कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद्‍ले एमसीसी पारित गर्नुछ, यसका बारेमा म पछि विस्तारमा भन्‍नेछु : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन् । सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले संघीय संसद्को प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएकोमा सापकोटालाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।

संसद्‍ले एमसीसी पारित गर्नुछ, यसका बारेमा म पछि विस्तारमा भन्‍नेछु : प्रधानमन्त्री ओली

उनले भ्रमण वर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपूर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताए ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

सभामुखमा निर्वाचित भएकोमा अग्निप्रसाद सापकोटालाई शुभकामना,

संसद्ले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउन संसद सञ्चालनको गहन अभिभारा यहाँको काँधमा आएको छ ।

म खुसी व्यक्त गर्न चाहन्छु र यस काममा सफलता मिलोस् । मेरो दल, मेरो र नेपाल सरकारको तर्फबाट र सबै साथीहरूको तर्फबाट समेत शुभकामना भन्न चाहन्छु ।

यहाँ सर्वसम्मत ढंगले निर्वाचित हुनु खुसीको कुरा हो । यो एउटा राम्रो लक्षण हो । यहाँ केही पनि अवरोध रहेनन् । यही भावका साथ आगामी दिनमा संसद् अगाडि बढ्नेछ । यहाँले संविधानको रक्षा र मर्मअनुसार संसदलाई मर्यादित ढंगले अगाडि बढाउनुहुनेछ भन्नेमा पूर्ण आशावादी छु । म आफ्नो तर्फबाट यहाँलाई पूर्ण सहयोग रहनेछ भन्ने वचन दिन चाहन्छु ।

हामी एउटा राजनीतिक आन्दोलनको चरण पास गरेर यस बिन्दुमा आइपुगेका छौं । देशलाई कसरी अगाडि बढाउने भन्ने ठाउँमा आइपुगेका छौं । हाम्रा प्राथमिकता के-के हुन्छन् भन्नेमा आइपुगेका छौँ । हाम्रो समाजको चरित्र पनि मेलमिलापको ढंगले अगाडि बढ्नेछ । हामीले लोकतान्त्रिक प्रणाली स्थापना गरिसक्यौँ । जनतामा सार्वभौमसत्ता आइसक्यो । सार्वभौम जनता अन्तिम निर्णायक शक्ति हुन् । हामीले प्रणाली मात्रै होइन प्रक्रिया पनि लोकतान्त्रिक अपनाएका छौं ।

जनताकाे सार्वभौमसत्तालाई संवैधानिक हिसाबले संविधान कार्यान्वयनमा समेत व्यवहारमा उतारेर हामी अगाडि बढिसकेका छौँ । सुशासन र विकासमा केन्द्रित भएर हामी अगाडि बढ्न जरुरी छ । हामी विभिन्न दलहरू छौं । हामीले रोजेको बहुदलीय प्रणाली हो । हामीले रोजेको, स्वीकारेको प्रणाली हो । यसमा स्वाभाविक रूपमा फरक मत हुन्छन् । आधारभूत र रूपमा एक भएर स्वच्छ प्रतिस्पर्धामा अगाडि जान सक्छौँ ।

हिजो लोकतन्त्रको लडाइँमा थियौं । त्यसमा सबै एकैसाथ थियौं । हाम्रा बाटा अलि फरक-फरक भए पनि लक्ष्य एउटै थियो । विभिन्न व्यवधानका साथ आज एक ठाउँमा छौं ।

आज प्रणालीको ग्राहयता उपलब्धिहरूको अर्थ र मर्मसहित तिनको स्वीकार्यतालाई संस्थागत गर्ने, संविधान र समाजलाई समृद्ध बनाउने अभियानमा अगाडि बढेका छौँ ।

हाम्रो समाजको चरित्र अलि फरक छ । संघर्ष गर्दा पनि अन्तिममा सहमतिमा पुग्छौं। संघर्षको टुंगो लगाउने तरिका यही हो । २००७ सालमा संघर्ष गरियो, अन्तिममा सम्झौता भयो । राणालाई प्रधानमन्त्री बनाएर राजालाई आसनमा बसालेर आन्दोलनकारी शक्ति सरकारमा गएर अगाडि बढियो । सहमतिका साथ अगाडि बढ्दा ठूला-ठूला सफलता प्राप्त भएका छन् । संघर्षको मैदानमा र सहमतिको मैदानमा सफलता मिले । एकताबद्ध नभएका ठाउँमा पीडा भोगेका छौं ।

