कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुख ‘प्रतिष्ठाको लडाइँ’, नेकपाको शीर्षतहमै ध्रुवीकरण

बबिता शर्मा

काठमाडौँ — दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले भावी सभामुखलाई आफ्नो प्रतिष्ठाको विषय बनाएपछि नेकपाको शीर्षतहमै ध्रुवीकरण देखिएको छ । ओली र दाहाल दुवैले सचिवालयका सदस्यलाई आफ्नो पक्षमा पार्न प्रयास गरेपछि यस्तो ध्रुवीकरण देखिएको हो ।

सभामुख ‘प्रतिष्ठाको लडाइँ’, नेकपाको शीर्षतहमै ध्रुवीकरण

सभामुख चयन र उपसभामुखको राजीनामालाई लिएर दाहालसहित सचिवालय सदस्यहरु वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पुस २३ गते गौतम निवास भैंसेपाटीमा छलफल गरेपछि सशंकित ओलीले नयाँ ध्रुवीकरण थालेका हुन् । दाहालले पनि भैंसेपाटी छलफलमा सहभागी नेताहरुसँगको संवादलाई जारी राखेका छन् ।

स्रोतका अनुसार आइतबार र त्यसपछि अर्को एकदिन गरेर दाहाल र नेपालबीच दुईपटक संवाद भइसकेको छ भने खनाल र गौतमसँग पनि दाहाल संवादमै छन् । यता ओलीले पार्टी सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, पार्टी सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

सभामुख चयनको विषय पार्टी सचिवालय बैठकमा प्रवेश गरे, त्यहाँ पनि शीर्षतहमै ध्रुवीकरणको सम्भावना रहेको सचिवालयका एक नेता बताउँछन् ।

‘अब संसदलाई बन्धक बनाउनु हुँदैन । ६ गतेअघि दुई अध्यक्षले सहमतिमा ट्ग्युांउनुभयो भने ठीकै छ । होइन भने अध्यक्षले सचिवालयमा प्रस्ताव गर्नुहुन्छ । र, बहुमतले टुंग्याउने दोस्रो विकल्प छ,’ सचिवालयका ती नेताले भने ।

अझ उपसभामुखले पार्टी निर्णयलाई समेत बेवास्ता गर्दै राजीनामा दिन अस्वीकार गरेपछि नेकपा शीर्ष नेतृत्वबीच नयाँखालको ध्रुवीकरण बनेको छ । भैंसेपाटी छलफलमा सहभागी नेताहरुको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको आडभरोसमा उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेको बुझाई छ । यो बुझाईले ओली र दाहालबीच सभामुख कसले पाउने भन्नेमा थप पेचिलो विवाद देखिएको छ ।

शनिबार बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो । नेकपाले सभामुख पदमा उम्मेद्वारी दिने निर्णय गर्दै यसका लागि उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन भनेको थियो । तर, उनले आफू नेकपाको पार्टी सदस्य नभएको भन्दै नेकपाले निर्देशन दिन नमिल्ने बताउँदै आएकी छन् ।

उनको राजीनामालाई लिएर अध्यक्ष ओली औपचारिक रुपमा नबोले पनि वरिष्ठ नेता खनालले भने उपसभामुख तुम्बाहाङ्फेले पार्टीको निर्देशन मान्नु पर्ने बताए ।

‘पार्टीभन्दा माथि कोही हुँदैन । उहाँलाई पार्टीले नै उपसभामुख बनाएको हो । अहिले उहाँलाई राजीनामा दिन निर्देशन दिएको छ । उहाँले दिनुहुन्छ,’ खनालले भने ।

नेकपाका अर्का वरिष्ठ नेता नेपाल सभामुखको विषयमा सार्वजनिक रुपमा बोलेका छैनन् । तर, उनी निकट नेताहरुका अनुसार नेपालले दाहाललाई साथ दिने वचन दिएका छन् ।

