कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि, प्रतिवेदनमा आफ्नै आलोचना ! 

बिनु सुवेदी

काठमाडौँ — नेकपा केन्द्रीय कमिटी बैठक बुधबार सुरु हुँदै छ । पार्टी एकीकरणको २१ महिनामा दोस्रोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरूले भने पहिलोपटक धारणा राख्न पाउनेछन् । राष्ट्रिय सभागृहमा बिहान ११ बजे उद्घाटन हुने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।

नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि, प्रतिवेदनमा आफ्नै आलोचना ! 

उनका अनुसार बुधबार नै महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन् ।


अध्यक्ष र महासचिवको प्रतिवेदन आइसकेपछि समूह विभाजन गरेर छलफल चलाउने तयारी नेकपा सचिवालयले गरेको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार एक समूहमा ३० जना रहने गरी १५ समूह बनाउने र उनीहरूलाई छलफलका लागि बुधबार र बिहीबारको समय दिने निर्णय सचिवालयको छ । नामको वर्णानुक्रमअनुसार तय गरिने समूहमध्ये ८ वटा समूहले राष्ट्रिय सभागृहमा, ४ वटा समूहले पार्टी कार्यालय धुम्बाराही र ३ वटा समूहले पार्टी कार्यालय पेरिसडाँडामा बसेर छलफल गर्नेछन् । सबैले १७ गते समूहगत निष्कर्ष सुनाएपछि १८ गते सचिवालय बैठक बसेर छलफल गर्ने र १९ गते अध्यक्षद्वयले जवाफ दिने कार्यतालिका रहेको सचिवालय स्रोतले जनाएको छ । समूहगत छलफलमा सचिवालय सदस्यहरू भने रहने छैनन् । नेकपाले बुधबारदेखि १९ गतेसम्मका लागि राष्ट्रिय सभागृहको हल बुक गरिसकेको छ ।


प्रतिवेदनमा आत्मालोचना बढी

पुस २९ गतेदेखि बसेको स्थायी कमिटी बैठकमा जस्तै केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले आत्मालोचनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ‘राजनीतिक प्रतिवेदनको सुरुवात नै केन्द्रीय कमिटीको बैठक बोलाउन अत्यन्त ढिलाइ भएको स्वीकार गर्दै त्यसको जिम्मेवारी नेतृत्वले नै लिने खालको आत्मालोचनात्मक छ,’ स्रोतले भन्यो । दाहालले स्थायी समितिले पारित गरेको राजनीतिक प्रतिवेदन र त्यसमा स्थायी समिति सदस्यहरूको सुझाव समेटेर आफ्नो प्रतिवेदन तयार पारेका हुन् । उनले पार्टीलाई अझै एकीकृत र सुदृढ बनाउन अभियान चलाउनुपर्ने, गुटबन्दी अन्त्य गर्नुपर्नेलगायत विषय पनि समेटेका छन् ।

दाहालले पार्टीलाई एक ढिक्का पार्न सबैको साथ चाहिने भन्दै नेकपा र नेकपाको सरकारमाथि भइरहेको चौतर्फी आक्रमणविरुद्ध उभिन पार्टी पंक्तिलाई आग्रह गर्नेछन् । यसपालि अध्यक्ष दाहालले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘एमसीसीबारे दाहालले मध्यमार्गी भाषा प्रयोग गर्नुहुनेछ,’ स्रोतले भन्यो । सचिवालय बैठकमा भने एमसीसीबारे कुनै छलफल नभएको नेता खनालले बताए । प्रतिवेदनमा अध्यक्ष दाहालले पार्टी महाधिवेशनसम्मको अवधिमा गरिनुपर्ने कामको कार्यतालिकासहितको कार्ययोजना पनि पेस गर्नेछन् । २०७७ चैतमा महाधिवेशन गर्ने गरी पौडेलले हरेक महिनाको कार्यतालिका बनाएको स्रोतले जनायो ।


‘गुटबाट माथि उठ्नुपर्छ’

नेकपा केन्द्रीय सदस्यहरूले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुट अन्त्यका लागि पहल गर्न नेतृत्वलाई सुझाव दिने भएका छन् । बुधबार काठमाडौंमा सुरु हुन लागेको केन्द्रीय कमिटीको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी एकता मजबुत पार्न गुटको राजनीति त्याग्नुपर्ने सुझाव दिने तयारी गरेका हुन् । प्रचार विभाग उपप्रमुखसमेत रहेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टी कमिटी भद्दा हुँदा निर्णय प्रणाली पार्टीको कमिटीबाट व्यक्तिमा सरेको बताए । ‘अहिले पनि नेकपाका सदस्य को हुन्, को होइनन् भन्ने छ,’ थापाले भने, ‘पार्टी व्यवस्थित नहुँदा गुट झाँगिएको छ, गुटमा भविष्य खोज्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’


नवलपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रवीन्द्र अधिकारी भने यो बैठकमा सरकारको कामबारे गम्भीर रूपमा समीक्षा हुनुपर्ने बताउँछन् । ‘पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी चलाउने होइन,’ अधिकारीले भने, ‘सरकारको कामबारे गहन समीक्षा हुनुपर्छ ।’ उनले गुटका आधारमा पार्टी नेतृत्वबाटै काखा र पाखा गरिएको उल्लेख गर्दै त्यसको अन्त्यका लागि यो बैठक आधार बन्नुपर्ने बताए ।


केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी संस्थागत हुन नसकेकाले राम्रा कामसेत जनतामा लैजान नसकिएको दाबी गरे । ‘पार्टी एकताको काम छिटो सकिनुपर्छ,’ रिजालले भने ‘सरकारका कतिपय निर्णय पार्टीमा घनीभूत छलफलपछि मात्रै हुनुपर्छ, त्यसो भए सरकारको काममा गरिने प्रशंसा र गालीको भागीदार सिंगो पार्टी हुन पाउँछ ।’ रिजालले पुराना र अनुभवी नेताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने गरी छलफल थाल्नुपर्ने धारणा राख्ने तयारी गरेका छन् । केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङले पार्टी एकताको काममा ढिलाइ भएको बताए । बलावती शर्माले पार्टीलाई समावेशी बनाउनुपर्ने विषय उठाउने तयारी गरेकी छन् । ‘पार्टीका सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुने निर्णय यही बैठकबाट होस्,’ शर्माले भनिन् ।

प्रकाशित : माघ १५, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?