कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपद्रो रोक्न घाँटीमा यन्त्र

कोसी, पर्सा, चितवन र बर्दिया गरी ६ वटा हात्तीमा यन्त्र जडान गरेर  गतिविधि अनुगमन गरिँदै

काठमाडौँ — हात्ती किन बस्ती पस्छन् ? कति बेला र कस्तो अवस्थामा आक्रामक भएका हुन् ? उत्तर नखोजी जंगली हात्तीको आतंकविरुद्ध कदम चाल्न सकिँदैन । बस्तीमा पसेर पटक–पटक विध्वंस मच्चाउने हात्तीका गतिविधि यतिबेला तिनका घाँटीमा जडान गरिएका ‘रेडियो सेटलाइट कलर’ मार्फत प्राप्त हुने संकेतअनुसार निगरानी सुरु भएको छ । 

उपद्रो रोक्न घाँटीमा यन्त्र

‘रेडियो कलर’ राखिएका सातमध्ये ६ वटाका गतिविधि प्राविधिकले कम्प्युटरबाट हेरिरहेका छन् । झापादेखि कञ्चनपुरसम्मको क्षेत्र गरी मुलुकभित्र करिब २ सय २५ वटा जंगली हात्ती छन् । यीबाहेक बेलाबेलामा भारतबाट आउने हात्तीले समेत जनधनको क्षति पुर्‍याउने गर्छन् ।


रेडियो कलर पशुपक्षीका गतिविधि निगरानी गर्न जडान गरिने यन्त्र हो । नेपालमा गैंडा र हिमचितुवापछि हात्तीको घाँटीमा त्यस्तो यन्त्र जडान गरिएको हो । जडानको तीन वर्षसम्म काम गर्ने यन्त्र एउटैको ५ लाख रुपैयाँ पर्छ । ‘कलर डिभाइस जडान गरिएका जनावर जता जान्छन्, उनीहरूका गतिविधि सफ्टवेयरमार्फत हामीले निगरानी गर्न मिल्छ,’ देहरादुनको वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डियामा हात्ती विषयमा विद्यावारिधि गर्दै रहेका अशोककुमार राम भन्छन्, ‘जंगली हात्ती सँगसँगै लागेर हामीले गतिविधि निगरानी गर्न सम्भव हुँदैन । त्यो डिभाइसमार्फत धेरै कुरा थाहा हुन्छ ।’ निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकले जनावरमा रेडियो कलर जडानको काम गरेका हुन् ।


राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न र पीडितहरूलाई पहिले नै सूचित गर्ने उद्देश्यले रेडियो कलरलाई प्राथमिकतासाथ अघि बढाएको बताए । निश्चित गरिएका हात्तीलाई ‘डार्ट गन’ ले बेहोस पारेर रेडियो कलर जडान गरिएको हो ।


कलर डिभाइसमा आईडी नम्बर सेट गरिएको हुन्छ । त्यसलाई लिंक गर्ने सफ्टवेयरमा युजर नेम र पासवर्ड राखेपछि यन्त्रजडित हात्ती कता जाँदै छ, कति गतिमा छ भन्ने कम्प्युटरबाटै निगरानी गर्न मिल्छ । कोष, निकुञ्ज विभाग, चितवन निकुञ्ज र अनुसन्धानकर्ता रामलाई गतिविधि निगरानीको सुविधा छ । ‘हात्ती बस्ती छेउछाउ पुगेको पहिल्यै थाहा पाउँदा नजिकका सुरक्षाकर्मी र बस्तीलाई सतर्कताका लागि सूचना दिन सजिलो हुन्छ,’ रामले भने । त्यसो हुँदा सम्भावित क्षतिबाट बच्न सकिन्छ ।


अहिलेसम्म कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन निकुञ्जमा दुई/दुई, पर्सा निकुञ्जको आधाभार, बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र र सर्लाहीमा एउटा/एउटा हात्तीमा यन्त्र जडान गरिएको छ । सर्लाहीको सागरनाथ क्षेत्रमा उपद्रो मच्चाउने एउटा हात्ती मरेको छ । त्यसमा एउटा यन्त्र जडान गरिएको थियो ।


