कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

सखाप भयो हिमाली वन

दशक अघिसम्म हराभरा बझाङको हिमाली क्षेत्रका डाँडाकाँडा अहिले नांगा भएका छन् । मानवीय अतिक्रमणले बहुमूल्य जडीबुटी लोप हुन थालेका छन् भने आश्रित वन्यजन्तु पलायन भइसकेका छन् ।
'यार्सा टिप्‍नेका कारण धुपीको जंगल सकियो, भेडावालाले भोजपत्र सिध्याए ।'

बझाङ — साइपाल गाउँपालिका धलौनका ५८ वर्षीय सौंरे बोहरा यार्सा टिप्न राइढुंगी जान थालेको दुई दशक भयो । केही वर्षयता भने लेकमा उनको मन रमाउन छाडेको छ । ‘अचेल लेक लेकजस्तो छैन, जता हेर्‍यो उतै उजाड छ,’ उनले भने, ‘जंगल सखाप भइसक्यो । त्यस्तो रहरलाग्दो ठाउँ हेर्दाहेर्दै वैरागलाग्दो भयो ।’

सखाप भयो हिमाली वन

उनकै छेउमा बसेका ७० वर्षीय कुलभान बोहराले पाँच–छ वर्षयता लेक निकै उजाडिएको बताए । ‘सर्पको मुख नछिर्ने जंगल थियो, दिउँसै बाघ र भालुले भेडा खाइदिन्थे,’ उनले भने, ‘त्यो ठाउँमा घनाजंगल थियो भन्दा अचेलकाले पत्याउन्नन् ।’


सौंरे र कुलभानजस्तै उजाडिँदै गएको हिमाली क्षेत्रको वनका बारेमा चिन्ता गर्ने धेरै छन् । दशकअघिसम्म हराभरा रहेका हिमाली क्षेत्रका डाँडाकाँडा अहिले नांगा भएका छन् । यो समस्या साइपालमा मात्र नभएर जिल्लाभरि छ । साइपाल गाउँपालिकामा पर्ने माझा, फरालखेत, कालापानी, राइढुगी, औंलागाड, स्याङवन दोतले, इंगलदार, दहचौर, कालंगा, खोपालगायतका ठाउँको ठूलो वन क्षेत्र सखाप भइसकेको छ ।

सुर्मा गाउँपालिकाअन्तर्गतका जलजला, डाँफेचुली, तपोवन, डाँडा, ठाडे, जर्सी, गोलढुंगालगायतका वनको अवस्था पनि उस्तै छ । बुंगल नगरपालिकाको उच्च हिमाली भेगमा पर्ने थानपाटन, धौलाढुंगा, चुपी, चालीगाड, ठाडीगाड, भिडेलगायत क्षेत्रका धेरैजसो वन उजाडिइसकेको छ । दुर्गाथली, छबिसपाथीभेरा, मस्टा र तल्कोट गाउँपालिका तथा जयपृथ्वी नगरपालिकाको लेकाली भेगको जंगल पनि तीव्र गतिमा फँडानी भइरहेको छ ।


‘पहिला पहिला पाल हाल्ने (यार्सा तथा जडीबुटी संकलनका बेला) ठाउँ वरिपरि प्रशस्त दाउरा पाइन्थे । लेकमा जाँदा दाउराको दुःख थिएन,’ सुर्माकी पवित्रा बोहराले भनिन्, ‘अचेल चार/पाँच घण्टा टाढा गएर दाउरा ल्याउनुपर्ने भएको छ ।’ आफ्नो गाउँबाट केही वर्ष पहिला यार्सा संकलन हुनु एक/दुई दिनअघि मात्र मानिस लेक उक्लने गरेकामा अहिले दाउराको जोहो गर्नकै लागि सिजन सुरु हुनुभन्दा १०/१५ दिनअगाडि जाने गरेको उनले बताइन् ।

०६३ मा शान्ति प्रक्रिया सुरु भएपछि यार्सा तथा अन्य जडीबुटी संकलन गर्न हिमाली क्षेत्रमा पुग्नेको संख्या ह्वात्तै बढ्यो । त्यसअघि यार्सा संकलन गर्न जानेको संख्या नगण्य थियो । पछिल्लो पाँच वर्षको तथ्यांक केलाउने हो भने बझाङमा यार्सा संकलनका लागि मात्रै लेक जानेहरूको संख्या प्रतिवर्ष ४८ हजारको हाराहारीमा छ । यो वर्षको वैशाखदेखि असारसम्म ५१ हजार जना साइपाल, सुर्मा, छबिसपाथीभेरा गाउँपालिका र बुंगल तथा जयपृथ्वी नगरपालिकाको हिमाली क्षेत्रमा प्रवेश गरेको स्थानीय तहको अभिलेख छ । साइपाल गाउँपालिकाका विभिन्न वनमा गत वैशाखदेखि असारसम्म मात्र ८ हजार ९ सय ४६ जना यार्सा संकलनका लागि पुगेका थिए ।

