१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

धर्मको आवरणमा अपराध

मातृका दाहाल

काठमाडौँ — विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष उपेन्द्रबहादुर गौतम भन्छन्– ‘जोगी, बाबा, रिम्पोछे, पादरीलगायतको खोल ओढेर अनुयायीमाथि बलात्कारजस्ता जघन्य अपराध गर्ने तथाकथित धर्मगुरूलाई दण्डित गर्नुपर्छ । कुनै पनि धर्मले दुर्व्यवहार गर, अपराध गर भन्दैन र गेरू वस्त्रधारी सबै धर्मगुरू होइनन् भन्ने चेत आमनागरिकमा हुन जरूरी छ ।’ 

धर्मको आवरणमा अपराध
  • ०७६ पुस २७ साँझ ललितपुरस्थित आशा विश्वासी चर्चका पास्टर विश्वास भनिने ध्रुवबाबा जोशी अनुयायीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे । ‘पास्टरसँग शारीरिक सम्बन्ध राखेमा परमेश्वरले पापबाट मुक्ति दिलाउनुहुन्छ’ भन्दै उनले युवतीलाई पटक–पटक करणी गरे । उनले कात्तिकमा चापागाउँस्थित एक गेस्टहाउस र पुसमा युवतीकै कस्मेटिक पसलमा गएर करणी गरेको खुल्यो । जोशीले ‘परमेश्वरको आदेश छ, मसँग शारीरिक सम्बन्ध राखे पापबाट मुक्ति मिल्छ’ भन्दै बारम्बार करणी गरेका थिए । घटनामा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ । जोशी आफ्नी सालीले आत्महत्या गरेपछि गोरखाबाट भागेर आएको खुलेको छ ।
  • ०७६ मंसिर १६ मा अनुयायीलाई बलात्कार गरेको अभियोगमा सुनसरी बराहस्थित हनुमान मन्दिरका पुजारी ‘सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास’ भन्ने कृष्णबहादुर गिरी अस्पतालबाटै पक्राउ परे । मन्दिर परिसरमै ‘जगतगुरु रामानन्दचार्य सेवा पीठ’ नामक आश्रम सञ्चालन गरेका उनीविरूद्धको मुद्दा अदालतमा विचाराधीन छ । सुनसरी जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहदेखि राष्ट्रपति विद्यादेवी भण्डारी, राजनीतिज्ञ तथा उच्च सुरक्षा अधिकारीसम्मै पहुँच बनाएका ‘सिद्धबाबा’ तीन लाख धरौटी बुझाएर रिहा भए । रिहाइको आदेशविरूद्ध सरकारी वकिलको कार्यालय सुनसरी उच्च अदालत विराटनगर गइसकेको छ ।
  • ०७५ पुसदेखि बारा रतनपुरीका रामबहादुर बम्जन व्यक्ति हत्या र बेपत्ता पारेको अभियोगमा फरार छन् । डेढ दशकअघि रतनपुरी जंगलस्थित पीपलको रुखमुनि ‘तपस्या’ गरेर चर्चामा आएका उनी ‘लिटिल बुद्ध’, ‘पाल्देन दोर्जी’ लगायत उपनामले चिनिए । उनीमाथि हेटौंडाकी ३० वर्षीया डोल्मो भन्ने फूलमाया रुम्बा, नुवाकोटकी ३० वर्षकै चुन्मो भनिने चिनीमाया तामाङ, हेटौंडाका ५१ वर्षीय सञ्चलाल वाइबा, बारा (जितपुर/सिमरा) का ३४ वर्षीय सुरेशकुमार आलेमगर र रीता बोटेलाई हत्या तथा बेपत्ता पारेको आरोप छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली र बाराले बम्जनको खोजी गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि उनलाई खोजिरहेको छ ।
  • ०७४ असोज १९ मा काठमाडौंको दक्षिणकाली बोसन गाउँस्थित पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बामा झारफुक गर्न गएकी युवतीमाथि ५७ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्तान योञ्जन टुल्कु लामाले करणी गरे । उनले गोप्य कोठामा लगेर अस्वाभाविक हर्कत गरेपछि युवतीले प्रतिवाद गरिन् । ‘झारफुक गर्ने कोठामा रिसाए अनिष्ट हुन्छ’ भन्दै लामाले करणी गरे । मंसिर ५ मा उनी पक्राउ परे । जिल्ला अदालत काठमाडौंले ०७५ असोज १५ मा लामालाई साइबर अपराधमा ५० हजार जरिवाना र पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला गर्‍यो । उच्च अदालत पाटनले गत असोज २९ मा करणी कसुरमै दोषी ठहर गर्दै उनलाई ७ वर्ष कैद र पीडितलाई ३० लाख क्षतिपूर्ति भराउने फैसला सुनायो ।
  • ०७५ चैत २५ मा मोरङको रामजानकी मन्दिरमा ‘बाल सन्त स्वामी श्रीनिवासाचार्य’ माथि गोली प्रहार भयो । दायाँ कुममा गोली लागेका उनी वैशाख १६ मा अस्पतालबाट डिस्चार्ज भए । उनले गोली प्रहारको घटनालाई हिन्दु धर्ममाथिकै आक्रमणका रूपमा चित्रण गरे । प्रहरीले तीन जनालाई पक्राउ गर्‍यो । अनुसन्धानले श्रीनिवासाचार्य आफैंले चितवन, बेलचोक घर भएका बडीगार्ड माधव चौधरीलाई आफूमाथि गोली हान्न लगाएको खुल्यो । ‘धार्मिक एजेन्डा’ लाई उग्र बनाउन भन्दै उनी आफैंले घटना गराएका थिए । उनले मुलुकलाई ‘हिन्दु राष्ट्र’ कायम गराउन धार्मिक आन्दोलन नै हुनुपर्ने विवादास्पद अभिव्यक्तिसमेत दिँदै आएका थिए ।

