टप्पुमा घटे जलपन्छी- समाचार - कान्तिपुर समाचार

टप्पुमा घटे जलपन्छी

कान्तिपुर संवाददाता

इटहरी — उच्च हिमाली भेगबाट जाडो छल्न कोसीटप्पु आरक्ष क्षेत्रको सिमसार आइपुग्ने चराको संख्या घटेको छ । सोमबार सम्पन्न हिउँदे पन्छी गणनामा यस्तो पाइएको हो । कोसी पंक्षी समाज र कोसीटप्पु वन्यजन्तु आरक्षको अगुवाइमा भएको पाँचदिने गणनामा हिउँदे जलपन्छी निकै कम पाइएको छ ।

आरक्ष र आसपासका क्षेत्रमा पाइने चराको तथ्यांक लिन २२ जनाको टोली खटिएको थियो । ‘चराको संख्या घट्नु चिन्ताको विषय हो,’ आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले भने, ‘पर्यटक टप्पु आउने नै चरा हेर्नका लागि हो । चरा नै नभए के हेर्छन् ।’ उनका अनुसार घाँसे मैदान, सिमसार र वनक्षेत्रमा गरी तीन भागमा गणना गरिएको थियो । आहाराको कमी, बासस्थान विनाश र खेतबारीमा विषादी प्रयोग गरिँदा चराको संख्या घट्दै गएको देखिएको उनले बताए । आरक्ष आसपासका बासिन्दालाई संरक्षित क्षेत्रभित्र माछा मार्न दिने गरिएको छ । धेरैजसो चराका मुख्य आहारा नै माछा हो । भित्र माछा मार्न दिने प्रावधानका कारण चराको आहारा दुर्लभ भएको चौधरीको भनाइ छ ।


‘बाह्रै महिना माछा मार्नमा दिइने इजाजतमा संशोधन जरुरी छ,’ उनले भने, ‘माछा मार्ने निश्चित स्थान र समय दिनुपर्छ ।’ पछिल्लो समय विद्युतीय करेन्टबाट माछा मारिने हुँदा पनि चराको आहारा मासिँदै गएको उनले बताए । सिमसार क्षेत्र संरक्षणका लागि गत वर्ष आरक्षले १० वटा पोखरी खनाएको थियो । यो वर्ष चारवटा थपिएका छन् । ‘पोखरी खनेर मात्र हुँदैन । आरक्ष आसपासका बासिन्दाको आर्थिक स्रोतको दायरा वृद्धि गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यति नभएसम्म चरा र वन्यजन्तुको सुरक्षा गर्न गाह्रो छ ।’ बजेट न्यून भएका कारण आरक्षले उपलब्धिमूलक काम गर्न नसकेको उनले बताए ।


सप्तकोसीको बाढीले आरक्ष र आसपासका कतिपय सिमसार क्षेत्र मासिएका थिए । भएका सिमसार क्षेत्र पनि झारले ढाकिएको अवस्था छ । आरक्षले सफाइमा ध्यान नदिँदा चराका लागि बासस्थान घटेको सरोकारवाला बताउँछन् । कोसी पन्छी समाजका सदस्य अजित तिम्सिनाले ठूलो झुन्डमा आउने चरा पछिल्लो समय देख्नै नपाइएको बताए । ‘यो पटकको गणनामा निकै थोरै चरा देखिए,’ उनले भने, ‘ठूला बथान देख्न पाइएन ।’ चराको संख्या घटेपछि दुर्लभ प्रजातिको अवलोकन र अनुसन्धान गर्न आउनेको संख्या पनि घटेको छ ।


गणनामा खटिएकाले बितेका वर्ष जसरी हिउँदे चराका बथान यस पटक नदेखिएको बताए । गणनामा खटिएका सञ्जीव आचार्यले भने, ‘जाडो छल्न आउने चराका प्रजाति निकै घटेछन् ।’ चराको संख्या घटेपछि आरक्षमा घुम्न आउनेको संख्यामा असर पर्ने अवस्था देखिएको उनले बताए । आरक्ष क्षेत्रमा ५ सय २६ प्रजातिका चरा पाइएको रेकर्ड छ । यस पटकको गणनामा करिब ३० प्रतिशत चरा घटेको पाइएको गणनामा खटिएकाहरूले बताएका छन् ।

प्रकाशित : माघ १, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्

गणितका सूत्र सिकाउँदै

सुम्निमा चाम्लिङ

इटहरी — इटहरीको मुख्य चोकदेखि केही मिटर दक्षिण पश्चिम पुगेपछि सरस्वती सदन माध्यमिक विद्यालय पुगिन्छ । गैसारमा रहेको यो २००७ मा स्थापना भएको नगरकै जेठो स्कुल हो । चार वर्षअघिसम्म अन्य सामान्य शैक्षिक गुणस्तर भएका सामुदायिक विद्यालयभन्दा यो फरक थिएन । शिक्षकहरू नियमित पढाउन आउँथे । विद्यार्थी संख्याअनुसार उपस्थिति उति हुँदैनथ्यो ।

