कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनका नेपाली विद्यार्थी भन्छन्- ‘हल्लाले बढी डर’

लक्ष्मी लम्साल

बेइजिङ — हुबेई प्रान्तस्थित वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा चीनका विभिन्न ठाउँमा रहेका नेपाली आत्तिन थालेका छन् । सार्वजनिक यातायात, विश्वविद्यालय, भोजनालय, पर्यटकीय स्थलहरू बन्द गरिँदा र सतर्कता व्यापक बनाइँदा उकुसमुकुस हुन थालेको उनीहरूले बताएका छन् ।

चीनका नेपाली विद्यार्थी भन्छन्- ‘हल्लाले बढी डर’

कोरोना भाइरसका कारण मृतकको संख्या निरन्तर बढिरहेकाले स्थिति झनै जटिल बन्ने हो कि भन्ने चिन्ता यहाँ रहेका नेपालीमा देखिएको छ । मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले चिन्ता लिनुपर्ने अवस्था नरहेको दाबी गरेका छन् ।


वुहानको ह्वाचोङ विज्ञान तथा प्रविधि विश्वविद्यालय (हस्ट) अन्तर्गत थुङ्ची मेडिकल कलेजका सर्जन गौरव पोखरेलले चीनले जिम्मेवारपूर्वक ढंगले सतर्कता अपनाइरहेको बताए । ‘नेपालस्थित घरपरिवार र यहाँको कलेजसँग निरन्तर सम्पर्कमै छौं,’ उनले भने, ‘सरकारले स्वास्थ्यसम्बन्धी विवरण दिइरहेको छ, मास्क बाँडिएकै छ । चिन्तित हुनुपर्ने कुनै कारण छैन ।’ उनले विश्वविद्यालयको हाताभित्रै खानपिनका सामग्री पाइने सुपरमार्केट रहेकाले छात्रावासबाट बाहिर निस्किराख्नुपर्ने अवस्था नरहेको पनि बताए ।


पोखरेलका अनुसार मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले आतंकित बनेका विद्यार्थी र श्रमिक नेपालीलाई सम्झाइरहेका छन् । कोरोना भाइरस संक्रमणको त्रासका कारण विभिन्न देशले आफ्ना नागरिक चीनबाट फिर्ता लैजान पहल गरिरहेका कारण नेपाल सरकारले पनि आफूहरूलाई फिर्ता लगिदिए हुन्थ्यो भन्ने नेपाली विद्यार्थीलाई लागेको पोखरेलको भनाइ छ । ‘अरू देशका नागरिक फर्किन लागेको सुनेर नेपालीलाई पनि फर्कूंफर्कूं लागेको हुन सक्छ,’ उनले भने, ‘चीनले यहाँबाट फर्किने विदेशीहरूलाई पनि जाँच गरेर मात्रै पठाउँछ ।’


चोङनान युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड ल मा अध्ययनरत लोकन्थलीका आयुर फुयालले हल्लाले डर फैलाइरहेको बताए । ‘धेरै विद्यार्थी छिट्टै नेपाल फर्किन पाए हुन्थ्यो भन्ने मनस्थितिमा छन् । यो सबै फेक (गलत) समाचारका कारण भएको हो,’ उनले भने, ‘नेपाल फर्किनु मात्रै समस्याको समाधान होइन । यहाँ विश्वविद्यालयले मास्क, ह्यान्डवास, डिटोल, स्प्रे दिएर राम्रै हेरचाह गरिरहेको छ ।’


थोङची मेडिकल कलेजमा श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन पढिरहेका अनिश भुसालले पनि मेडिकल विषय नबुझेका मानिसहरू आत्तिएको बताए । ‘यो भाइरसबारे निश्चित तथ्य नआउन्जेल आत्तिएर मात्रै केही हुँदैन । बरु चिकित्सकले सुझाएका उपाय निरन्तर पालना गर्दै संयमित हुनु जरुरी छ,’ उनले भने ।

