कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपराष्ट्रपति बसेको घरलाई सभामुख निवास बनाइने

जयसिंह महरा

काठमाडौँ — सभामुखलाई लौनचौरस्थित यसअघि उपराष्ट्रपतिले प्रयोग गरेको निवासमा राखिने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको निवाससँगै रहेको सभामुखको निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेपछि सभामुखको नयाँ निवासको खोजी भइरहेको थियो ।

उपराष्ट्रपति बसेको घरलाई सभामुख निवास बनाइने

प्रतिनिधिसभाले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाएसँगै सहरी विकास मन्त्रालय र संघीय संसद सचिवालयले सभामुखका लागि निवासको खोजी थालेको थियो । सभामुखका लागि निवासको व्यवस्था गर्ने जिम्मेवारी सहरी विकास मन्त्रालयको हो ।

मन्त्रालयले सभामुखका लागि यसअघि उपराष्ट्रपति बस्दै आएको लैनचौरस्थित सरकारी घरलाई प्रयोग गर्ने जानकारी दिएको छ ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बसेका थिए । उनी पुल्चोकस्थित मन्त्री क्वार्टरमा सरेपछि उक्त निवास खाली थियो । सुरक्षा र पार्किङका दृष्टिले पनि उक्त घर सभामुखका लागि उपयुक्त भएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले मन्त्रालयले संसद सचिवालयलाई सभामुखको निवास लैनचौरमा हुने जानकारी आएको बताए । उनले भने, 'सहरी विकास मन्त्रालयले सभामुख निवासको व्यवस्था गर्छ । अहिलेलाई निवास लैनचौरमा राख्ने कुरा भएको छ । शुक्रबार हेर्न जाँदैछौं ।'

मंगलबार सभामुखका लागि मनोनयन दर्ता भएको थियो । जसमा नेकपाका तर्फबाट अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको थियो । सभामुखको घोषणा १२ गते हुने कार्यतालिका रहेको छ । उनी निर्विरोध निर्वाचित हुने भएका छन् । सभामुखमा निर्वाचित भएपछि सापकोटा लैनचौरस्थित निवासमा बस्नेछन् ।

बालुवाटारमा सभामुखका लागि निर्माण गरिएको निवासमा भने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेका छन् ।प्रधानमन्त्री निवास नयाँ निर्माणका लागि भत्काएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बस्दै आएको भवनमा सरेका थिए ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा असोज १९ गते सरकारी निवासबाटै पक्राउ परेपछि सभामुख निवास खाली थियो । सभामुख निवास खाली रहेको अवस्थामा ओली राष्ट्रियसभा अध्यक्ष निवासमा सरेका थिए भने तिमिल्सिना सभामुख निवासमा।

सभामुखको कार्यकक्ष पनि सिंगारियो

सिंहदरबारस्थित संसद सचिवालयमा रहेको सभामुखको कार्यकक्षको पनि मर्मत सम्भार गरिएको छ । संसद सचिवालयले हालैमात्र सभामुखको कार्यकक्षमा नयाँ साजसज्जा गरेको हो ।सभामुखको कार्यकक्षमा पेन्टिङ गर्ने, कार्पेट हाल्ने र सजावटका सामाग्री राखिएको सचिवालयले जनाएको छ ।

प्रकाशित : माघ ८, २०७६ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?