कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिड्नीमा नेपाल भ्रमण वर्ष : अस्ट्रेलियाबाट एक लाख पर्यटक भित्र्याइने

नारायण खड्का

सिड्नी — सिड्‌नीको पर्यटकीयस्थल ‘सर्कुलर की’बाट नेपाल भ्रमण वर्ष २०२० को अस्ट्रेलियामा औपचारिक सुरुवात गरिएको छ । कार्यक्रममा अधिकांश नेपाली तथा केही विदेशीहरु सहभागी थिए ।

सिड्नीमा नेपाल भ्रमण वर्ष : अस्ट्रेलियाबाट एक लाख पर्यटक भित्र्याइने

उद्‌घाटन कार्यक्रममा भ्रमण वर्षभरिमा एक लाख अस्ट्रेलियाली पर्यटकलाई नेपाल भित्र्याउने दाबी गरिएको थियो । कार्यक्रममा न्यु साउथ वेल्स राज्य विधानसभाका सभामुख जोनाथन ओडिआ, पूर्व प्रिमियर नाथन रिस, विदेश विभागका अधिकारी पनि सहभागी थिए ।


कार्यक्रममा नागरिक उडड्यन, पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईले गत वर्ष ३८ हजार अस्ट्रेलियालीले नेपाल भ्रमण गरेको जानकारी दिँदै यसवर्ष यो संख्या १ लाख पुरयाउने दाबी गरे । उनले नेपाल सरकारले भ्रमण वर्षको सबै तयारी गरी औपचारिक रुपमै सुरुवात गरेको बताए । मंगलबारदेखि विश्वभरि औपचारिक रुपमा सुरुवात गरिएको मन्त्री भट्टराईले जानकारी दिए ।



कार्यक्रममा सहभागी न्यु साउथ वेल्सका सभामुख ओडिआले नेपाल र अस्ट्रेलियाबीचमा ६० वर्षको कुटनीतिक सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा भ्रमण वर्ष महत्वपूर्ण हुने बताए । उनले नेपाल सुन्दर र मनोरम रहेको उल्लेख गर्दै यस किसिमका कार्यक्रमले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । कार्यक्रमलाई सफल बनाउनका लागि एनआरएनले ओसिनिया क्षेत्रका लागि दिनेश पोखरेलको संयोजकत्वमा मूल समिति बनाएर काम गरिरहेको छ । कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ लेखिएको टिसर्ट वितरण गरिएको थियो भने सहभागीहरुलाई नेपाल भ्रमण वर्षको बारेमा जानकारी दिइएको थियो ।


कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, अवैतनिक महावाणिज्यदूतहरु दीपक खड्का र चन्द्र योञ्जन, वाणिज्यदूत दीपक धमला, फ्रेड ब्राउन, जो टुमा, एनआरएन उपादक्ष्य मन केसी लगायतको सहभागिता रहेको थियो ।


र्‌यालीलाई सुरक्षाकर्मीको अवरोध

औपचारिक कार्यक्रमपछि करिब १ किलोमिटरमा रहेको पर्यटकीयस्थल ओपेरा हाउससम्म पैदल यात्रा गर्दै गएको नेपाली टोलीलाई सुरक्षाकर्मीले रोकेका थिए ।


नेपाली तथा अस्ट्रेलियाली झण्डा र ‘भिजिट नेपाल २०२०’ को टिसर्ट लगाएका दर्जनौँ सहभागी उक्त र्‍यालीलाई ओपेरा हाउसको परिसर पुग्ने क्रममा सुरक्षाकर्मीले केहीबेर सोधपुछ गरेका थिए । भ्रमण वर्ष उद्‌घाटन गर्न आएका नागरिक उडड्यन, पर्यटन तथा संस्कृतिमन्त्री योगेश भट्टराईसमेत सहभागी उक्त र्‌याली ठूलो संख्यामा रहेका कारण र ओपेरा हाउससम्म जाने अनुमति नलिएकाले रोकिएको सहभागीहरुले बताए । ओपेरा हाउसमा पर्यटकीय र्‌याली गर्नका लागि सिड्नी काउन्सिलमा आयोजकको तर्फबाट पहिले अनुमति मागिएको भए पनि काउन्सिलले स्वीकृति दिएको थिएन । काउन्सिलले र्‍याली गर्नका लागि अनुमति नदिए पनि र्यालीकै संख्यामा दर्जनौँ सहभागी एकैसाथ पुगेपछि सुरक्षाकर्मीले रोकेको बुझिएको छ ।



कार्यक्रममा सहभागी अस्ट्रेलियाका राजदूत महेशराज दाहालले र्‌यालीलाई रोकिएको खबर झुटो भएको सुनाउँदै ओपेरा हाउसमा र्‌याली गर्ने कुनै योजना नभएको सुनाए । उनले मन्त्री ओपेरा हाउस जाने क्रममा केही भीड देखेपछि सामान्य रुपमा अनौपचारिक जानकारी लिएको मात्र बताए । ‘हामीले ‘सर्कुलर की’मा नै सबै कार्यक्रम सकेर फोटो खिच्नका लागि मात्र ओपेरा हाउस गएका थियौँ । हामीलाई रोकिएको तथा अवरोध पुरयाइएको होइन ।’


सुरक्षाकर्मीले ठूलो समूहमा ओपेरा हाउससम्म जान नदिएपछि मन्त्रीसहित अन्य केही व्यक्ति मात्रै ओपेरा हाउस गएर फोटो खिचाएका थिए । मन्त्री भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै भिजिट नेपाल २०२० देश विकासका लागि महत्वपूर्ण भएको र यसमा सहयोग गर्न सबै विदेशमा रहेका नेपालीहरुले भूमिका खेल्नुपर्ने सुनाएका थिए ।

प्रकाशित : पुस २२, २०७६ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?