विभिन्न प्रतिगामी कदम त्यतिबेला भएका छन् जतिबेला हामी एकबताबद्ध भएनौं । त्यस्तो अवस्थामा निरंकुश दमनतन्त्र हाबी हुन्छन् । २०४७ र २०६२/०६३ मा एकताबद्ध भयौँ र राजतन्त्र पराजित भयो । एकताबद्ध भएकाले नै संविधान जारी गर्न सफल भयौँ । संविधान जारी भएपछि एकताबद्ध नभएको भए निर्वाचन हुने थिएन । अहिलेका अनुभवले एकताबद्ध भएकाले नै अगाडि बढ्न सकेका हौं।

हाम्रा एजेन्डालाई सुशासन र विकासतर्फ अगाडि बढाउन जरुरी छ । यसो गर्दा निष्ठापूर्वक आजको समय आइडियोलोजिकल आग्रहमा अल्झिने र ती मतभेदले सत्यलाई अस्वीकार गर्ने, सत्यभन्दा संलग्नतालाई माथि ठान्ने जस्ता कुराहरू गर्न यतिबेला हामीसँग समय छैन ।

दुनियाँ तीव्र गतिमा अगाडि बढेको छ । विकास, विज्ञान प्रविधि, भौतिक निर्माण, कनेक्टिभिटी विभिन्न हिसाबले दुनियाँ तीव्र गतिमा अगाडि बढेको छ । हामीले त्यो गतिलाई पकड्‍न सकेनौं भने हामीले समय खेर फालेका हुन्छौँ र समयले हामीलाई पर्खिदैँन र हामी पछि पर्छौं ।

हामीले विकासको यस गतिलाई समाउन सकौँ । यस कामको नेतृत्व अहिलेको सरकारले गर्छ । हामीले लडेर ल्याएको बलिदानपूर्ण संघर्षबाट ल्याएको प्रणाली त्यस प्रणालीअनुकूलको संविधान त्यस संविधानअनुकूलका कानुन निर्माण र कार्यान्वयनमा सरकार प्रतिबद्ध छ ।हामी यतिबेला स-साना कुरा र आग्रह र पूर्वाग्रहमा अल्झिनु उपयुक्त हुँदैन । केही दिनपछि मैले आजको राजनीतिक अवस्था, विभिन्न चर्चामा समसामयिक सान्दर्भिक विषयहरू र हामीले गर्नुपर्ने काम सम्बन्धमा नेपाल सरकारको दृष्टिकोण आदिको बारेमा छुट्टै समय लिएर राख्नेछु । आज यी विषयहरूमा प्रवेश गरिरहन आवश्यक छैन ।

अलिकति विलम्ब भइसकेको छ । सभामुख निर्वाचनमा पनि ढिला भइसकेको छ । संसदले कामहरू तीव्र रूपमा अगाडि बढाउन जरूरी छ ।

यतिबेला हाम्रा अगाडि थुप्रै विधेयक पारित गरेर ऐन निर्माण गर्नुपर्नेछ । प्रस्तावहरू पारित गर्नुपर्नेछ । हामीले विभिन्न चरण पार गर्दै आएको/७ प्रधानमन्त्रीका पालामा अगाडि बढेको अनुमोदनका लागि प्रतीक्षा गरेको एमसीसी पारित गर्नुपर्नेछ । जसको सम्बन्धमा म सविस्तार पछि भन्नेछु । अहिले यस अधिवेशनमा सबै माननीयजीहरूलाई स्वागत गर्न चाहन्छु ।

यो नयाँ वर्ष २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेका छौँ । प्राकृतिक हिसाबले केही धक्का देखा परेका छन्। तीनलाई निराकरण गर्नुपर्नेछ । सरकार त्यसमा लागेको छ । यस अधिवेशनमा अलिकति समय खेर गएको भए पनि अब खेर जान नदिएर सजग ढंगले अगाडि बढाउनुपर्नेछ । सदनका बाँकी काम बढाउन सभामुख महोदयको सफल नेतृत्व रहनेछ भन्ने विश्वास लिएको छु ।

प्रकाशित : माघ १४, २०७६ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?