। केही आन्दोलनकारी पुरुषहरु पनि डरले भागेका थिए। तर करिब सयभन्दा बढी महिलाहरु घटनास्थलमै थियौं।

म, वीरध्वज र अरु केही साथी पनि बहादुरलाई कुरेर बसकेको थियौं। बहादुर मेरो काखमै सुतिरहेको थियो। रगत बगिरहेको थियो। गोली लागिसकेपछि पनि बहादुर प्रहरीलाई भिनरहेका थिए, ‘म मरेपनि मेरो धेरै साथीहरु जिउँदै छन्, तिनीहरुले तिमीहरुलाई छोड्ने छैनन्।’

बहादुर गोली लागेपछिको करिब पाँच घण्टा मेरै काखमा थियो। लगभग ४ बजेतिर उसको प्राण गयो। त्यक्तिखेर न त यातायातको सुविधा थियो। न त अस्पताल नै थियो नजिकमा। त्यसैले हामीले बहादुरलाई बचाउन सकेनौं।

प्रहरीहरु गइसकेपछि पुनः किसानहरु भेला भए। जमिन्दार साहको भखारी लुटेर वितरण गरियो। गरिब किसानहरुसँग बनाएर राखेको तमसुक कब्जामा लिएर जलाइयो। पटवारीलाई पाता कसेर झण्डै तीन किलोमिटर पूर्व लगिएको थियो। उसलाई किसानहरुले कुटपिट पनि गरे। पछि बहादुर सदाका जहानलाई तीन विगहा खेत दिने सर्तमा उसलाई कागज गराएर छाडियो।

बहादुर सदाको शवलाई कमला नदीमा लगेर दाहसंस्कार गरिएको थियो। सहमति अनुसार जमिन पायो कि पाएन मलाई थाह छैन।

यस्ता घटनाहरु बारेमा अध्ययन अन्वेषण हुन बाँकी छ। मधेसमा सदापनि सहिद हुनसक्छ भन्ने कुरातर्फ कसैको ध्यान गएको देखिन्न। थाहा हुनेहरुले लेखेको भए सायद इतिहासका यी महत्वपूर्ण खण्ड यति दिनसम्म ओझेलमा पर्ने थिएन। मधेसका सहिदबारे खासै चासो दिएको पाइँदैन।

मधेशवादीहरुले आफ्नो राजनीतिका लागि मधेस आन्दोलनका सहिदहरुलाई मात्र अगाडि सार्ने गरेका छन्। मधेसका सहिद कृष्णवीर कामी र बहादुर सदा पनि हुन्। सिरहा जिल्लाकाे साबिककाे बड्डामाल गाविसका बहादुर सदा वास्तवमा कति बाहदुर थिए भन्ने कुरा उनले आफनो युवा अवस्था नै खेलेको अविस्मरणीय तथा तेजस्वी भूमिकाबाट ज्ञात हुन्छ।

लेखक रामरिझन यादवका अनुसार २०११ सालमा आफ्नो हक अधिकारका लागि नारा जुलुस लगाउँदा प्रहरीको गोलीबाट उनको मृत्यु भएको थियो। सिरहा जिल्लाको पहिलो सहिद को हुन् भन्ने कुरा खोतल्दै जाँदा बहादुर सदा सिंगो मधेसको पहिलो वा दोस्रो सहिद हुनपुगेको देखिन्छ।

अहिलेको अवस्थामा पनि बहादुर सदाको परिवारको दैनिकी फेरिएको छैन। ३ कठ्ठा ऐलानी जग्गामा ३५ जनाको परिवार बसोबास गर्दछन्। बहादुर सदाका छोरा नाति अझै दैनिक मजदुरी गरेर जिविका चलाइरहेकाछन्।

गाउँमा छुवाछुत व्याप्त छ। कृषि मजदुर र ज्यालामा काम गर्नेलाई अझै सम्मानजनक ज्याला त्यहाँका जमिनदारले दिइँदैनन्।

सम्मानमा स्वरुप राखिएको सालिकमा पनि विभेद छ। कर्जन्हाको बजारमा बहादुरको भत्किएको सालिक अझै पूर्णरुपमा पुनर्निमार्ण भएको छैन। कर्जन्हा छिर्ने मुख्य गेट बस्तीपुरमा जयगोविन्द साहको पनि ठूलो सालिक निमार्ण गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीका अध्ययक्ष पुष्पकमल दाहाल यही क्षेत्रबाट निर्वाचित भएका हुन्। तर, यही क्षेत्रका ऐतिहासिक व्यक्तित्व बहादुर सदालाई हामीले सम्झिरहेका छौनौं।

प्रकाशित : माघ १६, २०७६ १६:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×