कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाजवादीका नेतालाई दाहालको आग्रह : अलग चुलाचौकाले धेरै हुनेवाला छैन, मिल्न आउनुस्

'सत्ता र प्रतिपक्ष हातेमालो गरेर जाने प्रयसामा छौँ'

काठमाडौँ — समाजवादी पार्टीलाई नेकपामा समाहित गर्न अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेका छन् । बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई मुलुकको विकास र समृद्धि तथा स्थायित्वका लागि नेकपामा आउन दाहालले आग्रह गरेका हुन् ।

समाजवादीका नेतालाई दाहालको आग्रह : अलग चुलाचौकाले धेरै हुनेवाला छैन, मिल्न आउनुस्

समाजवादी पार्टी छोडेर नेकपा प्रवेश गर्न आएका कार्यकर्तालाई स्वागत गर्दै दाहालले सबै मिलेर अगाडि बढ्नुपर्ने अवस्था आएको पनि बताए । उनले भने, 'समाजवादी पार्टीमा अशोक राई र बाबुराम भट्टराई निरीह भएर बस्नुपरेको भन्ने कुरा आयो । अप्ठेरो स्थितिमा हुनुहुन्छ भनेर रामप्रसादजीले भन्नुभयो । मैले भन्दा उपेन्द्रजी धेरै झमेला गर्नुभन्दा मिल्न आए हुन्छ । अलगअलग चुलाचौका लगाएर धेरै हुनेवाला छैन ।'

समाजवादीका केन्द्रीय सदस्य रामप्रसाद रिजालले उक्त पार्टीमा भट्टराई र राई निरीह रहेको बताएका थिए । त्यसपछि भाषण गरेका दाहालले समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई नेकपामा आउन आग्रह गरेका हुन् । उनले भने, 'सबै मिलेर देशलाई स्थिरता र समृद्धि दिउँ । त्यसो गर्नु देशको हितमा छ ।'

'सत्ता र प्रतिपक्ष हातेमालो गरेर जाने प्रयसामा छौँ'

नेकपाले सरकारको नेतृत्वकर्ता भएको नाताले प्रतिपक्षी दलहरूसँग हातेमालो गर्न चाहेको दाहालले बताए । उनले सदनमा र सदन बाहिर पनि सत्ता र प्रतिपक्ष हातेमालो गरेर अगाडि बढिरहेको बताएका हुन् ।

'हामीले देशको प्रमुख पार्टी हुनुको नाताले सबैलाई समझदारीमा लिएर जाने, सबैको नेतृत्व गरेर जाने प्रयास गरिराखेका छौँ,' दाहालले भने, 'सदनमा पनि, बाहिर पनि सबै पक्षसँग सकेसम्म समझदारी मिलाएर जानेप्रयास भइरहेको छ । सत्तापक्ष र प्रतिपक्ष गणतन्त्र ल्याउन बलिदान गरेकालाई हातेमालो गरेर जाने प्रयासमा छ ।'

दाहालको उक्त भनाइ सभामुखमा नेकपाका उम्मेदवार विरुद्ध कांग्रेसले उम्मेदवार नउठाएपछि आएको हो । नेकपाले मंगलबार भएको सभामुखको मनोनयमा नेता अग्नि सापकोटालाई अगाडि बढाएको थियो । कांग्रेसले भने कसैलाई पनि उम्मेदवार बनाएन ।

आफ्नै निवास खुमलटारमा आयोजित कार्यक्रममा दाहालले नेकपालाई बलियो बनाए मात्रै राष्ट्रिय एकता र स्वाधिनता सुदृढ गर्न सकिने बताए ।

प्रकाशित : माघ ८, २०७६ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?