सभामुखको उम्मेदवार टुंग्याउन ओली–दाहाल बालुवाटारमा


काठमाडौँ — संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको रिक्त सभामुखमा पार्टीको उम्मेदवार टुंग्याउन सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टादेखि जारी छलफलमा प्रतिनिधिसभाको सभामुख र उपसभामुखको उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएकाे छ ।
नेकपा सचिवालयको शनिबार बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तुम्बाहाङ्फे तत्कालीन नेकपा एमालेबाट उपसभामुख बनेकी हुन्। उपसभामुख तुम्बाहाङ्फेले भने आफूले राजीनामा नदिने र आइतबारको बैठक आफैंले चलाउने इकान्तिपुरलाई शनिबार बताएकी थिइन् ।
कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहिन छ । नेकपामा सभामुखका लागि वर्तमान उपसभामुख तुम्बाहाङ्फे, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र अग्नी सापकोटा आकांक्षी छन् ।
प्रकाशित : पुस २७, २०७६ ११:३३