कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवाद्वारा पौडेल र सिटौलासँग संवाद

काठमाडौँ — कांग्रेसमा चर्केको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग संवाद थालेका छन् । आइतबार आफ्नै निवास बूढानीलकण्ठमा पौडेल र सिटौलासँग विवाद समाधानका उपायबारे देउवाले करिब डेढ घण्टा छलफल गरेका छन् । 

देउवाद्वारा पौडेल र सिटौलासँग संवाद

संवादका लागि केन्द्रीय सदस्य रमेश लेखकले मध्यस्थता गरेका थिए । छलफलमा देउवा, पौडेल, सिटौला, महामन्त्री पूर्णबहादुर खड्का र लेखक सहभागी थिए । ‘छलफल सकारात्मक मोडमा पुगेको छ । पौडेल दाइ दिल्लीबाट फर्केपछि सहमतिमा पुग्न सकिने आधार निर्माण भएको छ,’ लेखकले कान्तिपुरसँग भने । पौडेल स्वास्थ्य परीक्षणका लागि सोमबार भारत जाँदै छन् ।


पुस ११ गते भएको केन्द्रीय कार्यसमिति बैठकले बहुमतबाट महाधिवेशनको कार्यतालिका घोषणा गर्नुका साथै विभागको संख्या थप्ने, केन्द्रीय कार्यसमितिको एक वर्षको कार्यकाल बढाउने, तरुण दलको म्याद ६ महिना थप्ने, क्रियाशील सदस्यतासँग सम्बन्धित विधानका दफा निलम्बन गर्ने लगायतका निर्णय गरेपछि आन्तरिक विवाद चुलिएको छ । आइतबारको छलफलमा पौडेल र सिटौलाले महाधिवेशनको कार्यतालिका र विधानको दफा निलम्बन जस्तो विषयमा समेत बहुमतका आधारमा निर्णय गरिएको भन्दै देउवासँग असन्तुष्टि जनाएका थिए । सिटौलाले बहुमतबाट कहिल्यै महाधिवेशनको कार्यतालिका घोषणा नभएको भन्दै उक्त निर्णय सच्याउनुपर्ने बताएका थिए ।


पौडेलले केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने गरी अन्य तालिका पनि संशोधन हुनुपर्ने बताएका थिए । स्रोतका अनुसार देउवा केन्द्रीय महाधिवेशनको तालिका यथावत् राखेर तल्ला तहका अधिवेशनको तिथि संशोधन गर्ने पक्षमा छन् । क्रियाशील सदस्यताको छानबिन समिति निर्माण गर्न र विधानका दफा निलम्बनको निर्णय संशोधन गर्न पनि देउवा तयार भएका छन् । ‘विभाग, नेविसंघ र तरुण दलका विषयमा सम्मानजनक भागबन्डा मिलाएरै सहमतिको प्रयास गर्नेबारे छलफल भएको छ,’ स्रोतले भन्यो ।


पौडेलले पनि थाले परामर्श

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको विवादलाई लिएर बुद्धिजीवी तथा लेखकहरूसँग परामर्श गरेका छन् । परामर्शका लागि बोलाइएको भेलामा पूर्वराजदूत दिनेश भट्टराई, प्राध्यापक एवं लेखक लोकराज बराल, कृष्ण खनाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेल, लेखक श्रीकृष्ण अनिरुद्ध्र गौतम, पुरञ्जन आचार्य, भीमार्जुन आचार्य, केदारनरसिंह केसीलगायत सहभागी थिए । बुद्धिजीवी तथा लेखकहरूले लोकतन्त्रमाथि चौतर्फी प्रहार भइरहेका बेला कांग्रेस झगडामा अलमलिन नहुने सुझाव दिएका छन् । सबैको जोड पार्टीभित्रका कमीकमजोरीलाई मिलाएर एक हुनुपर्छ भन्नेमा केन्द्रित रहेको केसीले बताए ।


पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य रामशरण महतसमेत उपस्थित छलफलमा वरिष्ठ नेता पौडेलले पार्टीभित्र चर्कंदै गएको विवादका विषयबारे जानकारी गराएका थिए । उनले विधानको परिधिमा रहेर अधिकतम सहमतिका लागि आफूले जोड दिइरहेको बताएका थिए ।

महाधिवेशन लुट्न दिन्नँ’

पार्टीमा चर्कंदै गएको विवाद समाधानका लागि दबाब दिन गएको प्रजातान्त्रिक विचार समाजका पदाधिकारीसँग पौडेलले पार्टीको नेतृत्व १४ औं महाधिवेशन कब्जा गर्ने नियतबाट अघि बढेको आरोप लगाएका छन् । ‘१४ औं महाधिवेशन लुट्न खोजिएको होला, लुटेर लान दिन्नौं,’ पौडेलको भनाइ उद्धृत गर्दै समाजका अध्यक्ष केदारनरसिंह केसीले भने, ‘म अहिले पार्टीमा शुद्धीकरण अभियानमा छु । बीसौं वर्षसम्म राजनीतिमा लागेर पनि म निष्कलंकित छु । यो पार्टीलाई लुटेर जबर्जस्ती लैजाने अवस्था आउन दिन्नँ । त्यसका लागि तल्लो तहसम्मै जाने सोचमा हामी छौं ।’


समाजले शुक्रबार सभापति देउवालाई पनि भेटेर मिल्न दबाब दिएको थियो । देउवाले निहुँ खोजे तोकिएको समयभित्र पनि महाधिवेशन नगराई कार्यकाल लम्ब्याउने चेतावनी दिएका थिए । तत्कालीन फोरम लोकतान्त्रिकसँगको एकताको जगमा कार्यकाल बढाउन सकिने तर्क उनले समाजका पदाधिकारीहरूसँग गरेका थिए ।


पौडेलले आइतबार त्यसको जवाफ दिँदै पार्टी कब्जा गर्न नदिने बताएका हुन् । ‘पार्टीमा शक्ति सन्तुलन हुन्छ, सेयरिङ पनि हुन्छ,’ पौडेलको भनाइ थियो, ‘त्यसैले हामीले ४० प्रतिशतको कुरा उठाएको हो । अब तलसम्मै कार्यकर्तालाई बलियो बनाउने अभियानमा हामी छौं ।’


समाजका पदाधिकारीहरूले पार्टी नेतृत्वलाई मात्रै दोष दिएर नहुने भन्दै विवाद समाधानका लागि वरिष्ठ नेताले पनि पहल गर्नुपर्नेर् सुझाव दिएका थिए । ‘पार्टी बिग्रने र सप्रिनेमा तपाईंको पनि त्यति नै जिम्मेवारी छ, ६०ः४० भागबन्डा सुरु भएपछि पार्टीमा विचार, सिद्धान्त र सोच समाप्त भएको कुरा हामीले राख्यौं,’ केसीले कान्तिपुरसित भने । समाजले पौडेललाई ८ बुँदे सुझाव बुझाएको थियो ।

प्रकाशित : पुस २८, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?