कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोल्टी मर्‍यो, एक्लिइन् मितिनी

काठमाडौँ — नेपालले चीन सरकारलाई उपहारस्वरूप दिएको ‘सोल्टी’ नामको एकसिंगे भाले गैंडा सांघाई पार्कमा मरेको छ । पेटको समस्याले गैंडा मरेको जानकारी चीनले नेपाललाई गराएको छ । 

सोल्टी मर्‍यो, एक्लिइन् मितिनी

त्यसको उमेर करिब चार वर्ष थियो । यो उमेर अर्धवयस्क (टीन एज) हो । एकसिंगे गैंडामा विद्यावारिधि शान्तराज ज्ञवालीका अनुसार गैंडा सामान्यतया २० वर्षसम्म बाँच्छ । एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइन्छन् ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले केही दिनअघि ‘सोल्टी’ मरेको पुष्टि गरे । ‘के कारणले मरेको हो, विस्तृत विवरण चीनबाट आइसकेको छैन,’ भट्टराईले बुधबार कान्तिपुरसित भने, ‘प्राविधिकहरूले अध्ययन गरेपछि कारण थाहा हुनेछ ।’ सरकारले २०७५ भदौ पहिलो साता करिब साढे दुई वर्षको ‘सोल्टी’ सहित ‘मितिनी’ नामको पोथी गैंडा चीनलाई हस्तान्तरण गरेको थियो । भाले मरेपछि सांघाई पार्कमा पोथी मितिनी एक्लिएको छ । ‘सोल्टी’ र ‘मितिनी’ लाई सांघाई पार्कमा राखिएको थियो ।


हस्तान्तरण गर्नुअघि उक्त गैंडाको स्वास्थ्यलगायत गतिविधि जाँचमा संलग्न चितवन निकुञ्जका वरिष्ठ पशुचिकित्सक कमलप्रसाद गैरेका अनुसार ‘सोल्टी’ स्वस्थ थियो । ‘सबै जाँच गर्दा कुनै रोग थिएन,’ गैरेले भने, ‘त्यही आधारमा स्वास्थ्य प्रतिवेदन पनि बनाएका थियौं ।’ सरकारले गैंडासँगै त्यसको स्वास्थ्य अवस्थाको प्रतिवेदन, साइटिस निर्यात प्रमाणपत्र र प्रजाति उत्पत्ति प्रमाणपत्र पनि चीनलाई दिएको थियो । ‘सोल्टी’ लाई निकुञ्जले नेपाल–भारत सीमा त्रिवेणीबाट उद्धार गरेर संरक्षण गर्दै आएको थियो । गैंडा मर्नुको कारण अध्ययन गर्न चीनले नेपाली प्राविधिक टोली माग गरेको छ । वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदान गर्न र दुई देशबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले सरकारले चीनलाई गैंडा दिएको थियो ।


केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७३ असार २६ मा सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो ।


त्यसअनुसार चितवन निकुञ्जका चारवटा गैंडा दुईपटक गरेर वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चीन सरकारलाई हस्तान्तरण गरेका थिए । पहिलो जोडी भद्र (भाले) र रुपसी (पोथी) २०७५ असार २८ मा चीन सरकारलाई हस्तान्तरण गरिएको थियो । ती जोडीलाई चीनको ग्वान्जाओ चेमेलोङ पार्कमा छन् ।


एकसिंगे गैंडाको संरक्षण एवं प्रवर्द्धनका लागि र ‘गैंडा कूटनीति’ स्वरूप विभिन्न देशलाई उपहार दिँदै आएको छ । भारत, अमेरिका, जापान, थाइल्यान्ड, अस्ट्रियालगायत मुलुकलाई एकसिंगे गैंडा उपहार दिएको छ तर तिनको अवस्थाबारे भने सरकारी संयन्त्र अनभिज्ञ छ । सन् २०१५ को गणनाअनुसार नेपालमा ६ सय ४५ गैंडा छन् । सबभन्दा बढी चितवनमा ६ सय ५ गैंडा छन् । अरू पर्सा, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा छन् ।

प्रकाशित : माघ २, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?