बेइजिङस्थित नेपाली दूतावासले भाइरस उद्गमस्थल वुहानमा रहेका सयभन्दा बढी विद्यार्थी तथा कामदारहरूको सामूहिक वीच्याट एकाउन्ट बनाएर समन्वय गरिरहेको छ । त्यही समूहमा नेपालीले स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी आदानप्रदान गरिरहेका छन् ।बेइजिङस्थित दूतावासका द्वितीय सचिव दीपक विकले वुहानमा रहेका नेपालीले उद्धारका लागि के पहल भइरहेको छ भनेर सोधिरहेको बताए । ‘यस विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएर निर्देशन पर्खिरहेका छौं,’ उनले भने । उनले परराष्ट्र मन्त्रालयलाई कोरोना प्रभावित क्षेत्र र नेपालीको अवस्थाबारे पनि रिपोर्ट पठाएको जानकारी दिए ।


नेपाली निकायहरू सतर्क

वुहानमा कोरोना भाइरस फैलिएलगत्तै आफ्ना नागरिकको सहयोगका लागि बेइजिङस्थित नेपाली दूतावासको समन्वयमा गत बिहीबारदेखि चीनका विभिन्न ठाउँमा हटलाइन सञ्चालन गरिएका छन् । सांघाई, क्वाङ्चौ, ल्हासा, हङकङलगायत निकायमा एक–एक जना अधिकारीलाई कोरोना पीडितको गुनासो सुन्ने जिम्मेवारी तोकिएको छ । कुनै पनि नेपालीबाट आफूमा कोरोनाको संक्रमण देखिएको जानकारी नआएको ती निकायले बताएका छन् ।


बेइजिङस्थित दूतावासमा हटलाइनको जिम्मेवारी लिएका द्वितीय सचिव विकले वुहानसँगै सांघाई, वुहान, वुहानका निकटवर्ती सहर, बेइजिङ आसपासका क्षेत्र, हुबई प्रान्त, थ्येनचिनलगायतका सहरबाट कोरोना भाइरसबारे जिज्ञासा आएको बताए । उनले वुहानको स्थानीय सरकार, स्थानीय विदेश मामिला कार्यालय र चिनियाँ केन्द्रीय सरकारअन्तर्गत विदेश मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।

व्यापारिक सहर सांघाईस्थित अवैतनिक महावाणिज्य दूतावासमा चिनियाँ नागरिक जेनेट लीले हटलाइनको जिम्मा लिए पनि नेपालीले बेइजिङमै सम्पर्क गरिरहेका छन् । तिब्बतको ल्हासास्थित वाणिज्यदूत जिम्सन रूम्दालीले हटलाइन खोलिएयता कुनै पनि नेपाली नागरिकका तर्फबाट कोरोना भाइरस संक्रमणबारे खबर नआएको बताए । उनले कुनै तिब्बतीमा पनि अहिलेसम्ममा यस्तो संक्रमणबारेको समाचार नसुनिएको बताए । तिब्बतमा रहेका नेपालीलाई सूचना निकालेर नै भाइरस सचेतनासम्बन्धी जानकारी दिइएको उनको भनाइ छ । ‘वीच्याटबाट सतर्कतासम्बन्धी सूचनाहरू सम्प्रेषण गरिएका छन्,’ उनले भने ।

नेपालीहरू वैदेशिक रोजगारीका लागि वा पुस्तौंदेखि नै स्थायी रूपमा तिब्बतमा बसोबासरत छन् । त्यहाँ हिल्सा, केरुङलगायतका सीमा क्षेत्रबाट व्यापार वा कामका सिलसिलामा नेपालीको आउजाउ चलिरहेको हुन्छ ।


नेपालीको बाक्लो व्यापारिक उपस्थिति रहने क्वाङ्चौमा पनि महावाणिज्य दूतावासले हटलाइन सेवा चलाइरहेको छ । हङकङसँग सीमा जोडिएकाले अधिकतर नेपालीले उतै खबर गर्ने र वसन्त चाडको बिदाका कारण नेपाली सबैजसो घर फर्किएकाले अहिलेसम्म कुनै खबर नआएको वाणिज्यदूत कुञ्जन साहले कान्तिपुरलाई बताए ।

प्रकाशित : माघ १३, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?