३५ सय मिटरमा ध्वाँसे चितुवा
काठमाडौँ — लाङटाङ राष्ट्रिय निकुञ्जको करिब ३५ सय मिटर उचाइमा ध्वाँसे चितुवा रहेको पत्ता लागेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता ओगन इम्रे क्यान नेतृत्वको टोलीले समुद्री सतहबाट ३४९८ मिटर उचाइको लाङटाङको हिमाली क्षेत्रमा ध्वाँसे चितुवा रहेको पत्ता लगाएका हुन् ।
अंग्रेजीमा ‘क्लाउडेड लियोपार्ड’ भनिने रातको समयमा बढी सक्रिय हुने यो वन्यजन्तु यसअघि २३ सय मिटर उचाइसम्म मात्र भेटिएको थियो । ‘करिब ३५ सय मिटर उचाइको हिमाली क्षेत्र लाङटाङमा ध्वाँसे चितुवा रहेको पत्ता लगाउन सफल भयौं,’ अनुसन्धानकर्ता क्यानले ट्वीटरमा लेखेका छन्, ‘यो विश्वकै लागि नयाँ हो ।’
नेपालमा गरिएको अनुसन्धानबारे क्यानसहित लाङटाङ निकुञ्जका सहायक वार्डेन भूपेन्द्र यादव र अक्सफोर्ड विश्वविद्यालयका पल जोन्सन, जोन्ना रोस, नेल डि क्रज र ड्याभिड म्याकडोनाल्डले ‘बायोडाईभर्सिटी एन्ड कन्जरभेसन’ जर्नलमा आलेखसमेत प्रकाशन गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयसहितका विशेषज्ञको टोलीले अनुसन्धानबारे विश्लेषण गर्न बढी समय लगाएकाले ५ वर्ष ढिलो गरी अनुसन्धानको परिणाम सार्वजनिक भएको हो ।
क्यानको टोलीले उक्त वन्यजन्तु पत्ता लगाउन सन् २०१४ को डिसेम्बरदेखि २०१५ को फेब्रुअरीसम्म निकुञ्जको राम्चेदेखि ठाडेपाटीसम्म ८१ वटा स्वचालित क्यामेरा जडान गरेको थियो । ‘अनुसन्धानका लागि हामीले १८२३ मिटरदेखि ३८२४ मिटरसम्मको उचाइमा स्वचालित क्यामेरा राखेका थियौं,’ उनले उल्लेख गरेका छन्, ‘त्यसमध्ये सबभन्दा माथि ३४९८ मिटरमा ध्वाँसे चितुवा रेकर्ड भएको पायौं ।’ अनुसन्धानका लागि १०७ दिनसम्म क्यामेरा राखिएको थियो । क्यामेराले फरक–फरक उचाइमा २१ वटा ध्वाँसे चितुवाको तस्बिर कैद गरेका थिए । त्यस क्रममा क्यामेरामा ध्वाँसे चितुवासहित चितुवा, वन बिरालो, दुम्सी, चरी बाघ र नीर बिरालोलगायत पनि कैद भए । अनुसन्धान अवधिमा निकुञ्जमा प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) रहेका राष्ट्रिय निकुञ्ज विभागका इकोलोजिस्ट हरिभद्र आचार्यले यो अध्ययनअघि लाङटाङ निकुञ्ज क्षेत्रमा ध्वाँसे चितुवा रेकर्ड नभएको बताए । ‘हिमाली क्षेत्रमा पाइँदैन भन्ने थियो,’ उनले भने, ‘अनुसन्धानले उच्च भागमा पनि यसको उपस्थिति पुष्टि गरेको छ ।’
१२ देखि २३ किलोग्रामसम्म तौल हुने यसको लम्बाइ ८४ सेन्टिमिटरसम्म हुन्छ । यसले एक पटकमा ५ वटासम्म बच्चा जन्माउँछ । विश्वमा करिब १० हजार ध्वाँसे चितुवा छन् । ध्वाँसे चितुवाबारे अनुसन्धान गरेका यादव घिमिरेका अनुसार नेपालमा एक सयको हाराहारीमा ध्वाँसे चितुवा छन् । खरायो, फ्याउरा, मुसा, रतुवालगायत साना स्तनधारी यसका मुख्य आहार हुन् ।
प्रकाशित : माघ १२, २०७६ ०७:५९