धार्मिक आवरणमा हुने गरेका जघन्य अपराधका यी केही तथ्य हुन् । प्रहरीको अपराध अभिलेखअनुसार अन्य थुप्रै घटनामा मन्दिरका पुजारी, चर्चका पास्टर, गुम्बाका रिम्पोछेलगायत व्यक्ति हत्या, बलात्कार, ठगीजस्ता अपराधमा जघन्य तथा आर्थिक अपराधसँग जोडिएका छन् । बारम्बार यस्ता घटना दोहोरिएपछि केही अनुयायी बाध्य भएर तथाकथित ‘धर्मभिरु’ का अपराधविरुद्ध प्रहरीमा पुग्ने गरेका छन् । पीडकहरूको पहुँच र प्रभाव शक्तिकेन्द्रसम्म जोडिने गरेको पनि देखिन्छ ।


विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष उपेन्द्रबहादुर गौतम ‘धर्मगुरु’ र ‘बाबा’ को भेषमा अपराध गर्नेलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताउँछन् । ‘जोगी, बाबा, रिम्पोछे, पादरीलगायतको खोल ओढेर अनुयायीमाथि बलात्कार र करणीजस्ता जघन्य अपराध गर्ने तथाकथित धर्मगुरुलाई मोलाहिजा नगरी दण्डित गर्नुपर्छ,’ अध्यक्ष गौतमले कान्तिपुरसँग भने, ‘कुनै पनि धर्मले दुर्व्यवहार गर, अपराध गर भन्दैन र गेरु वस्त्रधारी सबै धर्मगुरु पनि होइनन् भन्ने चेत आमनागरिकमा हुन जरुरी छ ।’


