कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन मर्छन् गैंडा ? कहाँ कति ?

गत वर्षमा ४३ गैंडा मरेको चितवन निकुञ्जमा यो वर्ष साउनयता मात्रै १० वटा मरिसकेका छन्
९५२.६३ वर्ग किलोमिटरमा फैलिएको चितवन निकुञ्जमा गैंडाको मुख्य बासस्थान २५ प्रतिशत मात्र 

काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज विभाग त्यसको कारण खोज्न लागिपरेको छ । निकुञ्जमा बर्सेनि भित्रिने डेढ लाखभन्दा बढी पर्यटकको प्रमुख आकर्षण गैंडा हो । त्यसबाट वार्षिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व जम्मा हुन्छ । 

किन मर्छन् गैंडा ? कहाँ कति ?

विश्वमै चितवन एकसिंगे गैंडाको दोस्रो ठूलो बासस्थान भएको निकुञ्ज हो । पहिलो भारतको काजीरंगा नेसनल पार्क हो । ‘चितवनमा गैंडा मर्नुको कारण र बासस्थान तथा आहारको अवस्था’ बारे अध्ययन गर्न विभागले सूचीकृत ६ वटा संस्थासँग विस्तृत प्रस्ताव आह्वान गरेको छ । इन्भाइरोन्मेन्ट एन्ड डेभलपमेन्ट रिसर्च सेन्टर, लुम्बिनी इन्भाइरोन्मेन्टल सर्भिसेज, ग्रिन गभर्नेन्स नेपाल, सामुदायिक विकासका लागि प्राकृतिक स्रोत र रक भिजन प्रालि विभागमा सूचीकृत छन् ।


विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठका अनुसार एक महिनाको समय दिएर संस्थाहरूसँग अध्ययनको प्रस्ताव मागिएको हो । ‘माघ १० भित्र विस्तृत प्रस्ताव दिन भनेका छौं,’ उनले भने, ‘अध्ययन विधि, अध्ययनमा सहभागी हुने विशेषज्ञहरू, विगतको अनुभवलगायतलाई आधार मानेर संस्था चयन गरिनेछ ।’ चोरीसिकारबाहेक विभिन्न कारणले गैंडा मर्ने क्रम बढेपछि विभागले कारण पत्ता लगाउन विशेषज्ञ परिचालन गरी विस्तृत अध्ययन गराउन खोजेको हो । एकसिंगे गैंडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवाली र नरेश सुवेदी तथा वन्यजन्तुविद् बाबुराम लामिछानेको अध्ययनअनुसार चितवन निकुञ्जमा बर्सेनि दुई प्रतिशतका दरले गैंडाको आहार, घाँसे मैदान, पानीका घोल र तालतलैया विनाश भइरहेका छन् ।


‘माइकेनिया म्याकारान्था’ नामक मिचाहा वनस्पति फैलँदा गैंडाले मन पराउने घाँसे प्रजाति र पानीका घोल छोपिएका छन् । त्यसको प्रत्यक्ष असर गैंडाको विचरणमा परेको उनीहरूको विश्लेषण छ । ९५२.६३ वर्ग किलोमिटरमा फैलिएको चितवन निकुञ्जमा गैंडाको मुख्य बासस्थान २५ प्रतिशत मात्र छ ।


विभागका इकोलोजिस्ट हरिभद्र आचार्य अध्ययनका लागि चयन गरिएका संस्थालाई विभाग र निकुञ्जसँग समन्वय गरेर काम गर्ने जिम्मेवारी दिइनेछ । ‘असारसम्ममा अध्ययन सकेर विभागलाई प्रतिवेदन बुझाउनुपर्ने हुन्छ,’ उनले भने । ०७१ को गणनाअनुसार देशभर ६ सय ४५ गैंडा थिए । चितवन निकुञ्जमा मात्र ६ सय ५ वटा थिए । गणनापछिका पाँच वर्षमा चोरीसिकारका कारण गैंडा नमरे पनि प्राकृतिक कारणले मर्ने धेरै छन् । पानीका घोल, दलदल, किसानका बारी र विद्युतीय तारबारमा परेर गैंडा मर्ने क्रम बढेपछि सरकारलाई चुनौती थपिएको छ ।


गत आर्थिक वर्ष ०७५/७६ मा मात्रै प्राकृतिक कारणबाट चितवन निकुञ्जमा ४३ वटा गैंडा मरेका थिए । त्यही अवधिमा बर्दियामा जम्मा दुई वटा गैंडा मरेका थिए । चालु आर्थिक वर्षमा चितवनमा १० गैंडा मरेका छन् । उपसचिव श्रेष्ठका अनुसार आठवटा निकुञ्जको भित्री भाग (कोर एरिया) र मध्यवर्ती क्षेत्र तथा दुई वटा डिभिजन वन कार्यालय चितवनले व्यवस्थापन तथा संरक्षण गर्ने वन क्षेत्रमा मरेका हुन् । आव २०७३/७४ मा २५ र २०७४/७५ मा चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २६ गैंडा मरेका थिए ।


सरकारले आगामी फागुनदेखि चितवनसहित, पर्सा, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा गैंडा गणना गर्दै छ । चितवन र बर्दियामा पर्यटन प्रवर्द्धनमा एकसिंगे गैंडा र बाघको महत्त्वपूर्ण भूमिका छ । सगरमाथा र अन्नपूर्ण पदयात्रापछि धेरै पर्यटक चितवन जान्छन् । चितवनमा वन्यजन्तु सफारी नै मुख्य आकर्षण हो । वन्यजन्तु विज्ञहरूको पछिल्लो अध्ययनले चितवन निकुञ्जका धेरै गैंडा पूर्वी क्षेत्रमा पर्ने सौराहा आसपासबाट पश्चिम क्षेत्रतिर सरेका छन् ।

एकै स्थानमा गैंडाको घनत्व बढेकाले एकआपसमै द्वन्द्व बढेको र केही गैंडा जुधेरसमेत मर्ने गरेको उनीहरूको भनाइ छ । विभागले दातृ संस्थाहरूको आर्थिक सहयोगमा चितवन निकुञ्जले धान्न सक्ने एकसिंगे गैंडा र पाटे बाघको संख्या (क्यारिङ क्यापासिटी) बारे पनि एक वर्षदेखि अध्ययन गरिरहेको छ ।

प्रकाशित : माघ १०, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?