सूचना प्रविधि विधेयक सच्याऊ : मानव अधिकार आयोग- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूचना प्रविधि विधेयक सच्याऊ : मानव अधिकार आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट पारित सूचना प्रविधिसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा आयोगले अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित गर्न बनेको विधेयक नै त्यसप्रति प्रतिकूल रहेको टिप्पणी गर्दै त्यसलाई सच्याउन सरकार र संघीय संसद्लाई आग्रह गरेको छ ।

आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन अनुकूल हुने गरी विधेयकलाई परिमार्जन गर्नुपर्ने धारणा राखेको छ । आयोगले सरोकारवालासँग पर्याप्त छलफल गरेर प्रत्येक व्यक्तिले अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउने गरी कानुन निर्माण गर्नसमेत सबै पक्षलाई आग्रह गरेको छ ।


‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता संविधान प्रदत्त मौलिक हक हो । अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउँदा त्यसले प्राप्त गर्न खोजेको उद्देश्यसँग औचित्यपूर्ण सम्बन्ध रहेको हुनुपर्छ भन्ने सर्वोच्च अदालतको ०७४ वैशाख ६ को फैसलालाई समेत आयोग स्मरण गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।


आयोगले विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको मानव अधिकार समितिले साधारण टिप्पणी नं. ३४ मा विचारको स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता मानिसको पूर्ण विकासका लागि अपरिहार्य सर्त भएको र लोकतान्त्रिक समाज स्थापनाका लागि आधारस्तम्भका रूपमा रहेको हुनाले संकटकालीन अवस्थामा समेत बन्देज लगाउन नमिल्ने भनी व्याख्या गरेको सरकार र संसद्लाई स्मरण गराएको छ ।


‘अभिव्यक्ति स्वतन्त्रतालाई आधारभूत मानव अधिकारका रूपमा विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले स्थापित गरेका छन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ ले प्रत्येक व्यक्तिलाई बिनाहस्तक्षेप आफ्ना विचार राख्न पाउने अधिकार सुनिश्चित गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : पुस १६, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्

मेलमिलाप दिवसकै दिन कांग्रेसमा देखिएन मेल !

कान्तिपुर संवाददाता

काठमाडौँ — आज पुस १६ । नेपाली कांग्रेसका तत्कालीन नेता बीपी कोइराला राष्ट्रीय मेलमिलापको नीति लिएर भारत प्रवासबाट नेपाल फर्किएको दिन ।

२०१७ साल पुस १ गते 'कू' मार्फत् राजा महेन्द्रले लागू गरेको पञ्चायती व्यवस्थाको विरोध गरिररहेका कांग्रेस नेता कोइराला राजासँग मेलमिलाप गरी देशभित्रै बस्ने घोषणा गरी २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए । यसको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस मनाउने पनि गरेको छ ।

तर, आज मेलमिलाप दिवसकै दिन कांग्रेसको पदाधिकारी बैठकमा भने पार्टी नेताहरुबीचको बेमेल देखियो । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित भएनन् । महाधिवेशनको मिति तोक्ने र विभागको संख्या बढाउनेमा एकलौटी गरेको भन्दै पौडेल, महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएका छन् ।

गुट उपगुटमा विभाजित कांग्रेसको यो किचलो मेलमिलाप दिवसका दिन पनि देखिएको हो । आसन्न राष्ट्रीयसभा चुनावका लागि पार्टीका उम्मेदवार चयन गर्ने एजेन्डा आजको पदाधिकारी बैठकको थियो । यस बैठकबारे देउवाको सन्देश लिएर आफ्नो निवास आएका उपसभापति विमलेन्द्र निधीलाई रुष्ट पौडेलले 'बैठकमा हामी किन चाहियो र ?' भन्दै आफू बैठकमा उपस्थित नहुने बताएका थिए ।

पौडेल-सिटौलाले सहमतिका लागि देउवासँग नै वार्ता गर्ने बताएपछि देउवाले आज नै आफू सहमितका लागि तयार रहेको बताएका थिए । मंगलबारमात्रै सिटौलाले देउवालाई पत्र पठाइ केन्द्रीय समितिबाट पारित गरेको १४ औं महाधिवेशनको मिति र विभाग थप गरिएको निर्णय सच्च्याउन देउवालाई सुझाव दिएका थिए ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा उम्मेदवार बारे छलफल भएको र बिहीबार केन्द्रीय कार्यसमिति बैठक बस्ने बताए ।

प्रकाशित : पुस १६, २०७६ २०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×