नेपाल प्रहरीका पूर्वडीआईजी केशबहादुर शाही ‘धर्मगुरु’ को खोल ओढेर बसेका व्यक्ति अपराधमा संलग्न हुनुमा ‘मनोचेत’ नियन्त्रण गर्न नसक्नु प्रमुख कारण रहेको बताउँछन् । ‘जब मनोचेत नियन्त्रणमा रहँदैन तब त्यसले अपराधको रूप लिइहाल्छ,’ शाहीले कान्तिपुरसँग भने, ‘बलात्कार अभियोगमा जति पनि धर्मगुरु पक्राउ परेका छन्, सबै यसैको उपज हो ।’ शाहीले बलात्कारका घटनामा पीडित भनिएका पक्ष किन पीडित हुँदाहुँदै पनि बारम्बार धर्मभिरुकै शरणमा जान्छन् भन्नेबारे विशेष अनुसन्धान हुनुपर्ने बताए । ‘पहिलोपटक जबर्जस्ती करणी भएको हो भने त्यो छुृट्टै कुरा तर बारम्बार किन गए ? घटना भएको धेरैपछि मात्रै किन सार्वजनिक हुन्छ ? यो अर्को पाटो हो । दुवैलाई एकै ठाउँमा राखेर अनुसन्धान गरिनुपर्छ,’ उनले भने ।


कुनै पनि घटना हुनुअघि पीडकलाई पीडितले नै अपराधमा सहजीकरण गरिरहेको शाहीको भनाइ छ । ‘कथित धर्मगुरु र अनुयायी वा अरू कुनै पक्षबीच सुरुमा निकटता हुन्छ, त्यही निकटता अपराधको सशक्त माध्यम बनेर आउँछ,’ शाहीले भने ।


मनोविश्लेषकका अनुसार मनोचेतले विपरीत लिंगीबीच सम्बन्ध बढाउन ‘ग्रिडी’ अर्थात् लोभी बनाउँछ । दुवैबीचको निकटताले ‘सेलिब्रेसन’ खोज्छ । त्यो सेलिब्रेसन खानपान, कुराकानी, निकटता, एकान्त वा शारीरिक सम्बन्धसम्म पुग्न सक्छ । सुरुमा सहयोग आदानप्रदान वा शान्त हुन निकटताको खोजी हुन्छ । ‘विपरीत लिंगीसँग निकटता भइसकेपछि पुरुषमा टेस्टोस्टेरोन हर्मोनले इमोसन पैदा गर्छ, यो हर्मोन क्रमशः बढ्दो क्रममा उत्पादन हुन थालेपछि स्वाभाविक रूपमा उसले शारीरिक सम्बन्धको अपिल गरिरहेको हुन्छ,’ मनोविद् गोपाल ढकाल भन्छन्, ‘त्यसबेला पुरुषले हर्मोनको असरलाई नियन्त्रणमा लिन सक्यो भने त्यो स्वाभाविक र अपराधबाट बाहिरै रहन्छ, मनलाई नियन्त्रण गर्न सकेन वा आफूले चाहेको पूरा भएन भने अपराधका रूपमा करणी, जबर्जस्ती, हातपात वा बाध्यतामा पारेर इच्छा पूरा गर्नेतर्फ लाग्छ ।’ ढकालका अनुसार जे चाहेको हो, त्यो पूरा भइसकेपछि क्रमशः अपराध गर्ने वा जबर्जस्ती गर्ने पक्ष विस्तारै टाढिन खोज्छ तर त्यसबेला अर्को पक्षले निकटता रहिरहोस् भन्ने चाहना राख्छ । त्यो पूरा नभएपछि ‘यसलाई म ठीक पारिदिन्छु’ भन्ने प्रतिशोधको भाव विकास हुँदा दुई पक्षबीच भएका गोप्य हर्कत बलात्कार, करणी, हातपात, गालीगलौजसम्बन्धी अपराधका रूपमा बाहिर आउने भनाइ उनको छ ।


२०७१ पुसमा काभ्रे मण्डनदेउपुरस्थित कश्यपेश्वर महादेव मन्दिरका पुजारी अर्जुनकुमार सिलवालले शारीरिक उत्तेजना सहन नसकेर आफ्नो लिंग हँसियाले काटेका थिए । साधु भएर पनि शारीरिक उत्तेजना आएको र मन विचलित भएको भन्दै उनले लिंग छेदन गरेका थिए ।

प्रकाशित : माघ ६, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?