छोरा–बुहारी सडक बनाउने, बाबु अनुगमन गर्ने- समाचार - कान्तिपुर समाचार

छोरा–बुहारी सडक बनाउने, बाबु अनुगमन गर्ने

विनु तिम्सिना

(विराटनगर) — विराटनगर–१४ का दुई सडक बनाउन दुई बेग्लाबेग्लै उपभोक्ता समिति बनाइएका छन् । नौ सय मिटर र ३ सय ५० मिटर लम्बाइका ती सडक बनाउन गठित उपभोक्ता समितिका पदाधिकारी सोही वडाका कार्यवाहक वडाध्यक्ष महिचन्द यादवका मामाका छोरा–बुहारी हुन् । तिनको अनुगमन समिति संयोजकमा भने पदाधिकारीमध्येकै एक जनाका बुबा छन् । 

३० लाख बजेट रहेको जतुवास्थित सिरु ठाकुरको घरदेखि दक्षिण सरस्वती चोक पूर्वउत्तर पर्ने गोपाल यादवको घरसम्मको ९ सय मिटर सडक निर्माणका लागि गत कात्तिकमा वडाध्यक्ष यादवका मामाका छोरा सुशील यादवको अध्यक्षतामा समिति गठन गरिएको हो । समिति सदस्यमा मामाका अर्का छोरा चन्द्रशेखर यादव छन् ।


उक्त कामको गुणस्तर अनुगमन गर्न गठित समितिमा कार्यवाहक वडाध्यक्ष यादवका मामाकी बुहारी अनिताकुमारी यादव पनि छिन् ।


छनोटमा परेको अर्को सडक योजनाको उपभोक्ता समितिमा पनि कार्यवाहक वडाध्यक्ष यादवले आफन्त नै राखेका छन् । उक्त वडाका गुलाई यादवको घरदेखि दक्षिण रिङरोडसम्म करिब ३ सय ५० मिटरको सडकका लागि २४ लाख ५० हजार बजेट छुट्याइएको छ । यसका लागि गठित उपभोक्ता समितिमा वडाध्यक्षकै मामाका छोराहरू रमेशकुमार यादव अध्यक्ष र चन्द्रशेखर यादव सचिव छन् । कोषाध्यक्षमा अघिल्लो सडक योजनाको उपभोक्ता समिति अध्यक्ष सुशीलकी श्रीमती चन्द्रकलादेवी यादव छिन् । काम अनुगमन गर्नका लागि गठित समिति संयोजक चन्द्रशेखरकै बुबा गोपाल यादव छन् ।


महानगरपालिकाको योजनामा परेको उक्त सडक ग्राभेल गर्नका लागि बनाइएको लागत अनुमान नै गलत भएको स्थानीयको आरोप छ ।


महानगरपालिकाबाट विनियोजन भएको २४ लाख र स्थानीय जनसहभागिताबाट ६ लाख गरी जम्मा ३० लाख रुपैयाँमा निर्माण भइरहेको उक्त नौ सय मिटर सडक फागुनभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । सडक निर्माणका लागि उपभोक्ता समितिले महानगरपालिकालाई बुझाएको इस्टिमेटअनुसार पक्की नाला निर्माण भएका ठाउँमा एक मिटरको खाल्टो र ५ मिटरको चौडाइ देखाइएको छ । उक्त खाल्टामा माटो हाल्न ९ लाख ११ हजार ७ सय ६१ रुपैयाँ बजेट छुट्याएको छ ।


नौ सय मिटरको अर्को सडकअन्तर्गत कुनै पनि ठाउँमा ठूला खाल्डा छैनन् । जबकि प्राविधिकले ३३ इन्च बढी माटो हाल्नुपर्ने इस्टिमेटमा देखाइएको छ । ‘निर्माणाधीन सडकमा कुनै अवरोध नभए पनि सडकको ‘साइट क्लियर’ नाममा समेत बजेट छुट्याइएको छ,’ नाम उल्लेख नगर्न अनुरोध गर्दै एक स्थानीयले भने, ‘उपभोक्ता समितिमा सबै आफन्त राखेर गलत इस्टिमेट बनाई रकम हिनामिना भइरहेको छ ।’


वडाध्यक्ष बलदेव यादव आफ्नै छिमेकी समानन्द यादव हत्या प्रकरणमा संलग्न देखिएपछि पक्राउ परिने डरले फरार छन् । उनी फरार भएपछि १४ नम्बर वडाको कार्यवाहक जिम्मेवारी महिचन्द यादवलाई दिइएको हो । आफूले खोजेको केटीसँग छोराको विवाह नगराएको भन्दै बलदेव यादवले आफ्नै घरमा पञ्चायत बसाएर समानन्दलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । गम्भीर घाइते भएका समानन्दको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : माघ ५, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

