कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहुमतको निर्णय सच्च्याउन जिल्ला सभापतिहरुको माग

मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रीय कार्यसमितिले बहुमतबाट गरेको विधानका धारा निलम्बन गर्ने निर्णय तत्काल सच्च्याउन माग गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापतिहरुले पार्टी सदस्यता सम्बन्धी धारा कार्यसमितिले बहुमतका आधारमा निलम्बन गर्नु अलोकतान्त्रिक भएको बताएका हुन् । 

बहुमतको निर्णय सच्च्याउन जिल्ला सभापतिहरुको माग

कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ को बैठकले आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र भन्दै विधानको धारा ४ (२), धारा ४ (१०) (ञ), धारा ४ (१२) (ख), धारा ३५ (२) (घ), धारा ५० (६) निलम्बन गर्ने निर्णय गरेको थियो । यी धारामा सदस्यता सम्बन्धि व्यवस्था गरिएको छ। यी धारा निलम्बन गरी केन्द्रीय समितिले सिधै क्रियाशील सदस्यता दिनसक्ने व्यवस्था गरिएको छ ।


भेलाका सहभागी रोल्पा जिल्ला सभापति अमरसिंह पुनले कब्जा गर्ने शैलीबाट पार्टी चल्न नहुने बताए । ‘एक वर्षअघि महासमिति बैठकले सर्वसम्मत पास गरेका विधानका धारा कार्यान्वयन नहुँदै निलम्बन गर्ने कार्य स्वीकार गर्न सकिन्नँ,’ पुनले भने । पौडेल पक्षले बहिस्कार गरेपछि संस्थापनले बहुमतका आधारमा यो निर्णय गरेको थियो ।


आफूहरुको बहिष्कारबीच केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतले सभापति देउवाले गरेको विधानका धारा निलम्बन गर्ने निर्णय सच्च्याउन दबाब दिन नेता पौडेलले आफूनिकट सभापतिको भेला बोलाएका हुन् ।

कांग्रेस नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीका अनुसार सोमबारको भेलामा ४५ जिल्ला सभापति सहभागि छन् । उनले मंगलबारसम्म सहभागि हुने सभापतिको संख्या ५१ पुग्ने बताए ।


सभापतिहरुको भेला सुरु गर्दै नेता पौडेलले पुस ११ गते केन्द्रीय कार्यसमितिले बहुमतले गरेको विधानका धारा निलम्बन गर्नेलगायत निर्णय सच्च्याउनुपर्ने बताए । ‘सभापतिजी बहुमतको आधारमा एकलौटी अघि बढ्नुभयो । पार्टीकै इतिहासमा पहिलोपटक बहुमतले महाधिवेशनको मिति घोषणा गर्ने काम भयो,’ पौडेलले भने, ‘महासमिति बैठकले सर्वसम्मत पास गरेका विधानका धारा केन्द्रीय समितिबाट बहुमतका आधारमा निलम्बन गर्ने निर्णय गरियो । यो विधिसम्मत छैन, सच्याउनुपर्छ ।’

विवादित विषयमा बनिसकेको सहमति एकाएक एकलौटी ढंगले सभापति अगाडि बढेपछि उल्टिएको उनको भनाई थियो ।

पौडेलले जिल्ला सभापतिहरुसँग अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सूझाव पनि मागेका थिए ।

भेलाको सुरुमा विवाद समाधानका लागि वार्ता गरिरहेका नेता प्रकाशमान सिंह र महामन्त्री शशाङ्क कोइरालाले पार्टीमा पछिल्लो समय बल्झिएको विवादबाट ब्रिफिङ गरेका थिए । सभापति देउवा बहुमतका आधारमा पेलेरै अघि बढ्ने मनस्थितिमा रहेको भन्दै निर्णय सच्याउन दबाब दिनुपर्ने भनाई उनीहरुको थियो ।

नेताहरुको ब्रिफिङपछि बोल्ने जिल्ला सभापतिहरुले पार्टीलाई विधिसम्मत चलाउन दबाब दिन आफूहरु जेसुकै गर्न पनि तयार रहेको बताएका थिए । सोमबारको भेलामा कांग्रेस रोल्पा सभापति अमरसिंह पुन, बर्दियाका सञ्जय गौतम, धादिङका रमेश धमला, सुनसरीका राजीव कोइराला, काभ्रेका मधु आचार्यलगायत १४ जिल्ला सभापतिले धारणा राखेका थिए ।

काभ्रे सभापति मधु आचार्यले महासमितिले बनाएको विधान केन्द्रीय समितिले निलम्बन गर्न नमिल्ने बताए । सभापतिहरुले पार्टीलाई बलियो बनाउन र नेतृत्वलाई सच्चिन दबाब दिन दुई दिने भेला आयोजना गरिएको बताएका थिए ।


मंगलबारसम्म चल्ने भेलाले पुस ११ गतेको केन्द्रीय कार्यसमितिले बहुमतले १४ औं महाधिवेशन कार्यतालिका घोषणा गर्ने, केन्द्रीय समितिको म्याद ०७७ फागुन १९ सम्म थप गर्ने र विधानविपरीत विभाग संख्या ४७ पुर्‍याउने निर्णय फिर्ता गर्न हस्ताक्षर गरेर सभापतिलाई बुझाउने बताइएको छ ।

पौडेल समूहले २६ मंसिरबाट सुरु केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ ।

प्रकाशित : पुस २१, २०७६ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?