कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फन्दामा पर्छन् पढेलेखेकै धेरै

अमेरिका, युरोपदेखि खाडी मुलुक जान प्रलोभनमा परेर फस्नेमा पढेलेखेका धेरै छन् भने ठग्नेहरु कम पढेका
जनकराज सापकोटा

काठमाडौँ — झन्डै ५० लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ वर्षीय युवक ‘डिपोर्ट’ भएर यही पुस ४ गते काठमाडौं उत्रिए । प्रहरीको मानव बेचबिखन ब्युरोको प्रारम्भिक बयानमा उनले आफ्नो शैक्षिक योग्यता १० कक्षा पास मात्रै भएको बताए । थप अनुसन्धानपछि थाहा भयो, उनी स्नातकोत्तर तहको अध्ययन सकेर स्थानीय बोर्डिङमा पढाउँदा रहेछन् । मानव तस्करको फन्दामा परेको सार्वजनिक हुँदा आफ्नो प्रतिष्ठा कमजोर हुने सोचेर उनले आफ्नो शैक्षिक योग्यता ढाँटेका रहेछन् । 

फन्दामा पर्छन् पढेलेखेकै धेरै

दाङका यी युवाजस्तै मानव बेचबिखनमा परेकाहरूमा उच्च शैक्षिक योग्यता भएका धेरै छन् । पढालेखालाई अवैध बाटोबाट अमेरिका र युरोपदेखि खाडीका देशसम्म छिराइदिने आशा देखाउने एजेन्टहरूको शैक्षिक योग्यता भने कम छ । मानव बेचबिखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडकको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट थाहा हुन्छ, पढेलेखेकैहरू थोरै पढेका वा कमजोर शैक्षिक योग्यता भएकाहरूबाट ठगिन्छन् । १ सय ७६ पुरुष र ९१ महिला पीडितले प्रहरीमा दिएका निवेदनमा मानव बेचबिखन समूहको फन्दामा परेर २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ गुमाएको दाबी गरेका थिए ।

ब्युरोका डीएसपी राजकुमार सिलवालले यसअघि केन्द्रीय अनुसन्धान ब्युरोमा छँदा मानव बेचबिखनका पीडित, पीडितको शैक्षिक योग्यता र उमेर समूहको अध्ययन गरेका थिए । अध्ययनका बेला २ सय ६७ पीडितलाई मानव बेचबिखनमा पारेका २२ जना पीडक समातिएका थिए । पीडित र पीडकको शैक्षिक योग्यता तुलनात्मक अध्ययन गर्दा पढालेखालाई थोरै शैक्षिक योग्यता भएकाले झुक्याएर ठगेको पाइएको थियो ।

पक्राउ परेका २२ पीडकमध्ये कसैले पनि स्नातकसम्म वा त्यसभन्दा माथि अध्ययन गरेको भेटिएन । पीडकमध्ये ६ जना एसएलसी पास देखिन्छन् भने १६ जनाको शैक्षिक योग्यता एसएलसीभन्दा कम देखिन्छ । ठगिएका २ सय ६७ मध्ये १३ जना भने स्नातकोत्तर अध्ययन गरेका छन् । १२ स्नातक, दुई स्टाफ नर्स, एक सय ३० एसएलसी, ४५ एसएलसीभन्दा तलका र ५ जना निरक्षर छन् ।


ठगिएकाहरूमध्ये २ सय ५ जना कृषि पेसाको पृष्ठभूमि भएका छन् भने १४ जना नोकरी र २८ जना व्यापारिक पृष्ठभूमिका छन् ।


तथ्यांकले विदेश गइसकेकाहरूभन्दा कहिल्यै विदेश नगएकाहरू ठगीको पासोमा बढी पर्ने गरेको देखाएको छ । ठगिनुअघि वैदेशिक रोजगारीमा वा अन्य सन्दर्भमा विदेश गएका ३७ जना छन् भने कहिल्यै विदेश नगएकाहरू २ सय ३० जना छन् ।

डीएसपी सिलवालले यो अध्ययनले कमजोर शैक्षिक योग्यता भएका एजेन्टहरूले पढालेखालाई नै झुक्याइरहेको र ठगिरहेको बताए । ‘सजिलै प्रलोभनमा पर्ने र धेरै कमाउने आशामा फस्नेहरूमा पढेलेखेका धेरै देखिन्छन्,’ उनले भने ।

संगठित मानव तस्करका अनेकन एजेन्टको सहयोगमा अवैध बाटो हुँदै अमेरिका छिरेर आर्थिक वर्ष ०७५/७६ मा डिपोर्ट भएका ४५ जनाको शैक्षिक योग्यतालाई केलाउँदा पनि उच्च शैक्षिक योग्यता भएकाहरू भेटिएका छन् । कान्तिपुरले गरेको अध्ययनमा ४५ मध्ये स्नातकभन्दा माथिको शैक्षिक योग्यता भएका सात जना अवैध बाटोबाट अमेरिका पुगी डिपोर्ट भएका थिए । ०७६/७७ मा अवैध बाटोबाट अमेरिका पुगी डिपोर्ट भएका ४५ जनाको तथ्यांक केलाउँदा पनि स्नातक तहमाथिको शैक्षिक योग्यता भएका सात जना भेटिएका थिए । यी दुवै तथ्यांकले पढेलेखेकाहरू संगठित मानव तस्करका एजेन्टको विश्वासमा पर्ने र ठगिने गरेको देखिन्छ ।

ठगीको चित्र

संगठित गिरोहका अनेकन एजेन्टले मुख्यतः तीन तरिकाले पीडितबाट पैसा असुल्ने गरेको देखिन्छ । अवैध बाटोबाट र सेटिङमा गन्तव्य मुलुकमा पुर्‍याउने भन्दै उनीहरूले तेस्रो मुलुक पुर्‍याएर अलपत्र पार्दै रकम असुल्ने प्रवृत्ति सबैभन्दा धेरै देखिन्छ । कुल पीडितमध्ये ८७ जनालाई तेस्रो मुलुक पुर्‍याएर ठगी गरेको देखिन्छ । गन्तव्य मुलुक लैजाने भन्दै भारतका विभिन्न सहर लैजाने, महिनौंसम्म अलपत्र पार्ने र बाध्यतामा पारेर वा झूटको खेती गरेर ठगिनेमा ३४ जना छन् । त्यस्तै विदेश पुर्‍याइदिने भने नेपालमै ठगीमा पर्नेहरू सबैभन्दा थोरै अर्थात् २० जना देखिन्छन् ।

प्रकाशित : पुस २८, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?