कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहिनन् कुसुण्डा भाषाकी ज्ञाता ज्ञानीमैया 

दुर्गालाल केसी

दाङ — एक सातादेखि बिरामी परेर थलिएकी कुसुण्डा भाषाकी एकमात्र ज्ञाता ८२ वर्षीया ज्ञानीमैया कुसुण्डाको शनिबार मृत्यु भएको छ । लमही नगरपालिका-६ कुलमोहरस्थित निवासमा निधन भएको उनकी बुहारी आशा पुनले जानकारी दिइन् ।

रहिनन् कुसुण्डा भाषाकी ज्ञाता ज्ञानीमैया 

पुस २८ मा एक्कासि चक्कर लागेर लडेपछि ज्ञानीमैया थला परेकी थिइन् । उनलाई उपचारका लागि लमही हुँदै मेडिकल कलेज कोहलपुर लगिए पनि स्वास्थ्यमा सुधार आएको थिएन । कुसुण्डालाई दिमागमा ‘डिजेनेरेटिभ चेन्जेज’ अर्थात उमेर बढ्दै जाँदा मस्तिस्कका सेलहरु नष्ट हुँदै जाने र दमको समस्या भएको उपचारमा संलग्न फ्लोरेन्स अस्पताल लमहीका डाक्टर पुष्प भुसालले बताए ।


लामो समयदेखि कुसुण्डा भाषाको संरक्षणमा क्रियाशील ज्ञानीमैया बिरामी हुँदा बेहोस अवस्थामा पनि कुसुण्डा भाषामै बर्बराउने गरेकी थिइन् । उनका एक छोरा र दुई छोरी छन् । छोराको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । छोरीहरुको विवाह भैसकेको छ । उनी बुहारी र नाति नातिनाका साथ बस्दै आएकी थिइन् ।


बाल्यकाल जंगलमा बिताएकी ज्ञानीमैयाले आमाबुवाबाट सिकेको कुसुण्डा भाषालाई अहिलेसम्म बचाएर राखेकी थिइन् । कुसुण्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको थियो । ज्ञानीमैयाले भाषा बचाउन अरुलाई पनि सिकाउँदै आएकी थिइन् । उनको सहयोग लिएर लमहीमा भाषा आयोगले कुसुण्डा भाषाको औपचारिक कक्षा नै चलाएको थियो । पहिलो चरणको कक्षा पूरा भएर दोस्रो चरणको सुरु गरेको बेला उनको निधन भएको शिक्षक उदय आलेले बताए ।

सम्बन्धित समाचार

कुसुन्डा भाषामै बर्बराउँछिन् उनी

प्रकाशित : माघ ११, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?