कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थालियो ज्ञानीमैयाँको उपचार

दुर्गालाल केसी

(दाङ) — बिरामी परेर थलिएकी कुसुन्डा भाषाकी एक मात्र ज्ञाता ८२ वर्षीया ज्ञानीमैयाँ कुसुन्डाको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचार सुरु भएको छ । खाना नखाएकाले नाकबाट पाइप हालेर खुवाउने तयारी भइरहेको उपचारमा संलग्न डा. पुष्प भुसालले बताए । 

थालियो ज्ञानीमैयाँको उपचार

कुसुन्डालाई दिमागमा ‘डिजेनेरेटिभ चेन्जेज’ अर्थात् उमेर बढ्दा मस्तिष्कका सेल नष्ट हुँदै जाने समस्या भएको उनको भनाइ छ । यस्तो रोगका कारण मान्छे नचिन्ने, बर्बराउने, होस गुमेजस्तो हुने समस्या देखिन्छ । ‘उनको शरीर धेरै कमजोर भएकाले तत्काल उठ्न, बोल्न सक्ने अवस्था छैन,’ डा. भुसालले भने, ‘स्वास्थ्यमा सुधार आउन लामो समय लाग्न सक्छ । चौबीसै घण्टा निगरानीमा राखेर उपचार गरिरहेका छौं ।’ लामो समयदेखि दमको समस्या भएकाले बाफ पनि दिइरहेको उनले बताए ।


कुसुन्डा भाषाको संरक्षणमा क्रियाशील ज्ञानीमैयाँ बेहोसी तालमा कुसुन्डा भाषामै बर्बराउने गरेकी छन् । उनी पुस २८ देखि एक्कासि बिरामी परेकी हुन् । चक्कर लागेर लडेपछि उनलाई लमही हुँदै मेडिकल कलेज कोहलपुर लगिएको थियो । चार दिनसम्म अस्पताल राख्दा पनि केही सुधार नभएपछि शुक्रबार लमही नगरपालिका–६, कुलमोहरस्थित घरमा ल्याइएको थियो । घरमा राख्दा समस्या बढ्दै गएपछि पुनः अस्पताल भर्ना गरिएको बुहारी आशा पुन मगरले बताइन् । ज्ञानीमैयाँको एक मात्र छोरा प्रेमबहादुरको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । दुई छोरीको विवाह भइसकेको छ ।


बाल्यकाल जंगलमा बिताएकी ज्ञानीमैयाँले आमाबुबाबाट सिकेको कुसुन्डा भाषालाई अहिलेसम्म बचाएर राखेकी छन् । कुसुन्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको थियो । उनकै सहयोगमा धेरैले कुसुन्डा भाषाबारे अध्ययन गरेका छन् । लमहीमा भाषा आयोगले कुसुन्डा भाषाको औपचारिक कक्षा नै चलाएको छ । पहिलो चरणको कक्षा पूरा भएर दोस्रो चरणको सुरु गर्दा उनी बिरामी परेको शिक्षक उदय आलेले बताए ।

‘कुसुन्डा भाषा जान्ने ज्ञाता ज्ञानीमैयाँ मात्रै हुनुहुन्छ । उहाँको सहयोगमा २० जनालाई पहिलो चरणको शिक्षा दिइसकेका छौं,’ उनले भने, ‘अहिले बिरामी परेपछि थप कक्षा प्रभावित भएका छन् । हामी पनि उहाँको उपचारमा केन्द्रित छौं ।’ उपचारमा सहयोगका लागि भाषा आयोगलगायत विभिन्न संघसंस्थामा हारगुहार गरिएको आलेले बताए ।

प्रकाशित : माघ ८, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?