पछिल्लोपटक चितवनको मेघौली क्षेत्रमा वितण्डा मच्चाएको ‘रोनाल्डो’ नामक हात्तीलाई टाइगर टप्स क्षेत्रमा लट्याएर यन्त्र जडान गरिएको छ । अध्ययनअनुसार १५ वर्षमा हात्तीको आक्रमणबाट देशभर दुई सय जनाको ज्यान गएको छ । सबैभन्दा बढी बर्दिया निकुञ्ज आसपास र झापामा मानवीय क्षति भएको छ । कैयौं घाइते भएका छन् । निकुञ्ज विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठका अनुसार गत आव २०७५/७६ मा हात्तीको आक्रमणबाट देशभर १५ जनाको मृत्यु र १४ जना सख्त घाइते भएका थिए । चालु वर्षको ६ महिनामा ६ जनाको मृत्यु र १० जना सख्त घाइते भएका छन् । हात्तीसहितका वन्यजन्तुको आक्रमणबाट मारिएकाको परिवारलाई सरकारले १० लाख र सख्त घाइतेलाई २ लाख ५० हजार राहत दिन्छ ।


झापा, कोसीटप्पु वन्यजन्तु आसपास, सर्लाही, पर्सा निकुञ्जको आसापास, चितवनको माडी उपत्यकासहित मध्यवर्ती क्षेत्र, दाङ, बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र, शुक्लाफाँटा निकुञ्जको मध्यवर्ती क्षेत्र हात्तीबाट मुख्य प्रभावित क्षेत्र हुन् । एसियाली हात्तीका विज्ञहरूको समूहका सदस्य नरेन्द्रमानबाबु प्रधानले सेटलाइट मनिटरिङ डिभाइस जडान गरिनु मान्छे र हात्ती दुवैको सुरक्षाका लागि उपयुक्त भएको बताए ।


चार ‘सब पपुलेसन’

पूर्वदेखि पश्चिमसम्म हात्तीको चारवटा ‘सब पपुलेसन’ छ । ती हुन्– पूर्वमा झापादेखि कोसीसम्म, सर्लाहीदेखि पर्सा–चितवन निकुञ्जसम्म, दाङ, बाँके–बर्दिया निकुञ्जसम्म र कञ्चनपुरको शुक्लाफाँटा लालझाडी र मोहना करिडोरसम्म ।


स्थायी रूपमा झापामा जम्मा १० देखि १२ वटा रैथाने जंगली हात्ती छन् । त्यहींका केही हात्ती सुनसरी, सप्तरी र उदयपुरको कोसीटप्पुसम्मै आउँछन् । कोसीमै पनि करिब १० वटा रैथाने हात्ती छन् । पूर्वी क्षेत्रका हात्ती कमला नदी कट्दैनन् भन्ने विश्वास थियो । तर हिजोआज सिन्धुली हुँदै बर्दिबास र सर्लाहीसम्मै आएर वितण्डा मच्चाउने गरेको रामको अध्ययनको निष्कर्ष छ ।


हात्ती समूहमा हिँड्छन् । समूहमा भाले (मत्ता) सुरक्षा गार्डका रूपमा पछि हुन्छ भने पोथी अघि र बच्चा (छावा) हरू बीचमा लुकेर हिँडेका हुन्छन् । समूहबाट छुट्टिएर एक्लै हिँड्ने हात्ती पनि हुन्छन् । पर्सामा एक्लै हिँड्ने हात्ती पनि छन् । नेपालका चारवटा ब्लकमा जंगली हात्तीको संख्या यकिन नभएकाले रामले ‘आनुवंशिक विश्लेषण’ (जेनेटिक एनालिसिस) गरेर पत्ता लगाउन खोजेका हुन् ।

प्रकाशित : माघ १, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?