यार्सा संकलनका लागि जानेले सुरुका १०/१५ दिन दाउराका लागि जंगल फाँड्ने र तीन महिनासम्म पुग्ने दाउराको जोहो गरिसकेपछि मात्र यार्सा संकलनको काम सुरु गर्ने गरेको संकलकहरू बताउँछन् । ‘एउटा परिवारले एक ठाउँका पूरै रूख फाँडेर दाउरा काट्छन्,’ धलौनका रुन्छे बोहराले भने, ‘हजारौं मान्छेले रूख काट्दा सिंगै जंगल एकै सिजनमा उजाड हुन्छ । अर्को वर्ष अर्को जंगलको त्यस्तै हालत हुन्छ ।’


उनले यार्सा संकलनको सिजनमा हिमालमा पाइने भुइँचिमालो, भोजपत्र, चिमालो, चाँप, धुपी, लेककुँॅयाली, पङ्राँतोलगायतका रूख र झाडी प्रजातिका बिरुवा काटेर दाउरा प्रयोग गरिने बताए । यस्तै डालेचुक, मछाङ्ग्रो, कालोभोज, रयस, बायोजडी च्याङ्बा लगायतका बोटबिरुवा भएको जंगल पनि उजाड भइसकेको उनले बताए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को कैलाश पवित्र भूपरिधि कार्यक्रमले यार्सा संकलनका कारण सामाजिक, आर्थिक र वातावरणीय क्षेत्रमा परेको प्रभावबारे दार्चॅला र बझाङमा गरेको अध्ययनले पनि यहाँको हिमाली वन विनाश भइरहेको देखाएको छ । ‘यार्सा संकलनका क्रममा खपत हुने इन्धनका कारण संवेदनशील जंगल नाश हुँदै गएको पायौं,’ अध्ययन टोलीमा सहभागी सुशासन तथा संस्थागत विश्लेषक डा.विनय पसखल भन्छन्, ‘यही गतिमा वन दोहन हुँदै जाने हो भने वातावरणमा प्रतिकूल असर पर्ने देखिन्छ ।’ अध्ययनमा प्रतिदिन एक पाल (सरदर ६ व्यक्ति) ले १२ किलोग्राम दाउरा खपत गर्ने गरेको पाइएको उनले बताए ।

संकलनको समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करिब १५ हजार पाल हाल्छन् । इसिमोडको अध्ययनलाई आधार मान्दा करिब ३ महिनासम्म पाटनमा यार्सा संकलकले एक सिजनमा १ करोड ६२ लाख किलोग्राम दाउरा खपत गर्छन् ।

वैशाखदेखि असारसम्म यार्सा संकलनका लागि जानेहरूकै हाराहारीमा भदौदेखि मंसिरसम्म यहाँका जंगलमा अन्य जडीबुटी खोज्न मानिस पुग्ने गर्छन् । जटामसी, कटुकी, सेतकचिनी, भुतकेसलगायत जडीबुटी संकलनका लागि बझाङका स्थानीयलगायत रुकुम, रोल्पा, सल्यान, प्युठान, दाङ, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, सुर्खेत, डोल्पा, दार्चुला, बाजुरालगायतका जिल्लाबाट सयौंको संख्यामा मानिस बझाङका लेकाली भेगमा प्रत्येक वर्ष अस्थायी क्याम्प खडा गरेर बस्छन् । उनीहरूले खाना पकाउन र आगो ताप्नका लागि प्रयोग गर्नेभन्दा कैयौं गुणा बढी दाउरा जडीबुटी पकाउन प्रयोग हुने गर्छ । ‘सेतकचिनी पकाउनका लागि सिंगै रूख काटेर भट्टीमा लगाइन्छ,’ बुंगल नगरपालिकाको दहबगरका जयधन धामीले भने, ‘एउटै ठाउँमा सयौं भट्टी सल्काएका हुन्छन् । आज देखिएको घनाजंगल दुई/चार दिनमै नांगो भइसक्छ ।’

साइपाल गाउँपालिकाको माथिल्लो औलागाड क्षेत्रमा फँडानीपछि बाँकी रहेको धुपी । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