‘वैज्ञानिक’ बाट ठगिएको गुनासो

विनु तिम्सिना

(विराटनगर) — एभरेस्ट साइन्स सेन्टर शान्ति वनका सञ्चालक तथा वैज्ञानिक दिलिप अधिकारीले धितोमा प्रयोग गरेको सम्पत्ति फिर्ता नगर्दा विराटनगरका अग्रज पत्रकार शिवबहादुर कार्की ठगिएका छन् । अधिकारीले २०६१ कात्तिकमा कार्कीसँग २७ लाख १५ हजार रुपैयाँ लिएका थिए ।

एभरेस्ट साइन्स सेन्टर स्थापना गर्न अधिकारीले आफूसँग सहयोगको आचना गरेपछि चिनजानको सज्जन मान्छे भनेर आफूले पैसा सापटी दिएको कार्कीले बताए । अधिकारीले आफू अमेरिकाको नासामा काम गरेर आएको र आफ्नै ठाउँमा केही गर्ने चाहना रहेको बताएपछि आफूले आफ्नो घर धितो राखेर उनलाई ऋण दिएको कार्कीको भनाइ छ ।

कार्कीले ३१ धुर जग्गामा बनेको आफ्नो १६ कोठे घर तत्कालीन सीएसआईटी (हाल महालक्ष्मी विकास बैंक) मा धितो राखेर अधिकारीलाई २७ लाख १५ हजार दिएका थिए । यसबीचमा आफूले पटक पटक उक्त रकम माग्दा ‘दिन्छु, दिइहाल्छु’ भनेर नदिएको कार्कीले गुनासो गरे ।

अधिकारीले बैंकको उक्त ऋण नतिरेपछि आफ्नो घर लिलाम हुने चरणमा पुगेपछि आफैंले एक करोड तीन लाख रुपैयाँ तिरेर घरजग्गा उकासेको पीडित कार्कीका छोरा सुभाष कार्कीले बताए । आफ्ना भएका केही घडेरी र विभिन्न बैंक तथा साथीभाइसँग ऋण लिएर आफूले उक्त घरजग्गा लिलाम हुनबाट बचाएको उनले गुनासो गरे ।

१७ वर्ष लागिसक्दा समेत अधिकारीले उक्त रकम फिर्ता नगरेको र सम्पर्कविहीन भएकाले पत्रकार महासंघ मोरङले विभिन्न अगुवाको सहयोगमा उक्त समस्या समाधानका लागि पहलसमेत गरेको थियो । ब्याजसहित अधिकारीले एक करोड बढी रकम तिर्नुपर्ने भए पनि महासंघको पहलमा भएको विभिन्न चरणको छलफलमा उनले ९१ लाख रुपैयाँ तिर्ने सहमतिसहितको कागज गरेको सुभाष कार्कीले बताए ।

पत्रकार महासंघको पहलमा वैशाखमा बसेको छलफलमा उनले ९१ लाख रुपैयाँ तिर्ने सहमति गरेका थिए । जेठ चार गतेको अर्को छलफलमा उनले असोज ३० गतेको मिति राखेर ४४ लाख ९० हजार र मंसिर ३० गतेको मिति राखेर ४१ लाख १० हजारको चेक कार्कीलाई दिएका थिए । एभरेस्ट बैंक लिमिटेडमा रहेको उनको खातामा रकम नै नभएपछि उक्त चेक बाउन्स भएको कार्कीले बताए ।

चेक बाउन्स भए पनि अधिकारीले पुस मसान्तसम्ममा रकम फिर्ता गर्ने आश्वासन दिएको भए पनि नदिएको उनले गुनासो गरे । आफूले पनि विभिन्न व्यक्ति र बैंकबाट ऋण लिएर आफ्नो घरजग्गा उकासेको र उक्त ऋणबापतको ब्याजको मात्रै भए पनि रकम तत्कालका लागि दिन आफूले पटक पटक अनुरोध गरेको उनले गुनासो गरे ।

‘विभिन्न चरणको वार्तापछि त्यो चेक हात लागेको थियो,’ कार्कीले भने, ‘चेक पाएपछि बल्ल आफू ऋणमुक्त हुने आशा पलाएको थियो तर उनले दिएको चेक नै बाउन्स भयो ।’ यसबीचमा अधिकारीले विभिन्न चरणमा गरेर पाँच लाख रुपैयाँ तिरेको भए पनि अझै ८६ लाख रुपैयाँ तिर्न बाँकी रहेको कार्कीले बताए । उनले दिएको चेकसमेत बाउन्स भएको र राखेको भाकामा रकम फिर्ता नगरेकाले अब कानुनी उपचारमा जाने उनले बताए ।

प्रकाशित : माघ २, २०७६ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×