कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय प्रशासनद्वारा बाह्रबिसे बजारलाई निषेधित क्षेत्र घोषणा

आइतबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म
अनिश तिवारी

सिन्धुपाल्चोक — घरटहरा भत्काएको विरोधमा स्थानीयको आन्दोलन चर्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे क्षेत्रमा निषेधित घोषणा गरेको छ ।

स्थानीय प्रशासनद्वारा बाह्रबिसे बजारलाई निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासनले विज्ञप्ति निकालेर आइतबार बिहान ८ देखि बेलुकी ५ बजेसम्म बाह्रबिसे क्षेत्रमा निषेधाज्ञा जारी भएको जनाएको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले निकालेको विज्ञप्तिमा हुलदंगा र अशान्ति हुन सक्ने देखिएको भन्दै बाह्रबिसे बजारबाट ३ सय मिटर पूर्व, पश्चिमतर्फ भोटेकोसी खोला (पुल राम्चे) र दक्षिणतर्फ सुनकोसी चोक र उत्तरतर्फ इलाका प्रहरी कार्यालय बाह्रबिसे नगरपालिका ४ सम्म निषेधित क्षेत्र ताेकिएको उल्लेख छ ।

शनिबार नगरले जथाभावी संरचना भत्काएको भन्दै स्थानीयले आन्दोलित बनेका थिए । उनीहरुले बिनासूचना जबर्जस्ती टहरा र संरचना बिगारेर त्रास मच्याएको आरोप लगाउँदै स्थानीय प्रशासनविरुद्ध नाराबाजी गरेका थिए ।

बाह्रबिसे नगरले मापदण्डभित्र रहे पनि भत्काएको संरचना जीर्णोद्धार गर्नुपर्ने र छलफलमा आउनुपर्ने माग स्थानीयले राखेका छन् । बजारलाई सुन्दर बनाउने गुरुयोजना र कुन संरचना, कति मिटर भन्ने मापदण्ड प्रस्तुत गरेर मात्रै संरचना हटाउने विषय अगाडि बढ्न दिने उद्देश्य राखिएको बाह्रबिसे नगरपालिकाका जयकान्त श्रेष्ठले जानकारी दिए ।


‘हामी विकासका विरोधी होइनौं, तर बिनासूचना, बिनामापदण्ड धमाधम घर भत्काइएको छ, यहाँ रिसइबी साँधिएकोजस्तो देखिएको छ, यो एकदमै दुखद् कुरा हो,’ बाह्रबिसे बजारका स्थानीय श्रेष्ठले भने । एक्स्काभेटर लिएर सडकमा उत्रेका बाह्रबिसे नगर मेयरसहित जनप्रतिनिधि र बलिया हातपाउ भएका युवाले आतंक मच्चाएको उनले आरोप लगाए । उनका अनुसार कति मिटरसम्म कस्तो संरचना हटाउने भन्ने कुनै सूचना नदिएपछि अन्योलमा परेका स्थानीयले सडक नालीछेउसम्मको संरचना भत्काउँदै थिए ।

छलफलमा नआए आइतबार बजार ठप्प पार्ने र नाराबाजी, जुलुसमा उत्रने चेतावनी स्थानीयको छ ।

प्रकाशित : माघ ५, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?