गत वर्ष र यो वर्ष मात्रै बझाङका उच्च हिमाली भेगमा पर्ने विभिन्न जंगलबाट एक लाख क्विन्टलभन्दा बढी सेतकचिनी संकलन भएको व्यापारीहरू बताउँछन् । लामो समयदेखि यसको कारोबार गर्दै आएका साइपालका ढाक्पा लामाका अनुसार एक किलो सेतकचिनी पकाउन सरदर चार किलो दाउरा खर्च हुन्छ । उनकै भनाइलाई आधार मान्ने हो भने पनि बझाङमा दुई वर्षको अवधिमा सेतकचिनी पकाउन मात्रै चार करोड किलोभन्दा बढी दाउरा खर्च भइसकेको छ । यद्यपि यो विषयमा कुनै आधिकारिक अध्ययन भएको छैन । सुकेको दाउरा पाउन छोडेपछि आलै रूख बाल्ने गरिएको उनले सुनाए । ‘सुकेको दाउरा त पाउँदै पाइँदैन,’ ढाक्पा भन्छन्, ‘सुरुमा भट्टीमा आगो बाल्न मात्र समस्या हो, एकपटक सल्किएपछि आलै रूख पनि हुरुरु बल्छ ।’


भोजपत्रको विनाश

भोजपत्र साइटिस र आईयूसीएनले लोपोन्मुख प्रजातिमा सूचीकृत गरेको उच्च हिमाली भेगमा पाइने रूख प्रजातिको बिरुवा हो । सरकारले पनि यसलाई संरक्षित वनस्पतिकै रूपमा सूचीकृत गरेको छ । यार्सा संकलन क्रममा इन्धनका लागि धुपीको दाउरा बढी प्रयोग हुने गर्छ भने भेडा/च्यांग्राको आहाराका लागि भोजपत्रका रूख ढाल्ने गरिन्छ ।

‘यार्सा टिप्नेका कारण धुपीको जंगल सकियो, भेडावालाले भोजपत्र सिध्याए,’ साइपालकै जंगबहादुर धामीले भने, ‘भेडालाई पात खुवाउनका लागि सिंगै रूख ढाल्ने चलनका कारण भोजपत्र सकिएको हो ।’ साइपाल गाउँपालिकाको जंगल क्षेत्रमा मात्र बझाङ, बाजुरा, हुम्ला र मुगुका २५ हजारभन्दा बढी भेडा/च्यांग्रा चराउन ल्याउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।


बझाङ जिल्लाको उच्च हिमाली क्षेत्रका जंगलमा चैतदेखि असोजसम्म ३५ हजारभन्दा बढी भेडा/च्यांग्रा खुला रूपमा चराउने गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ । ‘भेडा/च्यांग्राको आहाराका लागि सिंगै रूख काट्ने चलनले वन विनाश बढाएको हो,’ केन्द्रका प्रमुख पशुपति नाथ भन्छन्, ‘एकपटक भेडा चरेको जंगलमा अर्को वर्ष रूख बाँकी नहुने गरी फँडानी गर्ने चलनले लेकाली वन जोखिममा पर्दै छ ।’


हराए जंगली जनावर

कुलभान बोहरा तत्कालीन काँडा गाउँ पञ्चायतका प्रधानपञ्च हुन् । ४० र ५० को दशकतिर तत्कालीन राजपरिवारका सदस्य र विदेशी नागरिक हेलिकप्टर लिएर यहाँका हिमाली जंगलमा सिकार खेल्न आउने गरेको उनी बताउँछन् । ‘पछिसम्म पनि हेलिकप्टरमा सिकारी आउँथे, कोही टेन्ट लगाएर एक–दुई दिन बस्थे । कोही ३/४ घण्टामै झारल, नाउर मारेर हेलिकप्टरमै लिएर फर्किन्थे,’ उनले भने, ‘त्यहाँ अहिले बोटबिरुवा नै देखिँदैनन् ।’

जंगली जनावर र पन्छीहरूको बथान देखिन छाडेकामा उनी चिन्ता व्यक्त गर्छन् । ‘लेककुँयाली र चिमालोका झ्याङमा देखिने डाँफे, मुनाल र कालिजका बथान तथा कस्तुरी, मृग अचेल कहाँ गए होलान् ?’ उनले भने । त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक सुरेश घिमिरेले एउटा जनावर, पन्छी वा वनस्पतिको संख्यामा कमी आउनेबित्तिकै त्यसमा आश्रित अर्कोलाई पनि जीवनचक्र सञ्चालनमा समस्या उत्पन्न हुने बताए ।

उनले नेपालको सुदूर र मध्यपश्चिमी क्षेत्रको उच्च हिमाली भेगको जंगल विनाशको क्रम बढ्दै गएका कारण यहाँको पारिस्थितिकीय प्रणाली नै खतरामा परेको र हिमचितुवाजस्ता दुर्लभ वन्यजन्तु लोप हुने जोखिम बढेको बताए ।


