कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडा अध्यक्षद्धारा मेयरमाथि हातपातको प्रयास

प्रताप रानामगर

दमौली — योजनाका विषयलाई लिएर तनहुँको शुक्लागण्डकी नगरपालिकाका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्रीले नगरप्रमुख किसान गुरुङमाथि सोमबार हातपातको प्रयास गरेका छन् । कार्यपालिका बैठकमा योजनाका विषयलाई लिएर वडाध्यक्ष क्षेत्रीले नगरप्रमुख गुरुङमाथि हातपातको प्रयास गरेका हुन् । 

‘कार्यापालिका बैठकमा छलफल चल्दै थियो,’ नगरप्रमुख गुरुङले भने, ‘छलफलमा दस लाख रुपैयाँ लागतका योजनाका विषय छलफल भइरहेको थियो ।’ दस लाखमाथि लागतका नगरपालिकाका योजना टेन्डरबाट काम गराउने नगर सभाले पारित गरिसकेको छ । साझेदारी र खानेपानी योजना भने उपभोक्ता समितिले गर्न दिने निर्णय पनि भएको छ । तर, अरु योजना उक्त रकम भन्दा माथिका भए टेन्डर प्रक्रियाबाट गर्ने निर्णय भएको उनले बताए ।


‘दस लाखको योजना उपभोक्ता समितिले गर्न पाउनुपर्ने भन्दै वडा अध्यक्ष क्षेत्रीजी एक्कासी आवेशमा आउनुभयो,’ उनले भने, ‘हातपात गर्नका लागि मतिर आउनुभयो ।’ उहाँलाई उपप्रमुख सविता रसाइलीज्यूले छेक्नुभयो । उपप्रमुखले नछेक्नुभएको भए हातपात हुन सक्थ्यो । मैले उहाँलाई भने नगरसभाले गरेको निर्णय त मान्नुपर्‍यो । के विषयमा चित्त नबुझेको हो जायज कुरा कार्यापालिका बैठकले संशोधन गर्न सकिन्छ । हिउँदे अधिवेशनले अनुमोदन गरौंला । तर, वडाअध्यक्षज्यू आवेश आएर हातपात गर्ने प्रयास गर्नुभयो ।’


नगरप्रमुखमाथि कुनै हातपातको प्रयास नभएको वडाध्यक्ष क्षेत्रीले बताए । ‘मेयरसाबमाथि कुनै हातपातको प्रयास भएको छैन,’ उनले भने, ‘योजना विषयमा नबुझेको विषय बुझ्न मेयरसाबतिर गएको हुँ । अभिभावकजस्तो व्यक्तिमाथि कसरी हातपात गर्न सकिन्छ र । म ५८ वर्षको बूढो मान्छे त्यस्तो व्यवहार गर्न सुहाउँदैन । दस लाखमाथिका योजना टेण्डरबाट काम गर्ने नगरसभाले पारित गरेको हो । तर, दस लाख रुपैयाँको योजना के गर्ने भनेर स्पष्ट हुन मेयरतिर गएको हो । तर, उपप्रमुख ज्यूले रोक्नुभयो ।’ दस लाखसम्म योजनाका काम उपभोक्ताले गर्नुपाउनुपर्ने हो । ७ नम्बर वडाको जागृति टोलमा यस वर्ष दस लाख रुपैयाँ लागतको नाहालाको योजना छ । उपभोक्ताबीच प्रस्तिपर्धा गरेर योजना काम गर्नपाउनुपर्ने उनको भनाइ छ ।


योजनाका विषयलाई लिएर नगर प्रमुख गुरुङ, उपप्रमुख रसाइली र प्रवक्ता खिम कुमालमाथि वडा नम्बर ७ का वडाध्यक्ष क्षेत्रीले झगडा गरेको वडा नम्बर १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले बताए । वडा अध्यक्ष क्षेत्रीले योजना किताबसमेत कार्यपालिका बैठकमा फालेर मेयरमाथि हातपातको प्रयास गरेको उनले बताए ।


प्रकाशित : पुस २१, २०७६ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?