कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलेर घाइते बनेका बेसहारा वृद्ध उपचार खर्च अभावले चिन्तित

हरिराम उप्रेती

काठमाडौँ — गोरखा– लेकको ठाउँ, पुसको सिरेठो । वारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउराली स्थित अमलेका ७५ वर्षीय तुला गुरुङ अगेनमा आगोको ताप लिदै थिए । कतिखेर लुगामा आगोको झिल्को पस्यो वयोवृद्घ गुरुङलाई पत्तै भएन ।  

जलेर घाइते बनेका बेसहारा वृद्ध उपचार खर्च अभावले चिन्तित

पौष १५ को बिहानी पखको गुहार–गुहारको आवाजले गाउँले झस्किए । गाउँ नजिकै गफिदै गरेका युवाहरु हतारिदै तुलाका घर पुगे । ‘शरीरमा लगाएको लुगामा आगो फैलदै थियो, बाजे दुई हात र खुट्टा टेक्दै पिढीमा बसेर गुहार मागिरहेका थिए,’ स्थानीय युवा ज्ञानेन्द्र गुरुङले भने,‘आगो निभाउन पानी खोज्ने मेसो पनि पाइन, ज्याकेट फुकालेर आँगनमा बजारेँ, यति गर्दा शरीरका आधा भाग जलिसकेको रहेछ ।’ तुलाको टोपी र गलबन्दि उद्धारमा भेला भएका गाउँलेले फालिदिएपछि आगो निभ्यो । ‘आगो निभाउँदा मेरो पनि दुवै हात जलेको छ,’ज्ञानेन्द्र भन्छन् ।


मसिने नामले चिनिने तुला गुरुङ गाउँका बेसहारा वृद्घ हुन् । वृद्घ भक्ताको अलवा निमेक गरेर गुजारा टार्दै आएका थिए । ‘उहाँको बिहे पनि भएको छैन, दाजु भाइ, परिवार कोही पनि छैनन्,’ उनले भने,‘छिमेकीको जग्गामा घर बनाएर बस्नुभएको छ, अहिले उपचारका लागि गइदिने परिवारका सदस्य पनि कोही छैनन् ।’


गाउँलेले दुई/दुई सय उठाएर मलमपट्टि लगाए । आगोले जलेर घाइते भएका तुलाको १५ देखि १७ सम्म उपचार गाउँमै गर्दा स्वास्थ्यमा सुधार आएन । ‘फ्रिमा एम्बुलेन्स भन्यौँ,’ उनले भने,‘१८ गते उपचारका लागी गोरखा अस्पताल ल्यायौँ ।’ थप उपचारका लागि गोरखा अस्पतालले चितवन रेफर गरको छ ।


गाउँलेले केही रकम जम्मा गरेर बेसहारा वृद्घको उपचार थालेका हुन । ‘आगो निभाउँदा मेरो पनि हात जलेको छ, मेरो पनि उपचार गर्नुपरेकाले हामी दुवै उपचारका लागि अहिले चितवनको सीएमसीमा छौँ, उहाँको हेरविचार पनि म आफैँले गरिरहेको छु’ उनले भने । तर बेसहारा तुलालाई अस्पतालको बसाइ भारी बनेको छ ।


अस्पतालको खर्च भरथेग गर्न उनीसँग कुनै उपाय छैन । ‘अलि–अलि बोल्न सक्नुहुन्छ, दबाइ खर्च कति लाग्छ ? कहाँ बाट ल्याउने ? बरु मलाई गाउँ नै फिर्ता लैजा हो भन्दै रुनुहुन्छ,’ ज्ञानेन्द्रले भने । आगोले कम्मरदेखि माथि देब्रेपट्टिको भाग पोलेकाले सुत्न बस्न समेत समस्या रहेको ज्ञानेन्द्रले सुनाए । ‘अवस्था गम्भीर छ, अगाोले खाएको गहिरो भागलाई खुर्काउनुपर्ने रहेछ नत्र पाक्ने सम्भावना हुन्छ रे, ड्रेसिङ गर्न शरीर लठ्याएर उपचार भइरहेको छ,’ उनले भने,‘कहिले डिस्चार्ज हुन्छ अहिलै भन्न सक्ने अवस्था छैन, पहिले भन्दा केहि सुधार चाहि भएको छ ।’


आर्थिक रुपमा निकै विपन्न गुरुङलाई अहिले उपचारमा समस्या भएको छ । अझै एक महिना अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले सुझाएपछि गाउँलेलाई उपचार खर्च जुटाउन हम्मे–हम्मे परेको छ ।


स्थानीय मण्डली युवा क्लबले रकम संकलन अभियान चलाएको छ । ‘क्लबको सक्रियतामा करिब ६० हजार त संकलन भयो,’क्लबका अध्यक्ष दीर्घमान गुरुङले भने,‘१० दिन जति अस्पताल राख्दा एक लाख खर्च हुँदो रहेछ, अब एक महिना राख्दा दुई लाखले पनि नपुग्ने भयो ।’ बेसहारा वृद्घको उपचारका लागि सहयोग गरिदिन उनले आग्रह गरे ।

प्रकाशित : पुस २४, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?