हराउँदै बहुमूल्य जडीबुटी

काँडाका जोवन बोहराका अनुसार पहिला पाइने धेरै जडीबुटी अचेल पाइन छाडेका छन् । डिभिजन वन कार्यालयको रेकर्ड केलाउने हो भने पनि जडीबुटी प्रतिवर्ष घट्दै गएको पुष्टि हुन्छ । कार्यालयका अनुसार प्रतिकिलो १० देखि १५ हजारसम्म बिक्री हुने वनलसुन, ८ देखि १२ हजार प्रतिकिलोसम्ममा बिक्री हुने सतुवा र यसैको हाराहारी मूल्य पर्ने गुजरगानो, सेतकचिनी, मुस्ली, कटुकी, जटामसी, वज्रदन्तीलगायत जडीबुटी वन विनाश र अव्यवस्थित दोहनका कारण लोप हुने अवस्थामा पुगेका छन् ।

०६६ सालमा ८ हजार ६ सय किलो निकासी भएको सतुवा ०७१ मा १ हजार ५ सय ३० किलोमा सीमित भएपछि तत्कालीन जिल्ला विकास समितिले ०७२ बाट निकासीमा प्रतिबन्ध लगाएको छ । यसको लुकिछिपी संकलन भइरहेको छ ।


यस्तै ०६९ सालमा झन्डै ४ हजार किलो वनलसुन निकासी भएको थियो । यो परिमाणको वनलसुनको तत्कालीन मूल्य ४ करोडभन्दा बढी हुन्छ । ०७१ मा आइपुग्दा ९ सय किलो मात्र निकासी भएको जिल्ला वनको तथ्यांक छ । लोप हुन लागेको भन्दै हाल वन लसुन संकलनमा पनि प्रतिबन्ध लगाइएको छ । ०६४ यता जिल्लाबाट बर्सेनि २४ देखि ३० प्रकारका जडीबुटी निकासी भइरहेकामा ०७५ सम्म आइपुग्दा यो संख्या ८ प्रकारमा सीमित भएको डिभिजन वन कार्यालयको रेकर्ड छ ।

प्राध्यापक घिमिरेका अनुसार जंगलमा वनस्पतिहरू तीनवटा तहमा अन्तरसम्बन्धित भएर बसेका हुन्छन् । ‘सबैभन्दा माथि रूख हुन्छ । रूखको छाया र ओसिलोपना पाएर त्यसको मुनि झाडी प्रजाति बसेका हुन्छन् । झाडीको आश्रय पाएर जमिनमा अन्य जडीबुटी र घाँस पलाउँछन्’, उनी भन्छन्, ‘माथिको रूख काटिँदा तिनीहरूको जैविक सम्बन्ध खलबलिन्छ । त्यसको तल रहेका सबै वनस्पतिलाई असर पर्छ । जडीबुटी हराउनुको कारण पनि त्यही हो ।’

यस्तै धुपी र फूल फुल्ने प्रजातिका बिरुवाको जंगल मासिँदा यसको असर पुतलीको जीवनचक्र र यार्सागुम्बा उत्पादनमा परेको इसिमोडका पसखलले बताए । ‘पुतलीको लार्भाबाट यार्सागुम्बा बन्छ तर प्राकृतिक बासस्थान र फूल फुल्ने प्रजातिका बिरुवाहरूको कमी हुँदै जाँदा पुतलीको जीवनचक्रमा असर पर्छ, यसले यार्साको उत्पादन प्रभावित हुन्छ,’ उनले भने । डिभिजन वनका निमित्त प्रमुख कपिल रावलका अनुसार फँडानी र अधिक संकलनका कारण कतिपय जडीबुटीको बीउसमेत मासिने अवस्थामा पुगेको छ ।


संवेदनशील वन

प्राध्यापक घिमिरेका अनुसार उच्च हिमाली क्षेत्रको वन अन्य क्षेत्रको वनको तुलनामा संवेदनशील हुन्छ । ‘किनभने यो क्षेत्र छदेखि आठ महिनासम्म हिउँले ढाकिन्छ, बाँकी अवधि पनि निकै जाडो हुन्छ,’ उनी भन्छन्, ‘जाडोमा बिरुवा हुर्कन धेरै समय लाग्छ ।’ तराई र मध्यपहाडमा दुई वर्षमा हुर्केको जत्रै बिरुवा हिमालमा हुर्कनका लागि २० वर्षभन्दा बढी समय लाग्ने उनी बताउँछन् । ‘हाम्रोमा एकपटकमा कति मानिस जाँदा त्यहाँको स्रोतले धान्न सक्छ भन्ने अध्ययन नै भएको छैन,’ उनले भने ।

डिभिजन वन कार्यालयका निमित प्रमुख कपिल रावलले अन्य जंगलको तुलनामा यहाँको वन फँडानी नभएको बताए । ‘हिमाली भेगमा मानिसको चहलपहल कम हुने भएकाले वन विनाश त्यति साह्रो हुँदैन जस्तो लाग्छ,’ उनले भने, ‘विकट भएका कारण हामी पनि अनुगमनमा जान सकेका छैनौं ।’

प्रकाशित : माघ ६, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×