शिक्षक दरबन्दी र स्रोत साधन अभाव उत्तिकै थियो । भएका विद्यार्थी घट्दो क्रममा थियो । २०६५ सालमा राहत कोटामा शिक्षक वासुदेव कर्ण यहाँ आए । विषयगत शिक्षकको अभावमा निजी स्रोतले शिक्षक राख्नुपर्ने अवस्थामा उनी जागिर खान सेवामा प्रवेश गरेका थिए ।

विद्यार्थीको सख्या घटेर २ सय ७० जना भएको थियो । २०७३ सालमा विद्यालयका निमित प्रधानाध्यापक भएपछि कर्णले विस्तारै शैक्षिक गुणस्तर सुधारको चरण अघि बढाए । १२ कक्षासम्म पढाइ हुने विद्यालयमा विद्यार्थी ७ सय ८२ पुगेका छन् । विद्यार्थीको संख्या बढ्यो, पढाउने तरिकाहरूमा सुधार ल्याइयो । सबैभन्दा महत्वपुर्ण कुरा कर्णले विद्यार्थी र अभिभावकको मन जित्न सके । यसैको कारण सबैको प्रिय ‘वासु सर’ भए ।

गणितका सुत्रदेखि विज्ञानका जस्ता अप्ठ्यारा विषयलाई समेत सरल भाषामा बुझाउन सक्ने उनको क्षमता छ । गत मंसिर ३ देखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका उनी शैक्षिक गुणस्तरबारे चिन्तनशील छन् । विद्यालयमा कम्प्युटर र विज्ञान प्रयोगशाला सुरु भएको छ ।

विद्यार्थीले विज्ञान विषयमा सैद्धान्तिकसँगै प्रयोगशालामा अभ्यास पनि गर्न पाएका छन् । कक्षा १२ सम्मलाई माध्यमिक तह बनाइएपछि विद्यालयले कक्षा थप्ने वा ८ मा झार्ने भन्ने अन्योलबीच शिक्षक र अभिभावकले वासु सरलाई थप्नेमा साथ दिएका हुन् ।
एकातिर २०७० सालमा सुनसरी जिल्लाभरीका विद्यालयहरू मध्ये एसईईमा कमजोर नतिजा आएको थियो । तर उनैको पहलमा कक्षा १२ समेत दुई वर्षअघिबाट सुरु भएको छ । विज्ञान र प्राविधिक विषय पढ्ने विद्यार्थी बाहेक सबै विद्यार्थी यही विषयमा हाल अध्ययन गरिरहेका छन् । आगामी सत्रमा नयाँ कोर्षहरू थप्ने योजना छ ।

शिक्षण पेशा जागिर मात्र नभएर समर्पण जरुरी हुने उनको भनाइ छ । त्यसैले त आज विद्यार्थीले अप्ठ्यारो मान्ने गणितलाई समेत सरल तरिकाबाट सुत्र प्रयोग गर्न सिकाउन सक्ने भएका छन् । हुन त उनको पारिवारिक पृष्ठभुमी समेत शिक्षण पेशासँग जोडिएको छ । उनका बुवा गणित विषयका शिक्षक थिए । मोरङको सुन्दर हरैंचामा हुर्केका वासुलाई पनि सानैदेखि गणित विषयमा झुकाव थियो । त्यसैले उनले गणित लिएर स्नातक गरेपछि शिक्षकको जागिर सुरु गरेका हुन् । विद्यार्थी पढाउँदा पढाउँदै समाजशास्त्र र गणित विषयमा स्नातकोत्तर गरिसकेका छन् । गैसारको विद्यालयमा पढ्ने अधिकांश मजदुर परिवारका बालबालिका छन् । विद्यालयको बिदाको समयमा वबसु सर लगायत अन्य शिक्षकहरू विद्यार्थीको घर जान्छन् । अभिभावकलाई भेट्छन् । विद्यार्थीको आनीबानी र पढाइका विषयमा छलफल गर्छन् ।

अभिभावकको पारिवारिक समस्यामा समेत सकेको सहयोग गर्ने गर्छन् । कतिपय विद्यार्थीहरू आफ्नो अभिभावकलाई बताउन नसकेका कुरा समेत उनै बासु सरलाई भने बताउने गरेका छन् । प्रत्येक अभिभाकवले विद्यार्थीको बारेमा निर्णय लिनुपूर्व उनै बासु सरलाई सोध्ने गर्छन् ।
‘विषय रोचक बनाउन सक्नुपर्छ । नत्र यसै पनि विद्यार्थी गणितदेखि टाढा भाग्ने गर्छन्,’ प्रधानाध्यापक कर्ण भन्छन्, ‘गणितलाई बुझाउन सके यो भन्दा सजिलो विषय अरु छैन ।’ विद्यार्थीको समस्या झर्को नमानी हल गरिदिने शिक्षकको बानी हुनुपर्ने उनी बताउँछन् । ‘विद्यार्थीको रुचिलाई नबुझी पढाएमा अर्थ हुँदैन,’ उनी भन्छन् । उनले पढाएका विद्यार्थी विभिन्न क्षेत्रमा काम गरिरहेका छन् ।

प्रकाशित : माघ १, २०७६ १०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×