बुधबार गृहजिल्ला गोरखा पुगेका सचिवालय सदस्य श्रेष्ठले पनि उपसभामुखले पहिला राजीनामा दिएर निकास दिनुपर्ने बताएका छन् ।

पछिल्लो समीकरण

नेकपामा पछिल्लो समीकरणअनुसार नौ सदस्यीय सचिवालयमा भैंसेपाटी छलफलमा सहभागी पाँच नेता दाहालतिर देखिएका छन् । ओलीले पोखरेल, थापा र पौडेललाई आफ्नो ध्रुवमा राखेका छन् । ओलीबाहेक भैंसेपाटी छलफलमा पोखरेल, थापा र पौडेल सहभागी थिएनन् । त्यसबेला थापा चीन भ्रमणमा थिए । भैंसेपाटी छलफललगत्तै ओलीले दाहाल र श्रेष्ठलाई बालुवाटार बोलाएर त्यहाँ भएको छलफलबारे जानकारी मागेका थिए ।

भैंसेपाटी छलफलमा सहभागी नेताहरु पूर्वसहमति अनुसार सभामुख पूर्वमाओवादीले पाउनुपर्ने पक्षमा छन् । छोटो प्रतिक्रियामा नेता गौतम भन्छन्, ‘पूर्वसहमति अनुसार जाँदा नै व्यवहारिक होला ।’

ओली र उनी निकट नेताहरु भने सभामुख पूर्वमाओवादीलाई दिन नहुने अडानमा छन् ।

तत्कालीन बामगठबन्धन रहेका एमाले र माओवादीले शक्ति बाँडफाँड गर्दा राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमाले र उपपराष्ट्रपति र सभामुख माओवादीले पाउने सहमति बनेको थियो । त्यसै अनुसार उनीहरुले पद बाँडेका थिए ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले जर्बजस्ती करणीको आरोप लगाएपछि असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । महराको राजीनामासँगै साढे तीन महिनादेखि सभामुख कसले पाउने भनेर पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद थियो । यसको नेतृत्व दुई अध्यक्ष ओली र दाहालले गर्दै आएका छन् ।

सभामुखलाई लिएर राष्ट्रपतिको समेत चासो जोडिएपछि सभामुख चयनको विषय त्रिपक्षीय शक्ति संघर्षमा प्रवेश गरेको थियो, जसले यसलाई थप पेचिलो बनाइदिएको थियो ।

प्रधानमन्त्री एवं अध्यक्ष ओली सुवास नेम्वाङ्लाई सभामुख बनाउने पक्षमा छन् भने दाहालले अग्नि सापकोटालाई अगाडि सारेका छन् । राष्ट्रपति विद्या भण्डारीको सद्भाव र समर्थन उपसभामुख तुम्बाहाङ्फेलाई छ । पूर्वसहमति र शक्ति बाँडफाँड अनुसार सभामुख छाड्नै नसक्ने दाहालको अडान छ । तर, प्रधानमन्त्री ओलीले पार्टी एकता भएकाले ‘पूर्व–पश्चिम’को कुनै अर्थ नरहने र अनुभवी व्यक्ति सभामुख हुनुपर्ने बताएका छन् । राष्ट्रपति भण्डारीको साथ पाएपछि उपसभामुख तुम्बाहाङ्फेले आफूलाई सभामुखको प्रमुख दावेदार मानेकी छिन् । र, यो विषय कति पेचीलो बनेको छ भन्ने संकेत मंगलबार चितवन पुगेका अध्यक्ष दाहालले गरेका छन् ।


‘कहिलेकाहीं केन्द्रीय राजनीतिमा अलिअलि जटिलता देखा पर्छन् । काठमाडौंमा अलिअलि जटिलता छन् । मलाई समयको निक्कै दबाब थियो । जटीलता समाधान गर्नका लागि लगातार छलफल गर्नुपर्ने थियो । यस्तोबेला बाहिर नजान साथीहरुले भन्नुभएको थियो,’ दाहालले भनेका थिए ।


प्रकाशित : माघ १, २०७६ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?