गायिका राउतलाई आइतबार झिकाएर अनुसन्धान गर्ने तयारी - समाचार - कान्तिपुर समाचार

गायिका राउतलाई आइतबार झिकाएर अनुसन्धान गर्ने तयारी 

मातृका दाहाल

काठमाडौँ — मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ अनुसार गायिका आस्था राउतमाथि कारबाही गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

महानगरीय प्रहरी कार्यालयले राउतमाथि ऐनको दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ । अभद्र व्यवहार गर्न नहुने संहिताको ११८ नम्बर बुँदाको प्रावधान अनुसार अनुसन्धान भइरहेको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो ।


उक्त दफामा भनिएको छ, 'कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।'


स्रोत अनुसार गायिका राउतलाई आइतबार प्रहरीले झिकाएर अनुसन्धान गर्ने तयारी गर्ने तयारी गरेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिने पनि तयारी गरेको छ । अभद्र व्यवहार कसुरमा प्रमुख जिल्ला अधिकारीले आरोपितलाई कैद र जरिवाना गराउन सक्छन् ।


पीडित जवान रमिता श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार राउतविरुद्ध उजुरी दिएकी थिइन्। उजुरीको व्यहोरा र सीसीटीभी फुटेज महानगरीय प्रहरी कार्यालयले काठमाडौं परिसरलाई कारबाही थाल्न निर्देशन दिएको थियो ।


यो पनि पढ्नुहोस्ः

आस्था राउतमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने

प्रकाशित : माघ ४, २०७६ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्

विष्टको जन्मोत्सवमा अनुवाद पुस्तक सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — मानवशास्त्री डाेरबहादुर विष्टकाे ९३ औं जन्मोत्सवकाे उपलक्ष्यमा पारेर पुस्तक सार्वजनिक गरिएकाे छ । त्रिभुवन विश्वविद्यालयकाे मानवशास्त्र विभाग र कर्णाली इन्स्टिच्युटको आयोजनामा विष्टको परिवारले किताबा प्रकाशन गरेको हो ।

विष्टको सन् १९९१ मा प्रकाशित ‘फ्याटलिज्म एन्ड डेभलपमेन्टः नेपाल्स स्ट्रगल्स फर मोर्डनाइजेसन’ किताबको नेपाली अुनवाद ‘भाग्यवाद र विकास आधुनिकीकरण हेतु नेपालको जमर्को’ शनिबार सार्वजनिक गरिएको हो । यस पुस्तक वसन्त थापाले अनुवाद गरेका हुन् ।

‘सन् १९९१ मा पहिलोपटक यस पुस्तक प्रकाशित भएको यस पुस्तक निकै वर्षपछि अनुवाद गर्न सकियो तर त्यसबेलाको बहस र अहिलेको बहस उस्तै छ । केही परिवर्तन भएको छैन । त्यसैले यस पुस्तक आजपनि उत्तिकै सार्न्दभीक छ,’ थापाले भने ।

कार्यक्रममा अनुवादक थापा, मानवशास्त्री बिहारी कृष्ण श्रेष्ठ र जगमान गुरुङले विष्टको जीवन र उनको कामको बारेका स्मरण सुनाएका थिए ।

डोरबहादुरको पुस्तकले ईश्वर वा भाग्यमा भर पर्ने चलनले नेपाली समाज विकास हुन सकेन भन्ने तर्कलाई समाजशास्त्रीय अवधारणामार्फत् यस पुस्तकमा प्रस्तुत गरेका थिए ।

कर्णाली इन्स्टिच्युट डोरबहादुरले जुम्लाको चौधबीसामा २०४८ सालमा खडा गरेका थिए । यसै इन्स्टिच्युटको मार्फत् उनले चौधबीसाको खस बस्तीका बारेमा प्राज्ञिक अध्ययन र अनुसन्धान गरेका थिए । उनले त्यस भेगमा अध्ययनमात्र नगरेर समाज विज्ञानका सिद्धान्तहरुलाई लागू गर्नपनि खोजेका थिए । २०५२ सालको अन्त्यतिर उनी चौधबीसा हुँदै नेपालगन्जबाट कता हराए अहिलेसम्म थाहा छैन ।

राणाशासनपछिको पुस्ताका मानवशास्त्री विष्टलाई ‘फादर अफ नेप्लीज एन्थ्रोपोलोजी’ पनि मानिन्छ । सन् १९७८ मा उनलाई त्रिभुवन विश्वविद्यालयमा एन्थ्रोपोलजीका प्रोफेसर बनाइयो । त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र र मानवशास्त्र विभागको सुरुवात गर्न पनि उनले महत्वपूर्ण भूमिका खेले ।

उनले पिपुल अफ नेपाल (सन् १९६७)मा नेपाली भूभागमा बसोबास गर्दै आएका जातिहरुको मानवशास्त्रीय अध्ययन र लेखन गरेका थिए । उनको ‘सोताला’ उपन्यास र कथाहरु पनि प्रकाशित छन् ।

प्रकाशित : माघ ४, २०७६ १९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×